खडेरीले किसान मारमा

कान्तिपुर संवाददाता

ओखलढुंगा — सिद्धिचरण नगरपालिका ५ कि गायत्री दाहालले बारीमा मल बोकेको एक महिना भयो । पानी पर्नेबित्तिकै मल छरेर जोत्ने तयारीमा रहेकी उनी अहिलेसम्म पानी नपरेपछि चिन्तामा छिन् ।

खडेरीले किसान मारमा

‘पानी पर्लाजस्तो गर्छ तर पर्दैन,’ उनले भनिन्, ‘यति सम्म सुक्खा खडेरी नभएको धेरै भएको थियो । यसपाली त पानी पर्नै सकेन ।’ वडा ११ कै सुमित्रा विकले बारीको डल्ला फुटाएर मकै छर्ने तयारी गरेकी छन् । अलि चिसो ठाउँ भएकाले फागुनदेखि चैतभित्र मकै छरिसक्ने चलन छ । तर पानी नपरेर बारीमा बाँझो मार्न सकिएको छैन । यसरी नै खडेरी पर्ने हो भने यसपालि मकैबालीबाट उत्पादन हुने आस मर्दै गएको उनले बताइन् ।


जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने लिखु किनार क्षेत्रमा पनि अहिले खडेरीले प्राय: खेतबारी उराठलाग्दो बनेका छन् । गहुँ, तोरी र आलुले हरियाली देखिने बारी फुस्रो देखिएका छन् । अलिअलि सिँचाइ हुने खेतहरूमा पनि खोलाखोल्सीमा पानी सुकेपछि कुलो लाग्न छोडेको छ । बेंसीदेखि लेकाली क्षेत्रसम्मै यसपालि पानी र हिउँ पर्न सकेको छैन । हिउँ नपर्दा आलु उत्पादन घट्ने अनुमान लेकाली भेगका किसानहरूको छ । ‘पोहोर यतिखेरसम्म तीनपटक भन्दा बढी हिँउ परेको थियो,’ ठाडेका मेखबहादुर मगरले भने, ‘यसपालि एकपटक फुसफुस पर्लाझैँ गर्‍यो तर पर्न सकेन ।’ चर्को खडेरीमात्र नभएर आकाश पनि खुल्न सकेको छैन । पानी नपरेपछि पानीको मुहानहरू सुक्न थालेका छन् । सदा चैतदेखि हुने खानेपानी अभावको समस्या फागुनबाटै सुरु भएको छ ।


‘पानीको मुहान सुकेका छन्,’ डुङडुङे खानेपानी उपभोक्ता समिति अध्यक्ष चन्द्रबहादुर तामाङले भने, ‘यदि यस्तै हो भने यसपालि कुवाबाट पानी बोकेर खानसमेत नपाइने स्थिति छ ।’ जिल्लालाई तीनतिर छोएर बग्ने नदी दूधकोसी, सुनकोसी र लिखुको सतह नै अघिल्लो वर्षको तुलनामा घटेको स्थानीय बताउँछन् ।

प्रकाशित : फाल्गुन २१, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?