माटो परीक्षण सुरु

कान्तिपुर संवाददाता

ओखलढुंगा — यहाँको रगनी, रावादोलु, भुसिंगा, खिजीकातीलगायत क्षेत्रमा केही वर्षयता अलैंची खेतीमा कृषकहरू आकर्षित भए । सयौं कृषकहरूले धान फल्ने खेत मासेर पनि अलैंची रोपे । तर अलैंचीले एकनासले उत्पादन थिए ।

कहिले गवारो रोग लागेर बोटै मर्‍यो । बल्ल फल लाग्दा मूल्य पाएनन् ।


किवि खेतीमा लाग्नेको अवस्था पनि त्यस्तै भयो । अरुले गरेको देखेको भरमा अधिकांशले गरेका थिए । धेरैजसो कृषकले भूगोल र समुन्द्री सतहदेखिको उचाइलाई खेती गर्ने आधार बनाए । कृषिलाई व्यावसायिक बनाउँछु भनेर लागेक कैयन कृषकहरू निराश भए ।


यिनै उदाहरणहरूलाई लिएर खिजिदेम्बा गाउँपालिकाले माटो परीक्षण सुरु गरेको छ । पहिले माटो परीक्षण गरेर मात्र कस्तो किसिमको अन्नबाली वा फलफूल लगाउने भन्ने उद्देश्यले गाउँपालिकाले नि:शुल्क माटो परीक्षण सुरु गरेको हो ।

‘पहिलो चरणमा हामीले प्रत्येक वडाका सम्भव भएसम्म प्रत्येक कृषकको नमुना माटो संकलनका लागि वडा–वडामा कृषि प्राविधिकहरूलाई पठाएका छौँ ।’ गाउँपालिकाका प्रमुख वेदबहादुर रोकाले भने, ‘ती संकलित माटोलाई हामीले चितवनबाट माटो तथा कृषि विज्ञ ल्याएर अम्लियपन, क्षारियपन र त्यहाँ हुनसक्ने खेतीको अवस्थाबारे सल्लाह दिनेछौँ ।’

यसरी माटो परिक्षण पश्चात नौ वटै वडाको कुनकुन क्षेत्रमा कस्ता बाली लगाउने भनेर गाउँपालिकाले योजना बनाई बजेट विनियोजन गर्ने अध्यक्ष रोकाले बताए । उनले माटो परीक्षण कार्यक्रम सफल भएपछि वडा वडामा गठित कृषक समूहलाई आवश्यकता र सम्भावनाअनुसार बेर्ना उत्पादन गराउने बताए । अनुदान लगानीमा उत्पादित बेर्ना कृषकहरूलाई उपलब्ध गराउने योजना रहेको बताए ।


माटो परीक्षणपश्चात् कृषकहरूले बालीको बिमा गर्न पनि सहज हुने कृषि प्राविधिकहरूको भनाइ छ । गाउँपालिकाले अघिल्लो गाउँसभाबाट समेत कृषि क्षेत्रमा ४६ लाख ६० हजार बजेट विनियोजन गरेको छ । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्नसके बेरोजगारी समस्या समाधान हुने भएकाले निर्वाचित प्रतिनिधिले ध्यान दिएको अगुवा कृषकहरूको भनाइ छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?