वारि आधुनिक भन्सार पारि पार्किङकै समस्या

पर्वत पोर्तेल

काँकडभिट्टा — वारि (नेपाल) पट्टि वर्षाैंदेखि अत्याधुनिक संरचनासहितको बन्दरगाह सुविधा छ । पारि (भारत) पानीटंकी भन्सारमा बन्दरगाह त परको कुरा मालवाहक ट्रक पार्किङको सुविधा पनि छैन । 

पानीटंकी भन्सारमा व्याप्त समस्याका कारण नेपाली व्यवसायीले सास्ती व्यहोर्नु परेको हो । उचित पार्किङ, बैंक, खाद्य क्वारेन्टाइनको अभावलगायत समस्याका कारण नेपाली व्यवसायीले अनावश्यक सास्ती व्यहोर्नु परेको हो ।

पानीटंकी क्षेत्रमा समेत सुविधा सम्पन्न बन्दरगाह निर्माणका लागि नेपाल–भारत सहसचिव स्तरीय वैठकमा विगतमा छलफल भएको थियो । तर, भारतले त्यहाँ अझै बन्दरगाह बनाउने र तमाम व्यापारिक समस्या हल गर्नेतर्फ ध्यान नदिएको नेपाली व्यवसायीहरू बताउँछन् । ‘लामो समय वित्दा पनि भारतीय पक्षले पानीटंकी भन्सारलाई व्यवस्थित गर्न नसक्नु दु:खलाग्दो छ,’ स्थानीय व्यवसायी दिलिप तिम्सिना भन्छन् । मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलाले व्यापार सहजीकरणका लागि पानीटंकीमा बन्दरगाहको आवश्यकता औल्याउँदै भारतीय अधिकारीसँग पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएको बताए । निरौलाले भने, ‘उचित पार्किङको व्यवस्थाका लागि त कैयौं पटक अनुरोध गरियो । तर, भारतीय अधिकारीले चासै दिएनन् । यसले व्यापारीलाई झन् समस्या थपेको छ ।’ व्यवसायीहरूको पटकपटकको आग्रहपछि केही वर्षअघि भारतीय पक्षले पानीटंकीमा चाँडै आधुनिक पूर्वाधारसहितको बन्दरगाह निर्माण सुरु दाबी गरेको थियो ।

तर, यतिका वर्ष वितिसक्दा पनि बन्दरगाह निर्माण त के पार्किङसमेत व्यवस्थित गर्न नसक्नु लज्जाजनक छ । करिव दुई वर्षअघि कोलकातास्थित तत्कालीन महावाणिज्य दूत चन्द्रकुमार घिमिरेको पहलमा भारतीय अधिकारीले मेची सुख्खा बन्दरगाहको अवलोकन गरेका थिए ।


बन्दरगाहको अवलोकनपछि टोलीले पानीटंकीमा पनि नेपालको जस्तै अत्याधुनिक संरचनासहितको बन्दरगाह निर्माणमा सरकारलाई अनुरोध गर्ने आश्वासन दिएका थिए । ‘पानीटंकीमा एउटा अत्याधुनिक बन्दरगाह चाहिएको छ, चाँडै निर्माण सुरु गर्छौं’, पश्चिम बंगाल सरकारका विकास सचिव वरुणकुमारले भनेका थिए, ‘चाँडै यता (पानीटंकी) पट्टि पनि तपार्इंहरूको जस्तै हुने छ ।’ तर, उनले प्रतिबद्धता जनाएको दुई वर्ष वढी समय गुज्रिसक्दा पनि पानीटंकीमा बन्दरगाह निर्माणको कुनै सुरसार छैन ।

पानीटंकीमा भन्सार संरचना निर्माणका करिव ७ दशमवल ९९ एकड जमिन खरिद गरिसकिएको छ । केन्द्र सरकारमातहतको सीपीडव्ल्यूटी नामक कम्पनीले बन्दरगाह निर्माणको ठेक्का लिने बताइएको थियो । भन्सारले पार्किङका लागि मात्रै करिव डेढ एकड जमिन छुट्ट्याएको छ । पानीटंकी भन्सारमा उचित पार्किङको व्यवस्था नहुँदा निकासी पैठारी हुने गाडीहरू विगतमा मेची पुलमाथि पार्किङ गर्न बाध्य थिए । अहिले राजमार्गमा पार्किङ गर्नु परेको छ ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?