१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चिट्ठाका नाममा ठगी

कान्तिपुर संवाददाता

धनकुटा — २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै विदेशबाट टेलिफोन आएपछि धनकुटा ४ छारागाउँकी बन्दना कट्टेल खुसीले नाचिन् । बुधबार बिहानैदेखि हिन्दी भाषामा बोल्ने पुरुष र महिलाले ‘तिमीलाई चिट्ठा पर्‍यो बधाई छ’ भन्दै आलोपालो फोन गरिरहे । त्यसबापत भ्याटका लागि भन्दै ३५ हजार माग गरियो । 

आर्थिक समस्याले थलिएकी उनले सापटी खोजेर रकम पठाउने तयारी गरिन् । चिट्ठा पाउने अन्तिम मिति भन्दै लगातार फोन आएपछि अत्तालिएकी उनले छिमेकीलाई जानकारी गराइन् । छिमेकीलाई पनि यस्तै फोन आएपछि रकम पठाउने तयारी गरिरहेकी थिइन् । दुवैले कौतूहलपूर्वक जिज्ञासा राख्दै जाँदा चिट्ठा परेको नभई ठगी गरिएको रहस्य खुलेपछि छाँगाबाट खसे ।

इमो ००९३०५७५११६११ नम्बरबाट मनोजकुमार भन्ने व्यक्तिले चिट्ठा परेको भन्दै फोन गर्ने गरेको पीडितले बताए । यसैगरी अञ्जली शर्मा नाम बताउने महिलाले पनि हिन्दी भाषाबाट यसप्रकारको फोन गर्ने गरेको कट्टेलले बताइन् । आफ्नो छिमेकमा पनि यसप्रकारको फोन आएको वडा ४ की महिला सदस्य तुलसा विश्वकर्माले जानकारी दिइन् ।


पछिल्लो समय लाखौंको चिट्ठा पर्‍यो भन्दै विदेशको नम्बरबाट फोन आउने क्रम बढेपछि कतिपय थाहै नपाई ठगिने गरेका छन् । यो शृंखला पछिल्लो समय बढ्दै गएको प्रहरीले समेत जनाएको छ । कतिपय आफंै सजग बन्दा जोगिएका छन् भने कति ठगिने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा यस्ता घटनाबाट ठगीमा परेको कुनै लिखित जानकारी नपाए पनि मौखिक रूपमा आउने गरेको जनाइएको छ । प्रहरी नायब उपरीक्षक गौतम मिश्र स्वयम्लाई विदेशबाट चिट्ठा परेको भन्दै फोन आएको जानकारी दिए ।

विदेशी फोन नम्बरबाट हिन्दी भाषामा बोल्दै चिट्ठा परेको भनिने गरेको गौतमले बताए । ‘म आफैं पनि यसको फन्दामा परेको छु’, मिश्रले भने, ‘धेरै घटना भइसकेकाले सर्वसाधारण आफैं सचेत हुनुपर्ने बेला आएको छ ।’ प्रहरीले आफ्नो वेभसाइटमार्फत यस्ता घटनामा नपर्न अपिलसमेत गरेको जनाएको छ । टेलिफोन, फेसबुक म्यासेन्जर, इमो, इमेललगायत प्रविधिबाट यसप्रकारको ठगी गरिने प्रहरीको भनाइ छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?