१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

समस्यामा जुट उद्योग

कान्तिपुर संवाददाता

विराटनगर — झन्डै २० हजार मजदुरलाई प्रत्यक्ष रोजागारी दिँदै आएका जुट उद्योगले भारतको एन्टिडम्पिङ शुल्क र कच्चा जुटमा परनिर्भरताले समस्या भोग्दै आएका छन् । यहाँका उद्योगले भारत र बंगलादेशवाट कच्चा जुट आयात गरी उत्पादित ९५ प्रतिशत वस्तु भारतै निकासी गर्छन् ।

समस्यामा जुट उद्योग

भारतको एन्टिडम्पिङ विभागले गत वर्षदेखि नेपाली जुटका सामग्रीमा एन्टिडम्पिङ शुल्क लगाएपछि उद्योग थप संकटमा परेका छन । नेपाली जुट उद्योगले उत्पादन गर्ने सुतली, बोरा र हेसियन चट्टी ९५ प्रतिशत भारत निकासी हुँदै आएको छ । ती उत्पादनमा भारतले ५ प्रतिशतसम्म एन्टिडम्पिङ शुल्क लगाएपछि जेनतेन सञ्चालनमा रहेका उद्योग पनि बन्द हुने स्थिति सिर्जना भएको जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाको भनाइ छ । उनका अनुसार भारतले नेपालमा उत्पादन हुने सुतलीमा ३ देखि ४ प्रतिशत, बोरामा ४ देखि ५ प्रतिशत र हेसियन चट्टीमा शून्यदेखि २ प्रतिशत एन्टिडम्पिङ शुल्क लगाएको छ । ११ वटा जुट उद्योगमध्ये ५ वटामात्र सञ्चालनमा छन् । बाँकी ६ वटा उद्योग बन्द हुँदा डेढ अर्ब भन्दाबढीको लगानी प्रभावित भएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार यहाँका जुट उद्योगमा अढाई अर्बभन्दा बढी लागानी छ ।

सरकारको ४६ र सर्वसाधारणको ५४ प्रतिशत सेयर रहेको मुलुककै जेठो विराटनगर जुट मिल २०४६ सालयता राजनीतिक हस्तक्षेपका कारण पटकपटक बन्द र खुल्ने क्रमका क्रममा पछिल्लोपटक मिलका सेयरधनीहरूले दुई महिनादेखि आंशिक सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय कच्चा जुटको अभाव र भारतीय बजारमा कच्चा जुटको तुलनामा तयारी जुटको मूल्य न्यून रहेकाले उद्योगको अस्तित्व जोगाउनै गाह्रो भएको समयमा भारतले एन्टिडम्पिङ शुल्क लगाएपछि उद्योग झन संकटमा परेको जुट उद्योग संघका अध्यक्ष गोल्छाको गुनासो छ । ‘चालु उद्योगलाई वार्षिक ९० हजार टन कच्चा जुटको आवश्यकता पर्छ । स्थानीय स्तरमा करिब १६ टनमात्र उत्पादन हुँदै आएको छ,’ गोल्छाले भने ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?