व्यावसायिक बन्दै नौमती बाजा

रमेशचन्द्र अधिकारी

धनकुटा — नेपाली पोसाकमा ठाटिएर विवाह तथा जुनसुकै शुभ कार्यमा नौमती बाजा बजाउन व्यस्त हुन्छन् उनीहरू । पुस्तौनी बालीघरे प्रथामा बाजा बजाउन सीमित रहँदै आएका दर्जी तथा परियार समुदाय अब त्यसबाट मुक्त भइसकेका छन् ।

व्यावसायिक बन्दै नौमती बाजा

उदयपुर र सप्तरीको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने उक्त समुदाय विगत आठ वर्षदेखि संगठित भएसँगै व्यावसायिक समेत भएका छन् । सप्तकोसी नगरपालिकास्थित बलार्द तथा फत्तेपुर क्षेत्रका दमाई जाति संगठित भएसगै उनीहरूलाई भ्याइनभ्याई हुने गरेको छ ।


विगतमा सामान्य शुल्क लिएर स्थानीय स्तरमा सीमित बनेका उनीहरूको पछिल्लो समय मुलुकका विभिन्न स्थानमा माग बढेको छ । स्थानीय कृष्णबहादुर दर्जीको अगुवाइमा नौमती समूह गठन गरेका छन् । ‘हामी संगठित भएपछि त भ्याइनभ्याई नै हुने गरेको छ,’ उनले भने, ‘खासगरी विवाहको मौसममा अति व्यस्तता हुन्छ ।’ उनीहरू दमाहा, ट्याम्को, झ्याम्टा, ढोलक, नरसिंहा, सनाई लगायत बाजा बजाउन गर्छन् । प्रति दिन २० देखि २५ हजार रुपैयॉ शुल्क लिने गरेका छन् ।


विवाह लगायत महोत्सव, उद्घाटन, कुल पूजा, घर पंैचो, बेशाखे पूर्णिमा, चण्डी पूर्णिमा लगायतमा उनीहरूको व्यस्तता हुने गरेको बताए । फागुन महिनामा मात्र ९ वटा शुभ कार्यमा सामेल भइसकेको समुहका अर्का अगुवा हस्तबहादुर परियारले जानकारी दिए ।


सप्तरी, धनकुटा, उदयपुर, भोजपुर, काठमाडौं, ओखलढुंगा, विराटनगर, बर्दीबास, झापा, सुनसरी, नारायणघाट लगायतका स्थानमा उनीहरू पुगिसकेका छन् । प्राय विवाहको मौसममा उनीहरूको व्यस्तता यति हुन्छ कि, कहाँ जाने नजाने अलमल नै पर्ने गरेको परियारले बताए ।


‘विवाहमा बाजा बजाउन जसले पहिले बुकिङ गर्‍यो त्यसैका आधारमा पहिलो प्राथमिकता दिन्छौं,’ उनले भने, ‘व्यवसायिक भएपछि माग बढदै गएको छ ।’ उक्त समूहमा युवा पुस्तासमेत समेटिएका छन् । भर्खरै १२ कक्षा उत्तीर्ण गरेका दीपक परियारले आफ्ना बाबु तथा अग्रजबाट बाजा बजाउन सिकेको बताए ।


नौमती बाजासँगै उक्त समूहले साउन्ड सिस्टम पनि समावेश गरेका छन् । बाजासँगै माइकमा गीत तथा नाच प्रस्तुत गर्ने गरेका छन् । समूहले जुटाएकामध्ये केही ज्यालाका रूपमा लिएर बचेको रकमले आधुनिक शैलीका बाजा समेत खरिद गर्ने तयारीमा उनीहरू छन् । न्याउली, ड्रम सेट, विगुल बाजा खरिद गर्ने सुरसारमा जुटेको अगुवा कृष्णबहादुरले जानकारी दिए । धनकुटाको बेलहारामा पनि यस्तै प्रकारले व्यावसायिक रूपमा दमाई जाति जुट्न थालेका छन् ।


गुरुङ समुदायको सहभागिता

तेह्रथुमको जिरिखिम्तिस्थित चैतेका तिलबहादुर गुरुङ गैरदलित युवा हुन् । तर उनी सनाई, नरसिंहा लगायत बाजा सहज रूपमा बजाउन सक्छन् । उनकै अगुवाइमा १६ जना गुरुङ युवा जमातले १६ वर्ष अघिदेखि नौमती बाजा संरक्षण गठन गरेर व्यावसायिक रूप दिँदै आएका छन् । द्वन्द्वकालमा नौमती तथा पञ्चे बाजा बजाउने समूह अभाव भएपछि आफूहरू त्यसतर्फ जुटेको उनले बताए ।


विवाह वा अन्य कार्यक्रममा प्रतिदिन साढे ८ हजार रुपैयाँ शुल्क लिने गरेका छन् । उक्त रकममध्ये ५ हजार समूहको कोषमा जम्मा गर्दै आएका छन् । जसबाट हाल कोषमा ६ लाख रुपैयाँ जम्मा भइसकेको तिलबहादुरले जानकारी दिए । ‘कोषमा जम्मा भएको रकमले आवश्यक बाजा खरिद र सहुलियत दरमा आफ्नो समूहलाई ऋण उपलब्ध गराउँछौं ।’ उनले भने, ‘अब हामी यसै पेसामा व्यावसायिक भइसकेका छौं ।’ उनीहरूले सनाई ४, नरसिंहा, ट्याम्को, झ्याली, ढोलक, घँगरूलगायत बाजा बजाएर सहभागीको मन जित्ने गरेका छन् ।


गुरुङ समुदायले गठन गरेको नौमती बाजा संरक्षण समूहमा आवद्ध भएकाहरूले आफ्नै जातिको परम्परागत पोसाक लगाउने गरेका छन् । भांग्रो, टोपीका साथमा सजिएर विवाह तथा अन्य शुभकार्यमा जुट्ने गरेको सूुहका सदस्य भीमबहादुर गुरुङले बताए । जम्मा भएको रकमले आवश्यक बाजा खरिद तथा मर्मत गर्ने गरिएको उनको भनाइ छ । तेह्रथुम मात्र उनीहरू सीमित छैनन् । उक्त समूहको धनकुटा, सुनसरी, झापा, मोरङलगायतका जिल्लामा माग हुने जनाइएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?