अव्यवस्थित पार्किङले अस्तव्यस्त

देवनारायण साह

मोरङ — अव्यवस्थित पार्किङले प्रदेश १ को अस्थायी राजधानी विराटनगर अस्तव्यस्त बनेको छ । ट्राफिक व्यवस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले मूल सडक र पेटीमा राखिएका पसल हटाएको छ । तर सडक छेउ जथाभावी गरिने पार्किङ भने हटाउने पहल भएको छैन ।

अव्यवस्थित पार्किङले अस्तव्यस्त

प्रदेश राजधानी तथा औद्योगिक नगरी विराटनगरको मूल, सहायक र गल्लीलगायतका सडकमा जताततै अव्यवस्थित पार्किङ देखिएका छन् । निर्धारित ठाउँबाहेक अन्यत्र पार्किङ गरेको पाइएमा तत्काल ट्राफिक प्रहरीलाई कारबाही गर्ने अधिकार छ । तर व्यवस्थित गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरी मौन छ ।


६ लेन बन्दै गरेको सडक रानी–इटहरीको विराटनगर खण्डमा जताततै मालवाहक ट्रक, लरी, बस, जिप, कार, अटोरिक्सा, मोटरसाइकललगायत सवारीसाधन पार्किङ हुँदै आएको छ । पूर्वाञ्चल क्षेत्रीय आयल निगम कार्यालयमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने २ सय ५० बढी ट्याङकरको पार्किङ स्थल ६ लेन सडक बनेको छ । सडकको दुवै छेउमा लहरै मिलाएर ट्याङकर पार्किङ गरिँदै आएको हो ।


ट्याङकर तथा मालवाहक सवारीसाधन ट्राफिक प्रहरीसँगको सेटिङमा सडकमा पार्किङ गर्दै आएको जानकारहरू बताउँछन् । भठ्ठीमोडदेखि रोडशेष चौकसम्म पार्किङ गर्ने भारतीय तथा नेपाली नम्बरको मालवाहक सवारीसाधनबाट अबैध रकम उठाउन २४ सै घण्टा ट्राफिक प्रहरी खटिएको हुन्छ । उनीहरू नेपाली नम्बरका सवारीभन्दा भारतीय नम्बरका सवारीसाधनलाई अनेक बहानामा जरिवाना भन्दै अबैध रूपमा रकम असुली गर्दै आएको सवारी चालकहरूले गुनासो पोखे ।


भारतीय मालवाहक सवारी चालक सरदार सिंहका अनुसार भारतबाट मालसामान बोकेर सुनसरी मोरङ औद्योगिक करिडोरको उद्योगको कच्चा पदार्थ लिएर आउँदा र उत्पादित वस्तु लिएर फर्किंदा एउटा गाडीबाट ट्राफिक प्रहरीले सामान्य रूपमा २/४ हजार असुल्ने गरेको गुनासो पोखे । उनीजस्तै सुनसरी मोरङ करिडोरका १ हजार बढी मालवाहक सवारी चालकसँग यहाँका ट्राफिक प्रहरीको दैनिक २४ सै घण्टा यस्तै व्यवहार भइरहेको चालकहरूको गुनासो छ ।


यस्तै, जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर बजारको मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि भन्दै वन–वे गर्दै आएको छ । तर वन–वे बाटोमा जताततै व्यापारीका सवारीसाधन पार्किङ हुँदै आएका छन् । ट्राफिक प्रहरीले बजारको मूल सडकस्थित बिप्लट चौकमा वन–वे गरेर सुनचाँदी पसल भएको पूर्व जाने बाटोबाट सवारीसाधन सञ्चालन गर्दै आएको छ तर सुनचाँदी पसल बन्द भएको दिन वन–वे नहुने गरेको देखिन्छ ।


स्थानीय सुनचाँदी पसलेले आफूहरूको पसलमा सर्वसाधारणको ध्यान केन्द्रित गर्न तथा ग्राहक आकर्षित गर्न उक्त बाटोबाट ट्राफिकले वन–वे गर्दै आएको स्थानीयको गुनासो छ । सुनचाँदी व्यापारीले ट्राफिक प्रहरीलाई मासिक अबैध रकम बुझाएर उक्त बाटोबाट सवारीसाधन सञ्चालन गराउँदै आएको स्थानीय गोपाल पोख्रेलले गुनासो पोखे ।


विराटनगर बजार क्षेत्रस्थित मूल सडकमा व्यापारी तथा सर्वसाधारणले पार्किङ गरेबापतको शुल्क असुलीका लागि महानगरले गैरकानुनी रुपमा टेन्डर नै लगाएको छ । चालु आर्थिक वर्षमा उक्त शुल्क असुलीका लागि कोसी बहिरा संघ मोरङलाई १ लाख ५१ हजार ८ सयमा टेन्डर दिएको महानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख अर्जुन थपलियाले स्विकारे ।


विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मूल बजारस्थित खाली रहेको ए र बी प्लटको जग्गामा अन्डरग्राउन्ड पार्किङ र अन्य खुला ठाउँमा पार्किङस्थल बनाउन महानगरले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिरहेको बताए । उनले त्यो भएपछि बजार क्षेत्रभित्र सडकमा भइरहेको पार्किङ हटाउने बताए ।


आफू निर्वाचित हुनुअगाडि नै पार्किङ शुल्क उठाउने ठेक्का लागिसकेकाले चालु आर्थिक वर्षभरि यथास्थितिमा रहन दिने र अर्को वर्षदेखि त्यो ठेक्का नलगाउने उनले बताए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक मदन गिरीले पार्किङ क्षेत्र उल्लेख नभएको ठाउँमा सवारीसाधन पार्किङ गरेको पाइएमा तत्काल ५ सयदेखि १५ सयसम्म जरिवाना गर्ने अधिकार भएको स्विकारे ।


ट्राफिक प्रहरी निरीक्षक मदन गिरीले महानगरपालिकाले टेन्डर लगाएर सडकमा पार्किङ शुल्क असुली गर्न नपाइने स्विकारे । ‘महानगरपालिका प्रमुखसँग कुरा गरेर खाली जग्गामा पार्किङको व्यवस्थापनमा अब जुट्छौं,’ उनले भने, ‘आयल निगमअगाडि ट्याङकर पार्किङ पनि आफूहरूले हटाउन पटक पटक ट्याङकर चालकलाई आग्रह गर्दासमेत नमानेकाले प्रमुख जिल्ला अधिकारीलाई आयल निगमलाई पार्किङको व्यवस्थापन गराउन आग्रह गरेका छौं ।’


जथाभावी पार्किङ गर्नेलाई कारबाही

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारमा जथाभावी सवारी पार्किङ गर्न नपाइने भएको छ । तोकिएको स्थानभन्दा अन्यत्र सवारी पार्किङ गरे ट्राफिक प्रहरी र नगरपालिकाले कारबाही गर्ने भएको छ ।


सवारी पार्किङका लागि बजार क्षेत्रमा अलग्गै ठाउँ तोकिएको छ । अव्यवस्थित पार्किङले बजारको सुन्दरतामा असर गरेको र ओहोरदोहोरमा समेत समस्या हुने गरेको भन्दै यस्तो व्यवस्था गरिएको हो ।


नगरपालिकाको सहयोगमा बजार क्षेत्रमा ट्राफिक प्रहरीले साइन बोर्ड राखेर सवारी पार्किङ स्थल तोकिदिएको छ । सवारी पार्किङ निषेध गरिएको स्थानमा कसैले सवारी पार्किङ गरेको पाइए पहिलो पटक सचेत गराउने र दोस्रो पटक पनि सोही प्रकृति दोहोरिए जरिवाना गरिने अस्थायी ट्राफिक पोस्ट म्याङलुङका प्रहरी जवान शेषराज भण्डारीले बताए ।


सवारीलाई तोकिएका स्थानमा मात्र पार्किङ गराउन २४ सै घण्टा ट्राफिक प्रहरी खटिने गरेका छन् । जिल्लामै पहिलो पटक सुरु गरिएको यो नियमका कारण सवारीधनीलाई केही असजिलो भए पनि बजारवासीलाई भने सुविधा भएको म्याङलुङ बजारका तेजु खडकाले बताए । यसअघि सानाठुला सवारीधनीले बजार क्षेत्रका होटल र पसलअघि नै जथाभावी सवारी पार्किङ गर्दै आएका थिए ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?