खुकुरीको दापमा आकर्षक कला

अधिकांशले भोजपुरे खुकुरी माग गर्ने भएपछि त्यसलाई कलात्मक शैली दिन थालिएको छ । १२ सयदेखि ७५ हजार रुपैयाँसम्मका खुकुरी उनको शोरुममा राखिएका छन्
रमेशचन्द्र अधिकारी

धनकुटा — झट्ट हेर्दा खुकुरी हो भन्ने पत्तो पाइन्न । कलात्मक दापभित्र सजिएको सिरुपाते खुकुरी झिकेपछि भने थाहा भइहाल्छ । पछिल्लो समय खुकुरीको दापलाई कलात्मक रूप दिन थालिएपछि यसको माग बढ्दै गएको छ । मेहनतअनुसारको मूल्य पनि हात लाग्न थालेपछि व्यवसायी उत्साही छन् ।

खुकुरीको दापमा आकर्षक कला

भोजपुरको बोखिमका कुमार शंकरले हिले बजारमा आफ्नै लगानीमा खुकुरी कारखाना सञ्चालन गर्दै आएका छन् । ख्रिष्ट न्यु भोजपुरे खुकुरी कला केन्द्र खोलेका उनी यति बेला अत्यधिक माग रहेको ड्राइगनको कलात्मक दाप खिप्न व्यस्त छन् । उनले यसको मागअनुसार उत्पादन गर्न कठिनाइ भएको बताए । ड्राइगनको कला कुद्न कम्तीमा ३५ दिन लाग्छ ।

यसका लागि आफूसँगै कालिगढ समेत खटिने गरेका छन् । सतिसालको काठ कुदेर तयार पारिने ड्राइगन दाप शंकरले आफैंले डिजाइन गरेका हुन् । ‘परम्परागत ढाँचाका भन्दा आधुनिक र कलात्मक रूप दिन थालिएपछि माग बढेको हो,’ उनले थपे, ‘मेहनतअनुसारको मूल्य पनि मिल्दैछ । ड्राइगनको कला भएको खुकुरीको मूल्य कम्तीमा ७५ हजार पर्छ । कालिगढ र अन्य खर्च कटाएर पाउने मूल्यमा उनी खुसी नै छन् ।

त्यसो त पाँच वर्ष अघिसम्मको उनको अवस्था उनी स्वयं सम्झन चाहदैनन् । रोजगारको खोजीमा

एकपछि अर्को गर्दै चार देश पुगेका उनी अन्तिममा रित्तो हात फर्किए । कतारमा २२ महिना, साउदी अरब १६ महिना, दुवई ९ महिना र बहराइनमा ४ महिना उनी वैदेशिक रोजगारमा पुगेका थिए । ऋण काढेर विदेशको भूमिमा पुगेका उनले पछिल्लो समय स्वदेशमा नै मनग्य आम्दानी हात पार्दैछन् ।

‘काम गर्न जाने स्वदेशमा नै आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘मेरो पेसाबाट सन्तुष्टि मिल्दैछ ।’ मुलुककै नाम कहलाएको भोजपुरे खुकुरीको गुणस्तर

आफूले दिने उनको दाबी छ । अधिकांशले भोजपुरे खुकुरी माग गर्ने भएपछि त्यसलाई कलात्मक शैली दिन थालिएको छ । १२ सयदेखि ७५ हजार रुपैयाँसम्मका खुकुरी उनको शोरुममा राखिएका छन् । शंकरको उद्योगमा मासिक औषत ५ लाखको कारोबार हुन्छ ।

खुकुरीको माग बढेपछि केही वर्षदेखि यहॉका कालिगढले राजधानीको ठमेल लगायतका स्थानमा खुकुरीको शो रुम राख्दै आएका छन् । सामान्यत: विभिन्न साप्ताहिक हाटबजारमा घुम्ती पसल थापेर पनि उनीहरूले खुकुरीको व्यापार गर्दै आएका छन् ।

भोजपुर दिंग्लाका बालकुमार विश्वकर्मा, जरायोटारका मणिराज विश्वकर्मा र धनकुटा डिकुरेका नविन विश्वकर्मा पनि खुकुरीमा कला भर्न निपूर्ण छन् । उनीहरू सबै वैदेशिक रोजगारमा गएर फर्किएका युवा हुन् । धनकुटा नगरपालिका ४ श्रमिक टोलमा पनि घरैपिच्छे खुकुरी उद्योग सञ्चालनमा आएका छन् ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?