१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुल बन्ने आसमा जनता

रिपोर्टरको डायरी
जितेन्द्र साह

बेलबारी (मोरङ) — ‘वरिपरिको गाउँ एवं नगरमा बाटो, कल्भट, तटबन्ध र पैनी बन्दै छ,’३० वर्षीया गृहिणी सरोज उरावले कान्तिपुरसँग भनिन्, ‘यो पुल पनि बन्ला नि ।’ 

पुल बन्ने आसमा जनता

साउनको बाढीमै मोरङको पूर्वोत्तर बेलबारी नगरपालिकाको कसेनीस्थित लोहोन्द्रा ेपुलका झन्डै आधी भाग बगेको हो । भग्नावशेष अझै छरपस्ट छ । उतिबेला झन्डै महिनाजति वारिपारि आवागमन ठप्प रह्यो । अहिले छेउछाउमै निर्मित बाँसको पुल र खोला भएरै निर्मित कच्ची बाटोबाट निकै मुस्किलले आवागमन भइरहेको देखिन्छ ।


सुनसरी–मोरङ सिंचाइ आयोजनाले बजेट अभावमा निर्माण सुरु हुन नसकेको भन्दै आएको छ । आउँदो मनसुनमा यहाँ सहज जीवनयापन गर्न कठिन हुनेछ । तैपनि स्थानीय निराश छैनन् । ‘सरकार र दाताले पनि कहाँकहाँ हेरोस्, भर्खरै प्रदेश सरकार बनेको छ, अब त चाँडो काम सुरु होला नि ?’ उरावले भनिन् ।


स्थलगत रिपोर्टिङका लागि आइतबार त्यहाँ पुग्दा भत्केको पुल छेउमा युवायुवतीको एक समूह यूट्युब नृत्य प्रतियोगिताका लागि छायांकन गरिरहेका थिए । अघि बढदै जाँदा स्थानीयले भनेझैं नहर एवं बस्ती जोगाउन नगरपालिकाको चिस्याङ खोलामा ५ सय मिटर तटबन्ध निर्माण भइरहेको थियो । बालबालिका खोलामा गर्मी छल्नलाई डुबुल्की लगाइरहेका थिए ।


यस नगरपालिकापूर्वको कानेपोखरी गाउँपालिकामा मुख्य सडकको विस्तार, शृंखलाबद्ध कल्भर्ट निर्माण र स्थानीयद्वारा माछापालनका लागि पोखरी खनिरहेको पाइयो । देहाती हाटबजारमा राम्रो चहलपहल थियो ।


गाउँपालिकाको पूर्वमा पथरीशनिश्चरे नगरपालिका, पश्चिममा बेलबारी, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा रंगेली नगरपालिका पर्छ । यहाँबाट मोरङको रंगेली बजार हुँदै भारतीय सीमासम्मै राजमार्ग बन्दै छ । ‘सहज सडक र सवारीसाधनले भौगोलिक दूरी घटाउँछ, समय बचाउँछ, व्यापार बढाउँछ,’ कानेपोखरीका अमृत माझी भन्छन्, ‘कामको अवसर सिर्जना हुन्छ ।’ उनी घर निर्माण ठेकेदार हुन् ।


उत्तरी पहाडी र दक्षिणी सीमावर्ती मधेस भेक जोड्न मोरङको रंगेली नगरपालिकाको दर्वेशामा विशाल पक्की पुलको निर्माण सम्पन्न भइसकेको छ । द्रुत गतिले सडक विस्तार भइरहेको छ जसका लागि रंगेली नगरवासीले न्यून सरकारी मुआब्जामा जग्गा उपलब्ध गराइरहेका छन् ।


ठूला सडक बनाउने क्रममा पसल र घरघडेरीसमेत गुमाएका स्थानीय व्यवसायी लक्ष्मण अग्रवाल भन्छन्, ‘बिनात्याग विकास हुन्न, धेरैपछि मोरङको उत्तरदक्षिण भेकको मुहार चम्कन लागेकामा खुसी छौं ।’ यस्तो भावना राख्ने उनीजस्ता थुप्रै छन् ।


रंगेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवालले टोलटोलमा पुगी निर्माण कार्यको निरीक्षण गरिरहेका छन् । उनी आफंै इन्चिटेप समाएर सडक र नालाको नापी गराइरहेका भेटिन्छन् । ‘यो नगरको मुहार फेर्न र मोरङको दक्षिणी, पूर्वी तथा उत्तरी भागलाई भारतसँग जोड्ने गरी निर्माण गतिविधि जारी छ,’ उनले भने, ‘सडक चौडा पारिँदा उठिबास हुने र बढी मर्कामा पर्नेलाई नगरपालिकाले अवश्य हेरविचार गर्छ ।’

प्रकाशित : फाल्गुन १०, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?