बाढीपीडितलाई राहत

कान्तिपुर संवाददाता

दमक — कृषि विकास कार्यालय झापाले किसानलाई राहत वितरण कार्यक्रम सुरु गरेको छ । साउन अन्तिम साताको बाढी प्रभावित किसानलाई सोमबारदेखि राहत वितरण गरिएको हो । 

बाढीपीडितलाई राहत

कार्यालयले कृषि विकास रणनीति अनुगमन तथा समन्वय (राहत) कार्यक्रमअन्तर्गत सरकारबाट प्राप्त रकमबाट किसानलाई राहत वितरण थालेको कार्यालय प्रमुख प्रकाश डाँगीले बताए । पहिलो दिन सोमबार कनकाई नगरपालिका वडा नं. ५ मण्डल बस्तीका किसानलाई पम्पसेट र पाइप वितरण गरिएको छ ।


बगर खेतीमा सिँचाइ सुविधा पुर्‍याउन सहज हुने उद्देश्यले मण्डल बस्तीका १२ समूहलाई एकएक वटा दरले पम्पसेट वितरण गरेको उनले जानकारी दिए । कनकाई नदी किनारमा खर्बुजा र काँक्राको खेती गर्दै आएका किसानलाई पम्पसेटले ठूलो सहयोग पुग्ने उनले बताए । उनका अनुसार पम्पसेट प्राप्त गरेका १२ समूहका एक सय २० किसान लाभान्वित हुने छन् ।


मंगलबार झापा गाउँपालिकाका किसानलाई सिडबीन वितरण गरिएको छ । बाढी प्रभावित किसानको अवस्था र मागअनुसार विभिन्न सामग्री वितरण अघि बढाएको प्रमुख डाँगीले बताए । साउनको बाढीले जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकामा क्षति पुर्‍याएको थियो । उक्त गाउँपालिकामा मात्रै तीन सय किसानलाई राहत वितरण गर्ने तयारी छ ।


ठूलो संख्यामा जनधनको क्षति पुर्‍याएकोले त्यहाँका किसानलाई अन्न भण्डारणमा सहयोग पुग्ने गरी सिडबीन वितरण गरेको डाँगीले बताए । जिल्लाका विभिन्न नदी/खोलामा आएको बाढीबाट प्रभावित ६ हजारभन्दा बढी किसानलाई राहत वितरण गर्ने तयारी गरिएको छ ।

राहतका लागि जिल्ला कृषि कार्यालयलाई १२ करोड १५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त रकमबाट एक हजार बढी सिडबीन, १२ हजारबढी हर्मेटिक ब्याग, दुई मेट्रिक टन सूक्ष्म तत्त्व, एक हजारबढी तरकारी किट र ९० वटा पम्पसेट वितरण गर्ने तयारी गरेको डाँगीले बताए ।


बाढी प्रभावित किसानलाई ठूलो मात्रामा रासायनिक मल, प्रांगारिक मल वितरण गर्ने कार्यक्रम रहे पनि मन्त्रालय र सर्वोच्च अदालतको आदेशका कारण मल वितरण कार्य रोकिएको उनले बताए । मल वितरण गर्न नमिले राहत वितरणका लागि प्राप्त रकमको आधा फिर्ता भएर जाने अवस्था रहेको जानकारी उनले दिए ।

प्रकाशित : फाल्गुन २३, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?