कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मिलेमतोमा डिजेल भारतमै बिक्री

विनोद भण्डारी

विराटनगर — भारतको बरौनी डिपोमा पेट्रोलियम पदार्थ भर्न गएका ट्याङकरहरू उतै तेल बेचेर खाली फर्कन थालेका छन् । नेपालको भन्दा भारतमा डिजेलको मूल्य प्रतिलिटर २८ र पेट्रोलको प्रतिलिटर २२ रुपैया बढी पर्छ । 

एकसाता अघि भारतको वरौनी डिपोवाट विराटनगर डिपोका लागि २० हजार लिटर डिजल लोड भएको ना४ख ८७३३ नम्बरको ट्याङकरका चालक कृष्ण यादवले १६ हजार लिटर भारतमा विक्री गरी ४ हजार लिटरमात्र नेपाल भित्र्याएको खुलेको छ । उनले सुनसरीको एक पम्पमा यहाँको मूल्यमा खरिद गरी ट्याङकर भरेर निगमलाई बुझाएका थिए । उक्त ट्याङकरको डिजेल निगमले अनलोड गरिसकेको छ । तर आयल निगम विराटनगर डिपो प्रमुख भानुभक्त खनालले यसवारे आफु अनविज्ञ रहेको बताए । ‘मैलेपनि भर्खर थाहा पाएर अनुसन्धान सुरु गरेको छु,’ खनालले भने ‘यो घटना जघन्य हो, अनुसन्धानमा पुष्टि भए ट्याङकरलाई कारवाही हुन्छ ।’ उक्त ट्याङ्कर विराटनगरका पेट्रोलीयम व्यवसायी केदार रिजालको हो ।


४ हजार लिटर डिजल भएको ट्यांकर लिएर चालक यादव सुनसरी दुहवीको अभिषेक विराट पेट्रोल पम्पमा पुगेका थिए । १६ हजार लिटर डिजल पम्पले नदिएपछि इटहरीको कृष्ण इन्टरप्राइजेज पम्प गएर भरेका थिए । यो पम्प रिजालकै हो । नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी भएका बेला यस अघि पनि यस्तै हुने गर्छ । निगमका कर्मचारी, पेट्रोलियम ढुवानी व्यवसायी र पम्पवालाको मिलोमतोमा यस्तो हुने गरेको जानकारहरू वताउँछन् । तर डिपो प्रमुख खनालले इन्धन भारतमा विक्री गर्न र नेपालवाट भारततर्फ भइरहेको इन्धन तस्करीमा आफनो संलग्नता नरहेको दावी गरे । चालकले त्यस्तो बदमासी गर्नै नसक्ने पेट्रोलियम ढुवानी व्यवसायीका अध्यक्ष गुणराज निरौलाको दावी छ ।


बरौनी डिपोमा नेपालकालागि पेट्रोलिमय पदार्थ लोड भएको ट्यांकरमा सिल लगाइन्छ । तर त्यो सिल बजारमा खरिद गर्न पाइने भएकाले चालकलाई इन्धन जहाँ पनि बिक्री गर्न सहज भएको सम्बद्ध व्यवसायीको भनाई छ । त्यसैगरी भारतमा इन्धन लोड गरेपछि बनाइने चलान पुर्जीमा उल्लेख भएअनुसारको इन्धन आए नआएको चेक जाँच गर्ने निगमको वयन ब्रिज (काँटा) एक वर्षदेखि विग्रिएको छ । जव नेपालमा भन्दा भारतमा डिजेल पेट्रोलको मूल्य बढ्यो तव उक्त काँटा बिग्रिएको थियो । निगम स्रोतका अनुसार उक्त काटा निगमका कर्मचारीको मिलोमतोमा बिगारिएको हो । उक्त कांटा विग्रिको एक वर्ष बितिसक्दा पनि निगमले बनाउने प्रयास समेत गरेको छैन । स्रोतका अनुसार उक्त कांटा बनाउँदा वरौनी डिपोले वनाएको चलान पत्र अनुसारको पेट्रोलियम पदार्थको चेक जाँच हुने भएकाले कांटा मर्मतमा निगमले चासो नदिएको हो । तर डिपो प्रमुख खनालले पुरानो मेसिन भएकाले मर्मत सम्भव नभएकाले नयाँ मेसिन जडान गर्ने तयारी भइरहेको बताए ।


निगमका केन्द्रीय प्रवक्ता वीरेन्द्र गोइतले विराटनगर डिपोका लागि आयात भएको पेट्रोलियम पदार्थ भारतमै विक्री भएको आफूलाई जानकारी नभएको बताए । ‘यसवारे हामीलाई कुनै जानकारी छैन,’ उनले भने, ‘क्षेत्रीय डिपोको वयन ब्रिज (काँटा) बिग्रिएको पनि जानकारी छैन् ।’ मंगलवार आपूर्ति सचिव अनिल ठाकुरको टोली विराटनगर डिपो आएको छ । प्रवक्ता गोइतले नेपालमा आयात भएको इन्धन भारतमै बिक्री गरेको पुष्टि भए कारवाही उनले वताए । हाल मुलुकमा डिजेल दैनिक ४५ लाख लिटर, पेट्रोल १५ लाख लिटर र हवाई इन्धन ७ लाख लिटर दैनिक खपत भइरहेको छ । भारतसँग मूल्य अन्तर भएपछि पूर्वमा डिजल र पेट्रोलको खपत बढेको छ । पम्पको माग अनुसार निगमले पेट्रोलियम पदार्थ उपलब्ध गराएर तस्करीलाई प्राथामिकता दिएको निगम स्रोतको दाबी छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?