१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चुम्लुङ र यायोक्खा एउटै मोर्चामा : पहिचानविरोधी नाम राखिए आन्दोलन

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रदेशको नामाङ्कन ऐतिहासिक पृष्ठभूमिको आधारमा गर्नु पर्ने विषयमा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाबीच साझा सहमति भएको छ ।

चुम्लुङ र यायोक्खा एउटै मोर्चामा : पहिचानविरोधी नाम राखिए आन्दोलन

चुम्लुङ र यायोक्खाले प्रदेश १ को नामाङ्कनको सन्दर्भमा प्रमुख ‘स्टेकहोल्डर’ भएको दाबी गर्दै आफूहरुसँग राय सुझाव नलिइ प्रदेशसभाको दुइतिहाइ बहुमतले पहिचानविरोधी नाम अनुमोदन गरे माओवादी केन्द्र र एमाले एकता भएजस्तै दुवै संस्था एक भएर आफ्ना माग सम्बोधन गराउन जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको जनाएका छन् ।


चुम्लुङ र यायोक्खाको केन्द्रीय कार्यसमितिले आइतबार धरानमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रदेशको नामाङ्कन र सिमाङ्कनको बारेमा साझा मनोविज्ञानको आधारमा आपसी सहमति गरेको जनाएको हो । पछिल्लो समयमा पहिचानविरोधी सगरमाथा, कोसी, विराटजस्ता पहिचानविरोधी नामहरु चर्चामा ल्याएकाले ती नामहरुलाई कुनै पनि हालतमा चुम्लुङ र यायोक्खाले स्वीकार नगर्ने जनाएको छ ।


चुम्लुङले अरुण संखुवासभापूर्वका नौ जिल्ला स्वायत्त लिम्बुवान र यायोक्खाले किरात प्रदेश हुनु पर्ने भन्दै प्रदेश प्रमुख, मुख्यमन्त्री, केन्द्रीय सरकारलाई ज्ञापन पत्र बुझाउँदै आएका छन् । दुवै संस्थाको छैठौं महाधिवेशनले राजनीतिक निर्णय गर्दै पहिचानको पाँच र सामर्थ्यका चार आधारमा नामाङ्कन र सीमाङ्कन गर्दै प्रदेशको नाम खोला, हिमाल, पर्वतलाई आधार बनाएर प्रदेशसभाले पहिचानविरोधी निर्णय गरे संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिं थाङ्देनले भने, ‘किरात र लिम्बुवान नामलाई जातीय नाम भएको भन्दै आएका छन् । यो जातीय होइन । भूगोलको नाम हो । तर, यसमा पनि किरात प्रदेश माग गर्ने यायोक्खा र लिम्बुवान प्रदेश माग गर्ने चुम्लुङलाई नै फुटाउ र सासन गर भन्ने राज्यको नियत र डिजाइन देखिएकाले हामी एउटै मोर्चामा उभिन पुगेका हौं ।’ उनले प्रदेशसभाको दुइतिहाइ बहुमतले नामाङ्कन गर्ने भए पनि ऐतिहासिक पृष्ठभूमिको आधारलाई बिर्सेर पहिचानविरोधी नाम राख्ने षड्यन्त्रको खबरदारी गर्ने दुइ संस्थाबीच साझा सहमति भएको बताए । उनले सोमबारदेखि धरानमा हुने तीनदिने १०औं महाधिवेशनले प्रदेश १ को नामका बारेमा नयाँ रणनीति बनाउने बताए ।

यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले किरात र लिम्बुवान नामलाई लिएर सामाजिक सञ्जालमा विवाद निकालेर एकापसमा द्वन्द्व गराउने षड्यन्त्रलाई चिर्न एउटै मोर्चामा उभिएको बताए । उनले भने, ‘यायोक्खा र चुम्लुङबीच धेरै समानता हुँदाहुँदै पनि केही फरक विचार भएकै आधारमा त्यसैलाई ठूलो बनाएर आपसी द्वन्द्व निम्त्याउने तत्व क्रियाशील भएको संकेत मिलेकाले लामो गृहकार्यपछि एक भएका हौं ।’


उनले प्रदेशको नाम र सीमाङ्कनको विषयमा दुवै संस्थामा कुनै अन्तरद्वन्द्व र दुविधा नभएको स्पस्ट पारे । यायोक्खाले किरात र चुम्लुङले लिम्बुवान भने पनि साझा विकल्प दुवै संस्थाले दिन सक्ने भएकाले नामको विवाद गर्नुको औचित्य समाप्त भएको बताए ।

प्रकाशित : फाल्गुन २७, २०७४ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?