कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमुख पद सुनसरीमै

सभामुख, उपसभामुखदेखि मन्त्रिमण्डल गठन हुँदासम्म भूगोललाई ध्यान नदिएको भन्दै एमाले र माओवादी केन्द्रभित्रैका नेताहरूको विरोध
लीलावल्लभ घिमिरे

विराटनगर — प्रदेश १ को प्रमुख मात्र हैन सभामुख, उपसभामुख अनि प्रतिपक्षी दलको नेतासमेत एकै जिल्लाका बनेका छन् । मुख्यमन्त्री भने थोरै मतान्तरका कारण सुनसरीका उम्मेदवारले अवसर पाएनन् ।

मुख्यमन्त्रीका लागि पनि सुनसरीका भीम आचार्य एमाले संसदीय दलको नेतामा चुनावी मैदानमा उत्रिएका थिए । पार्टीको प्रदेश इन्र्चाजसमेत रहेका आचार्यलाई सह–इन्चार्ज शेरधन राईले २ मतान्तरले पराजित गरेका थिए । तर अन्य अधिकांश मुख्य पदमा सुनसरी जिल्लाकै आएका छन् ।


अघिल्लो सरकारले प्रदेश प्रमुख नियुक्त गरेका गोबिन्दबहादुर तुम्बाहाङको स्थायी घर धनकुटा भए पनि उनको कर्मथलो सुनसरी नै हो । लामो समयसम्म धरानमा प्राध्यापन पेसामा संलग्न तुम्बाहाङ धरान नगरपालिका प्रमुखमा कांग्रेसका तर्फबाट उम्मेदवार भई झिनो मतले पराजीत भएका हुन् । पछिल्लो समय उनी ललितपुरमा बस्दै आएका थिए ।


लामो समयसम्म शिक्षण पेसामा रहेका धरान १३ का ६३ वर्षीया प्रदिपकुमार भण्डारी प्रदेश १ को सभामुख बने । सुनसरी क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारी एमाले सुनसरीका सचिवालय सदस्य तथा धरान इन्चार्ज हुन् । मुख्यमन्त्रीमा एमाले अध्यक्ष केपी ओली समूहका राई नियुक्त भएपछि भागबण्डाका आधारमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सभामुख परेको हो । यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेको भागमा र उपसभामुख माओवादी केन्द्रको भागमा परेको थियो ।


सुनसरीकै सरस्वती पोखरेल उपसभामुख चुनिकी छन् । सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन् । २०४६ सालदेखि राजनीतिमा लागेकी उनी समाजशास्त्रमा स्नातकोत्तर छिन् । ०५८ सालदेखि माओवादी जनयुद्धमा लागेकी उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सुनसरी जिल्ला संयोजक हुन् । पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी हुन् ।


यसैगरी, कांग्रेस सुनसरीका सभापति राजीब कोइराला सोमबार प्रमुख प्रतिपक्षी दलको नेता चयन भए । प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा कोइराला निर्विरोध चयन भएका हुन् । सुनसरी २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कोइरालाको स्थायी घर इनरुवा नगरपालिका १ हो ।


प्रदेश १ को पाँच सदस्यीय मन्त्रिमण्डलमा एक जना सुनसरी कै छन् । उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदिश कुसियैत सुनसरी क्षेत्र ४ (क) बाट विजयी भएका हुन् । कोशी गाउँपालिका निवासी कुसियैत एमालेका केन्द्रीय सदस्य हुन् ।


प्रदेश १ का मुख्यमन्त्री शेधरधन राई भोजपुरका हुन् भने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की झापाका हुन् । आर्थिक मामिला तथा योजना मन्त्री माओवादी केन्द्रबाट इन्दबहादुर आङबो पाँचथरका हुन् भने सामाजिक विकास मन्त्री जीवन घिमिरे मोरङका स्थायी बासिन्दा हुन् । माओवादी केन्द्रको संसदीय दलको नेतामा भने ताप्लेजुङका टंक आङबुहाङ चयन भएका छन् । तर एमाले र माओवादी एकीकरणसँगै उनको पद सकिने भएको छ ।


सभामुख, उपसभामुखदेखि मन्त्री मण्डल गठन हुँदासम्म भूगोललाई ध्यान नदिएको भन्दै एमाले र माओवादी केन्द्र भित्रैका नेताहरूले विरोध गरेका छन् । पार्टीहरूले संसदीय दलको नेता छनोट गर्दा समेत महिला ल्याउन नसकेको र मन्त्रिमण्डलमा एक जना पनि महिला नगरेकोमा विरोधसमेत भएको छ । ‘प्राविधिक रूपमा ल्याउनैपर्ने ठाउँमा मात्र महिलाको भागमा पर्‍यो,’ प्रदेशसभा सदस्य यशोदा अधिकारीले भनिन्, ‘दलहरूले महिलालाई विभेद गरेको बाहिरै देखिन्छ यो राम्रो होइन् । सक्षम महिला धेरै छन् । दलहरूमा पुरुषवादी सोच हावी भएको भान सबैलाई परेको छ ।’


प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा सबैभन्दा बढी मोरङ जिल्लाबाट २३ जना सदस्य परेका छन् । प्रत्यक्ष निर्वाचनबाट १२ जना आएका हुन् भने अन्य समानुपातिकाबाट सदस्य बनेका हुन् । यसैगरी, झापा जिल्लाबाट १६ जना सदस्य छन् । यो जिल्लाबाट प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ६ जना सदस्य छन् । सुनसरीबाट प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ६ जना छन् । उदयपुरबाट ७, धनकुटाबाट ५ जना सदस्य छन् । इलाम, ताप्लेजुङ, पाँचथर र संखुवासभाबाट ४/४ जनाको प्रतिनिधित्व प्रदेश सभामा छ । भोजपुर र खोटाङवाट ३/३ जना र तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगाबाट प्रत्यक्षतर्फका २/२ जना सदस्य मात्र छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?