कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ऐतिहासिकस्थल संरक्षणविहीन

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका ६ कचिडेका उपेन्द्र पोखरेल घर नजिकको महेन्द्र पार्कतिर हेर्दा मनै कुँडिएर आउने बताउँछन् । सल्लेरी वनभित्रको अत्यन्त मनोरम स्थानमा रहेको पार्क संरक्षण अभावमा केही वर्षदेखि भग्नावशेष भएको देख्दा नरमाइलो लाग्ने गरेको पोखरेलले गुनासो पोखे ।

ऐतिहासिकस्थल संरक्षणविहीन

बजारनजिकै भएकाले पनि स्थानीयवासी घुमघाम गर्ने उपयुक्त थलो उक्त पार्क पछिल्लो समय अस्तित्वविहीन अवस्थामा रहेको छ । महेन्द्र पार्कलगायत ऐतिहासिक महत्त्वका कयौं पुराना भवन, कुवा, सार्वजनिक स्थलको समेत संरक्षण अभाव रहेको गुनासो चुलिएको छ ।


एक समय पानीको फोहोरा, फूलबारी, आसपास ढुंगाको आकर्षक फलैंचा, वरिपरि ढुंगे पर्खाल रहेको पार्कमा यति बेला भग्नावशेष बाहेक अरू सग्लो अवस्था देख्न सकिँदैन । त्यहाँका कलात्मक ढुंगाका फलैंचा र वरिपरि राखिएका पुराना इँटा तथा ढुंगाका सामग्रीहरू समेत कहाँ छ भन्ने कसैलाई पत्तो छैन । त्यहाँ रहेका ढुंगाका फराकिला फलैंचा रातारात चोरी भएको स्थानीयले बताए ।

महेन्द्र पार्कको स्थापना कहिले भएको भन्ने यकिन मिति कसैसँग छैन । इतिहासविद् ठाकुर बरालका अनुसार वि.सं.२०१३ सालमा तत्कालीन राजा महेन्द्र धनकुटा आएको बखत केही गतिविधि गरेका थिए । त्यसै बखत पार्क स्थापना गरेको हुन सक्ने बरालको भनाइ छ । ‘पार्क जसले निर्माण गरे पनि त्यसको संरक्षण जरुरी थियो’, बरालले भने, ‘नाममा सहमति नभए परिवर्तन गरेर भए पनि व्यवस्थित गरिनुपथ्र्यो ।’

सदरमुकाम नजिक भएकाले बालबालिका, युवा तथा वृद्धवृद्धा समेत नियमित घुम्न र मनोरञ्जनका लागि पार्कमा जाने चलन थियो । पछिल्लो समय उक्त स्थानमा सर्वसाधारणको उपस्थिति पातलो रहेको छ । नयाँ पार्क तथा मनोरञ्जनस्थलमा स्थानीय निकायको उचित ध्यान जान नसकेको स्थानीयवासी दोजराज बास्तोलाले गुनासो पोखे ।


पुराना स्थानको संरक्षणमा समेत उचित ध्यान जान नसकेको कचिडेकी अच्युता पोखरेलको भनाइ छ । उनले बालबालिका, युवा तथा वृद्ध सबैका लागि उपयुक्त रहेको पार्क संरक्षण गरिनुपर्ने बताइन् । ‘त्यहाँका पुरातात्त्विक महत्त्वका कलात्मक ढुंगा तथा फलैंचाको समेत खोजी गरिनुपर्छ,’ पोखरेलले भनिन्, ‘पुरानाको संरक्षण र नयाँ निर्माणका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

त्यस्तै धनकुटा बजार क्षेत्र आसपासका अधिकांश पुराना भवन तथा पार्क संरक्षण अभावमा लोप बन्दै गएका छन् । बजारको सिरानमा रहेको आकाशवाणीको ऐतिहासिक भवन स्थल केही वर्ष पहिले नै व्यक्तिको नाममा दर्ता भएको छ । जसको कारण उक्त भवन डोजर लगाएर भत्काइसकिएको स्थानीयले बताए ।

वि.सं.१९९८ सालदेखि उक्त स्थानबाट आकाशवाणी अर्थात् सञ्चार सुविधाका रूपमा काठमाडौं, सप्तरी, पाल्पा लगायतका स्थानमा सीधा सम्पर्क गरिन्थ्यो । धनकुटा ४ स्थित श्रीपञ्चमी पार्क समेत व्यवस्थित छैन । ती स्थानको व्यवस्थापनका लागि स्थानीय तहले चासो राख्नुपर्ने स्थानीयवासी गोपाल श्रेष्ठ बताउँछन् । यस्तै घुमाउने चौतारा, चुलिबन, सल्लेरीस्थित सरस्वती मन्दिर, बिहीबारे हाट लगायतका ऐतिहासिक कुवा, स्कुलडाँडाको रमाइलो दृश्यावलोकन गर्ने स्थानलाई समेत व्यवस्थापन गरिएको छैन । सल्लेरीस्थित टक्सार तथा ऐतिहासिक सामरिक महत्त्वका सामग्री सीमित शुल्क लिएर भए पनि सर्वसाधारणका लागि खुला गरिनुपर्ने स्थानीयले सुझाएका छन् ।

पछिल्लो समय बजारको बीच भागमा रहेको चुवा बोट चोकलाई पार्कका रूपमा व्यवस्थापन गरिएको नगरपालिका स्रोतले जनाएको छ । अन्य स्थानलाई पनि क्रमश: नगरपालिकाको ध्यान जाने नगर प्रमुख चिन्तन तामाङको भनाइ छ । ‘पार्क तथा पुराना संरचनाको उचित संरक्षणका लागि नगरपालिकाले ध्यान दिने छ,’ उनले भने, ‘हामीले गर्ने धेरै काम छ, जसमध्ये ऐतिहासिक स्थल संरक्षणलाई पनि प्राथमिकतामा राख्ने छौं ।’

प्रकाशित : फाल्गुन २०, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?