१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

के प्रदेश १ को नाम ‘सगरमाथा’ होला?

माधव घिमिरे

विराटनगर — प्रदेश १ को नाम के होला ? अहिले धेरैको बनेको छ । यही चासो विभिन्न माध्यमबाट व्यक्त भइरहेका छन् । कतिपयले सार्वजनिक कार्यक्रममा सांसदहरूलाई सुझाव दिइरहेका छन् । सामाजिक सञ्जालमार्फत पनि धेरैले प्रदेशको नाम सुझाइरहेका छन् ।

के प्रदेश १ को नाम ‘सगरमाथा’ होला?

प्रादेशिक पहिचान, समुदायको पहिचान र समृद्धि झल्कने नाम राख्नुपर्ने धारणा सार्वजनिक हुँदै आएका छन् । के होला त प्रदेशको नाम ? यसमा संसदभित्र औपचारिक छलफल हुन पाएको छैन । अनौपचारिक रूपमा भने सांसदहरूबीच रोचक छलफल हुने गरेको छ । यी छलफलमा आएका नामहरू यस्ता छन्– मेची, कोसी, विराट–सगरमाथा, विराट–कोसी र सगरमाथा प्रदेश । केही राजनीतिक दलले आफ्नो संसदीय दलको बैठकमा पार्टीका तर्फबाट एउटै नाम प्रस्ताव गर्ने गरी छलफल थालेका छन् ।


चर्चामा आएका नाममध्ये धेरैजसो सांसदको मत ‘सगरमाथा प्रदेश’ तिर देखिएको छ । विश्वमा नेपाललाई चिनाउने र सबैको गौरव भएकाले यही नाम प्रदेशका लागि उपयुक्त हुने उनीहरूको भनाइ छ । यो नाम राखे सबै जातजाति र समुदायको समग्र प्रतिनिधित्व हुने अनि फराकिलो दृष्टिकोण झल्कने सांसदहरूको बुझाइ छ ।


‘मेरो विचारमा सगरमाथा प्रदेश उपयुक्त छ,’ प्रदेश संसदका ज्येष्ठ सदस्य झापाका ओम सरावगीले भने, ‘कि पूर्वी सीमाको प्रतिनिधित्व गर्ने हिसाबले मेची प्रदेश नाम जुराउन सकिन्छ ।’ सभामुख चयन हुनुअघिका दुई बैठकको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेका सरावगीले संसदमा प्रदेश नामकरणबारे औपचारिक छलफल भने नभएको बताए ।


सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसद उमिता विश्वकर्मा नामबारे विभिन्न क्षेत्रबाट अनेक सुझाव आइरहेको बताउँछिन् । कतिपयले जातीय पहिचान झल्कने नाम राख्नुपर्छ भन्ने गरेको सुनाउँदै उनले अधिकांशले भने साझा प्रतिनिधित्व समेट्न सक्ने नाम सुझाउने गरेको बताइन् । ‘धेरै सुझाव आइरहेको छ,’ उनले भनिन्, ‘सगरमाथा नाम राख्दा सबैलाई समेटिन्छ भन्ने सुझाव धेरैले दिएका छन् तर संसद बैठकले नै आखिरमा यसलाई टुंगो लगाउने हो ।’


मोरङका सांसद सूयर्माराज राई प्रदेश नामकरण गर्दा कुनै संकीर्ण सोच नराखी बृहत् प्रतिनिनित्व र पहिचान हुने किसिमले राख्नु उपयुक्त हुने बताउँछन् । ‘नामजस्तो कुरामा साँघुरो दृष्टिकोण राख्नुहुँदैन,’ उनले भने, ‘सबै जातजाति र समुदायलाई पाच्य हुने नाम साझा रूपमा आउनुपर्छ ।’ राईको विचारमा प्रदेशको समृद्धि र गौरवलाई समेत प्रतिनिधित्व गर्ने नाम सगरमाथा, कञ्चनजंघा वा मकालु राख्दा उपयुक्त हुन्छ ।


झापाबाट प्रतिनिधित्व गर्ने सांसद जयमाया गजमेर पनि प्रदेशको नाम सगरमाथा सबैभन्दा उपयुक्त हुने बताउँछिन् । ‘विश्वमै हाम्रो देश सगरमाथाको नामले चिनिन्छ,’ उनले भनिन्, ‘यो हाम्रो गौरव हो, त्यसैले प्रदेशको नाम यही राख्नुपर्छ भन्ने लाग्छ ।’ यसबारे अरू सांसदहरूसित अनौपचारिक छलफल हुने गरेको उनले बताइन् ।


मोरङका सांसद चुमनारायण तबदार सांसदहरूबीच अनौपचारिक रूपमा भएका छलफलमा विभिन्न नाम चर्चामा आए पनि यसबारे औपचारिक छलफलबाटै टुंगो लगाउने बताउँछन् । ‘आज (आइतबार) यसबारे हामीबीच अनौपचारिक छलफल हुँदै छ,’ उनले भने, ‘भोलि (सोमबार) बस्ने कांग्रेस संसदीय दलको बैठकमा हाम्रो पार्टीका तर्फबाट एउटै नाम प्रस्ताव गर्ने गरी तयारी गरेका छौं ।’


अर्का सांसद एवं संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव प्रदेशको नाम के राख्ने भन्नेबारे पार्टी र संसदीय दलमा छलफल गरी टुंगोमा पुग्ने बताउँछन् । संसद बैठकमा यसबारे प्रस्ताव आएपछि हुने छलफलमा पार्टीको आधिकारिक धारणा राखिने उनले जनाए ।


मुख्यमन्त्री शेरधन राई प्रदेशको नाम संवैधानिक प्रक्रियाअनुसार टुंगो लगाइने बताउँछन् । ‘जनताले आत्मसम्मानका, स्वाभिमानका निम्ति उठाउँदै आएका आवाजलाई समेत ध्यानमा राख्नुपर्छ,’ उनले भने, ‘त्यसैले कसैको भावनामा चोट नपुग्ने गरी सबैलाई स्वीकार्य हुने गरी नामांकनको विषयलाई दुई तिहाइ बहुमतबाट टुंग्याउँछौं ।’


प्रदेशसभामा एमालेको बहुमत छ । प्रदेशका ९३ सदस्यमध्ये एमालेका ५१, माओवादी केन्द्रका १५, कांग्रेसका २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक–एक सदस्य छन् ।


प्रकाशित : फाल्गुन १३, २०७४ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?