कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्धन ट्यांकर व्यवस्थापन गरिने

कान्तिपुर संवाददाता

विराटनगर — कोसी राजमार्गमा पार्किङ हुँदै आएका पेट्रोलियम पदार्थ सहितका ट्यांकरको व्यवस्थापन गर्न प्रदेश सरकार र विराटनगर महानगरपालिका सहमत भएका छन् ।

पेट्रोलियम डिलर्स एशोसिएसन कोसीको १५ औं साधारणसभामा शनिबार प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री जगदिश कुसियत र महानगर प्रमुख भीमप्रसाद पराजुलीले पेट्रोलियम पदार्थ सहितका ट्यांकर चौबिसै घण्टा सडकमा पार्किङ गर्दा महानगरभित्र ठूलो जोखिम हुन सक्ने भन्दै पार्किङ व्यवस्थापनका लागि नेपाल आयल निगमको क्षेत्रीय डिपोलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनीहरूले पार्किङका लागि निगमलाई जमिन खरिद गर्न वा लिजमा लिन आफूहरूले सहजीकरण गर्ने बताए । ‘निगमले जग्गा किनेर पार्किङस्थल बनाउने वा लिजमा लिएर’ महानगर प्रमुख पराजुलीले भने, ‘ती दुवै विकल्पमा महानगर सहयोग गर्न तयार छ । सडकमै पेट्रोलियम ट्यांकरको पार्किङ तत्काल हटाउनुपर्छ ।’

नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगरमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ३ सय ८० वटा ट्यांकर छन् । त्यसमध्ये ४५ वटामा १२ हजार लिटर र बाँकी सबैमा २० हजार लिटर पेट्रोलियम पदार्थ अटाउने क्षमताका छन् । तर ती सबै ट्यांकर लोड भएको अवस्थामा पनि राति र दिउँसो विराटनगर धरान सडकमै पार्किङ गरिँदै आएको छ । यसरी पार्किङ गर्दा कुनै पनि समय दुर्घटना भए महानगरमा ठूलो क्षति हुने स्थिति छ ।

‘एक दुई दिन होइन । निगमको क्षेत्रीय डिपो स्थापना भएदेखि नै ट्यांकर सडकमा पार्किङ हँुदै आएका छन्,’ क्षेत्रीय डिपो प्रमुख भानुभक्त खनालले भने, ‘पार्किङस्थल नै नभएपछि जोखिमपूर्ण अवस्थामा इन्धन लोड भएका ट्यांकर सडकमा पार्किङ गर्न बाध्य भएको हो ।’

प्रकाशित : फाल्गुन २७, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?