१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वातावरणीय परियोजनाको लागत बढ्दै

देवनारायण साह

मोरङ — निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा विराटनगर महानगरपालिकाको मझौला सहर एकीकृत सहरी वातावरणीय परियोजनाको लागत ५६ करोड बढेको छ । 

वातावरणीय परियोजनाको लागत बढ्दै

महानगरले सिटिसिइ–कालिका जेभी काठमाडौंसँग सन् २०१३ डिसेम्बर २ मा ९ सय दिनभित्र परियोजनाअन्तर्गत नाला ३६ किलोमिटर, ढल ६२ किलोमिटर र फोहोर पानी प्रशोधन केन्द्र २ अर्ब ३९ करोडको लागतमा निर्माण गर्न सम्झौता गरेको छ । तर हालसम्म प्रशोधन केन्द्र निर्माणको काम पूरा हुन सकेको छैन ।

निर्माण कम्पनीलाई काम सम्पन्न गर्न २ पटक समय थप गरिसकेको र उक्त कामको ३ पटक भेरिएसन गरिसकेको परियोजना प्रमुख तथा महानगर महानगरका इञ्जिनियर भरत न्यौपानेले बताए । भेरिएसन गर्दा उक्त कामको लागत २ अर्ब ९५ करोड पुगेको उनले सुनाए ।


‘परियोजनाअन्तर्गत केही निर्माण काम थप भएर पनि लागत बढेको छ,’ उनले भने, ‘वर्षेनीको बढदो महँगी अनुसारको मूल्य समायोजनले पनि परियोजनाको लागत बढेकै हो ।’ निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा महानगरवासी धूलो र हिलोमा हिँड्न बाध्य छन् । तर काममा ढिलाइ गरेबापत निर्माण कम्पनीलाई महानगरले मूल्य समायोजन गर्दै थप बजेट बढाउँदै लगेको छ । पच्छिल्लोपटक थप गरिएको ३ महिनाको म्याद आउँदो मार्चमा सकिँदै छ तर काम सम्पन्न हुने छाँट देखिएको छैन ।

महानगरले ९ हेक्टर जग्गा खरिद गरेर विराटनगर १४ स्थित सिंघीयाखोला किनारमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । प्रशोधन केन्द्रको हालसम्ममा ७० प्रतिशत मात्रै काम सम्पन्न भएको इञ्जिनियर न्यौपानेले बताए । उनले हालसम्ममा ६ वटा पोखरी, जम्मा भएको फोहोर लेदो सुकाउने ड्राइ बेड, ल्याब र कार्यालय भवन, पर्खाल निर्माण र नदी नियन्त्रणको काम सम्पन्न भएको सुनाए । अहिले नालामा आएको फोहोर पानी प्रशोधनका लागि जाने इनार निर्माणको काम सुरु भएको उनी भन्छन् ।

इञ्जिनियर न्यौपानेले पनि समय सीमाभित्र काम सम्पन्न नहुने स्विकारे । उनले काम सम्पन्न हुन जेठ महिनाभरि लाग्ने बताउँछन् । तर निर्माण कम्पनी आर्थिक वर्ष कटाएर आउँदो आर्थिक वर्षको मूल्य समायोजन गराएर मात्रै काम सम्पन्न गर्ने दाउमा रहेको महानगरका कर्मचारीहरू बताउँछन् ।

स्थानीय उमेश यादवले फोहोर पानी प्रशोधन केन्द्र आफ्नै घर अगाडि सिंघीयखोला किनारमा बनिरहेको तर त्यो समयमा निर्माण नहुँदा आफूहरू टोलबासी समस्या झेल्न बाध्य भएको गुनासो पोखे । ‘निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा आफ्नो टोलबाट सवारी साधन अत्यधिक आवतजावत गर्दा सडक धुलामे बनेको छ,’ उनले भने, ‘सडकमा उडेको धूलो भान्सासम्म पुग्ने गरेको र त्यसको असर आफ्ना टोलवासीमा समेत परेको छ । सबैलाई सधैं रूघाखोकी लागिरहने र त्यसको मार सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धामा परेको छ ।’

महानगरका र परियोजना प्रमुखको बदमासीका कारण परियोजनाको लागत बढदै गएको उनको आरोप छ । महानगरले कानुनबमोजिम निर्माण कम्पनीलाई समयमा काम सम्पन्न नगरे बापत जरिवाना गर्नुपर्नेमा उल्टै मूल्य समायोजन गरेर बजेट थप्दै लगेको उनले गुनासो पोखे । उनले यसको छानबिन गरी बदमासलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

विराटनगर महानगर प्रमुख भीम पराजुलीले काममा ढिलाइ भएको र त्यसबापत मूल्य समायोज नहुँदा परियोजनाको लागत बढेको स्विकारे । ‘हामी निर्वाचित हुनु अगाडिदेखि नै परियोजना सञ्चालनमा छ,’ उनले भने, ‘अब परियोजनाको म्याद थप नहुने गरी समयमा काम गर्न निर्देशन दिएको छु ।’

उनले लाइन एजेन्सीहरूले पनि समयमा काम नगरिदिँदा काम सम्पन्न गर्न ढिलाइ भएको बताए । खानेपानीको पाइप, विद्युत् पोल समयमा नहटाइदिने लगायत सडक र ढल निर्माणमा रहेको अनेक अबरोधले पनि समयमा काम सम्पन्न गराउनमा समस्या भएको उनी भन्छन् । यसअघि जेजस्तो भए पनि अब निर्माण कम्पनीलाई छुट नहुने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित : फाल्गुन १८, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?