कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लागूऔषध केन्द्र बन्दै शरणार्थी शिविर

अर्जुन राजवंशी

दमक — भुटानी शरणार्थी शिविर लागूपदार्थ प्रयोगकर्ताहरूका लागि ‘केन्द्र’ बन्दै गएकोमा स्थानीयले असन्तुष्टि प्रकट गरेका छन् । उनीहरूले पछिल्लो दुई वर्षयता शिविर आसपासमा लागू पदार्थको कारोबार बढेको जानकारी दिए । 

लागूऔषध केन्द्र बन्दै शरणार्थी शिविर

स्थानीयले लागू पदार्थ प्रयोगकर्ता तथा कारोबारीका लागि शरणार्थी शिविर सुरक्षित क्षेत्रका रूपमा विकास भएको भन्दै दु:ख व्यक्त गरे । इलाका प्रहरी कार्यालय दमकले शुक्रबार शिविर नजिकै आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा बोल्ने अधिकांशले शिविरमा बढ्दो लागूऔषध कारोबारलाई रोक्न माग गरेका थिए ।

स्थानीय याम तामाङले शिविरमा खुला रूपमा लागूऔषधको कारोबार तथा प्रयोग बढेको बताए । उनले पछिल्लो दुई वर्षयता लागूऔषधसँग सम्बन्धित गतिविधि बढेकाले स्थानीयवासीले असुरक्षित महसुस गरेको बताए । ‘शिविरभित्र तथा आसपासमा डरलाग्दो तरिकाले लागूऔषधको कारोबार बढेको छ,’ उनले भने, ‘यसतर्फ प्रहरी प्रशासन र सम्बन्धित निकायले बेलैमा ध्यान नपुर्‍याउने हो भने सबैभन्दा ठूलो क्षति स्थानीयले बेहोर्नुपर्छ ।’

हरि श्रेष्ठले लागूऔषध प्रयोगकर्ताका लागि शिविरभित्र उपयुक्त स्थानहरू भएको बताए । उनले शिविरभित्र र आसपासको क्षेत्रमा लागूऔषधको बढ्दो गतिविधिले वरिपरिको वातावरणमा नकारात्मक प्रभाव परेको दाबी गरे ।

बेलडाँगीस्थित शरणार्थी शिविरमा रहेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पले मंगलबार एक सय ३० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको थियो । शिविरभित्र घरेलु मदिराको किनबेच बढेको स्थानीयको गुनासोपछि प्रहरीले उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएको थियो । शरणार्थी शिविर व्यवस्थापन समिति सचिव टीकाराम रसाइलीका अनुसार चालु वर्षको ११ महिनामा विभिन्न मितिमा नियन्त्रणमा लिएका एक हजार लिटरभन्दा बढी घरेलु मदिरा नष्ट गरिएको छ ।

राजु अधिकारीले शिविर आसपासमा लागूऔषध प्रयोग गरेका सिरिन्जहरू यत्रतत्र फालेको अवस्थामा भेटिने गरेको बताए । अर्का स्थानीय रणबहादुर तामाङले खुला रूपमा लागूऔषध प्रयोग तथा कारोबार हुने गरे पनि अहिलेसम्म रोकथामको उचित कदम नचालेकोमा आपत्ति जनाए । उनले त्यसकारण शिविर नजिकैको हम्से दुम्से सामुदायिक वन क्षेत्रमा बलात्कार, हत्या, झैझगडाजस्ता घटना बढेको बताए । उनले जतासुकै लागूऔषध प्रयोगकर्ताहरू झुम्म भएर बस्ने तथा प्रयोग गरिरहेको अवस्थामा भेटिने गरेकाले जंगलमा घाँस–दाउरा गर्न जान पनि समस्या हुन थालेको बताए ।

स्थानीयले शिविरमा गाँजा, सिरिन्ज, घरेलु मादक पदार्थसँगै चरेस समेतको कारोबार हुने गरेको बताए । शिविरमा काँकडभिट्टा र जोगबनी नाकाबाट अवैध रूपमा भित्र्याइएका लागूऔषधको कारोबार हुने गरेको उनीहरूको दाबी छ । शिविरमा मोरङको मधुमल्ला, टाँडी, इलामको चुलाचुली, शिखरकटेरी, बुकुवालगायत क्षेत्रमा उत्पादन हुने घरेलु मदिराको किनबेच हुने गरेको छ । ‘शिविरमा रक्सीका ग्यालेन पुर्‍याउनेको लाइन देखिन्छ,’ टंक श्रेष्ठले भने, ‘अहिले शरणार्थी शिविर सबैखाले लागूऔषधको अखडा बनेको छ ।’

दमक ३ का वडाध्यक्ष नबीन बरालले पनि शिविर क्षेत्रमा लागूऔषधको कारोबार र प्रयोग निकै बढेको बताए । उनले यसको रोकथामका लागि प्रहरीलाई विशेष टोली परिचालन गर्न माग गरे । ‘कार्यालयदेखि बेलुका घर फर्कदा कैयौं पटक युवायुवतीहरू लागूऔषध प्रयोग गरिरहेको अवस्थामा देखेको छु,’ उनले भने, ‘पुनर्वास भएका शरणार्थीका छाप्रा र जंगल क्षेत्रमा जतासुकै लागूऔषध प्रयोग गरेका सिरिन्जहरू देखिन्छन् । यसले शिविर आसपासका स्थानीयमा एकखाले त्रास पैदा गरेको छ ।’


दिनहुँ ५ जना प्रहरी नियन्त्रणमा

विराटनगर (कास)– इलाका प्रहरी कार्यालय रानीले लागूऔषध ओसारपसार र सेवन गर्ने दैनिक सरदर ५ जना किशोरकिशोरीलाई पक्राउ गर्दै आएको छ । लागूऔषधिसहित भारतीय बजारबाट आउनेहरूलाई पक्राउ गर्ने यो कार्यालयको दैनिकी नै बनेको छ ।

‘लागूऔषध ओसारपसार गर्ने र खानेलाई पक्राउ नगरेको दिन नै हँुदैन,’ प्रहरी निरीक्षक सन्तोष निरौलाले भने, ‘कहिलेकाहीँ त उनीहरूलाई पक्राउ गरेर थुनुवा कोठामा राख्ने ठाउँ पनि हुँदैन ।’ थुनुवा कोठामा शुक्रबार ४८ थुनुवा थिए । तीमध्ये लागूऔषध ओसारपसार र सेवनकर्ताको सख्या ४५ छ । सीमावर्ती जोगबनी बजारवाट लागूऔषध सेवन गरेर फर्कने र बोकेर आउनेको संख्या दिनहुँ बढदो छ ।


निरौलाका अनुसार यो नाकाबाट पारिपट्टि गएर खाएरमात्र आउने, थोरै खाएर केही बोकेर आउने र नखाई बोकेरमात्र आउने तीन थरीका लागूऔषधका गिरोह जोगबनी नाकामा फेला पर्ने गरेका छन् । यसमा संलग्न प्राय सवै किशोरकिशोरी छन् । ‘खासगरी धरान, इटहरी, धनकुटा, विराटचोक, बेलवारी, पथरी र विराटनगरका किशोरकिशोरी संलग्न भएको छ,’ निरौलाले भने, ‘अधिकांश धनाढ्य परिवारका किशोरकिशोरी छन्, कोही परिवारबाट टाढा रहेका र केही विपन्न परिवारका पनि छन् ।’

तीन महिनासम्म राख्दा अधिकांशका परिवार भेट्न नआउने गरेको उनले सुनाए । केही धनाढ्य परिवारका आफनो छोराछोरीलाई भेट्न र अदालतको फैसलापछि धरौटी राखेर छुटाएर पनि लैजाने गरेका छन् । ‘केही थुनुवाका परिवारले यो कहिल्यै सुध्रिएन भन्दै माया मारेर फर्कने गरेका छन्,’ निरौलाले भने, ‘केही कारोवारी पटकपटक कारागार सजाय काटेर छुटेका पाइएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७४ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?