१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

फोहोरबाट बायो मिथेन

२४ करोड ८० लाख रुपैयाँमा पूर्ण स्वचालित प्लान्ट जडान गर्ने तयारी
प्रदीप मेन्याङ्बो

धरान — सहरी क्षेत्रबाट दैनिक निस्कने फोहोर व्यवस्थापन गर्न धरान उपमहानगरपालिकाले शून्य लागनीमा फोहोर व्यवस्थापन गर्न भेन्चर वेस्ट टु इनर्जी प्रालिलाई जिम्मा दिएको छ ।

प्रालिले नेपालमै पहिलोपटक फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना धरानबाट सुरु गर्ने जनाउँदै उपमहानगरपालिकासँग गरेको सम्झौताअनुसार सोमबारदेखि भौतिक पूर्वाधार निर्माणमा जुट्ने जनाएको छ । सार्वजनिक निजी साझेदारी अवधारणाअनुरूप कम्पनीले जनसंख्या तथा वातावरण मन्त्रालय/वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा ‘एनाइरोविक डाइजेसन’ प्रविधिबाट धरानको फोहोर व्यवस्थापन गर्दै वातारणमैत्री बायो मिथेन ग्यास उत्पादन गर्ने भएको छ ।

सम्झौताअनुसार प्रालिलाई उपमहानगरपालिकाले पहिलो वर्षसम्म फोहोर ढुवानी गरिदिनुपर्ने, दोस्रोदेखि चौथो वर्षसम्म घटदो क्रममा फोहोर ढुवानी गरी पाँचौं वर्षसम्ममा सबै जिम्मा परियोजनालाई दिनुपर्ने, प्रशोधनपछि निस्कने अन्तिम फोहोरको व्यवस्थापन गरिदिनुपर्ने र २० वर्षपछि परियोजनाको सबै जिम्मा उपमहानगरपालिकाले लिनुपर्ने प्रावधान राखिएको छ ।

परियोजना सञ्चालनका लागि कम्पनीले धरानको पानबारीमा करिब १ बिघा जमिन किनेको छ । उपमहानगरपालिकाले सहरमा निस्कने फोहोर ५ वर्षसम्म संकलन गर्ने व्यवस्था गरिदिएबापत प्रालिले २० वर्षका लागि डीएफवीओओटी (डिजाइन, फाइनान्स, वुइल्ड, अनर, अप्रेट र ट्रान्सफर) नीति अनुसार दुर्गन्धरहित व्यवस्थित प्लान्ट जडान गरी बायो मिथेन ग्यास, जैविक मल र जैविक पेस्ट उत्पादन गर्नेछ ।

उत्पादित ग्यास, मल र पेस्ट बिक्रीबाट नाफाको १ प्रतिशत रोयल्टी वार्षिकरूपमा धरान उपमहानगरपालिकालाई दिने पनि सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमल्सिनाले बताए । उनले भने, ‘धरानको फोहोर टाउको दुखाइ बन्दै आएको थियो । फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाको लगानी गर्न पनि सकेको थिएन । शून्य लगानीमा व्यवस्थापन हुने भएकाले भेन्चर वेस्ट टु इनर्जीलाई जिम्मा दिएको हो ।’

धरानबाट दैनिक करिब ३८ टन फोहोर निस्कन्छ । तीमध्ये कम्पनीले प्रारम्भीक चरणमा दैनिक २२ मेट्रिक टन फोहोरबाट ऊर्जा उत्पादन गर्नेछ । कम्पनीले २४ करोड ८० लाख रुपैयाँमा पूर्णरूपमा स्वचालित प्लान्ट जडान गर्ने अन्तिम तयारी र डिजाइन गरेको कम्पनीका सञ्चालक निर्देशक जेनेस श्रेष्ठले बताए । उनले भने, ‘यो प्लान्ट शून्य तरल बहिगर्मन प्रणालीमा आधारित भएकाले कार्वनडाइ अक्साइड उत्सर्जन हुँदैन । हामीले उक्त प्लान्टमार्फत दैनिक १ हजार ८ सय घनमिटर कच्चा बायो मिथेन ग्यास वा १ हजार १ सय किलो प्राकृतिक ग्यास, ५ हजार लिटर जैविक पेस्ट र ६ सय किलो जैविक मल उत्पादन गर्ने लक्ष बनाएका छौं ।’ एलपिजीभन्दा सय रुपैयाँ कम मूल्यमा उक्त ग्यास बिक्री गर्ने पनि कम्पनीले जनाएको छ ।

धरानबाट निस्कने फोहोर सर्दु र सेउती खोलाको माध्यमबाट बगेर बक्लौरी क्षेत्रमा प्रदूषित बनाउँदै आएको छ । फोहोर उठाउन मात्र धरान उपमहानगरपालिकाले वार्षिक रूपमा करिब १ करोड ५० रुपैयाँ खर्च गर्दै आएको छ । करिब २ वर्षदेखि धरानको फोहोरको सर्भे गरी मुलुकै पाइलट प्रोजेक्टका रूपमा पहिलोपटक सञ्चालन गर्न लागेको कम्पनीका सञ्चालक निर्देशक श्रेष्ठको दाबी छ । उनले भने, ‘फोहोरबाट बायो मिथेन निकाल्ने प्रोजेक्ट नेपालमै पहिलोपटक गर्न लागेका छौं ।’

उनका अनुसार जति धेरै फोहोर संकलन गरियो त्यति नै धेरै बायो मिथेन उत्पादन हुनेछ । ५ केजी दरका सिलिन्डर मासिक ४ हजार ६ सय सिलिन्डर ग्यास उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । फोहोरबाट बायो मिथेन ग्यास, मल र पेस्ट उत्पादन गर्ने प्रविधि भारतमा अभ्यास भइसकेको छ । कम्पनीले १ वर्षभित्रमा प्लान्ट स्थापना गरी बायो मिथेन उत्पादन गरी बजारमा ल्याउने लक्ष्य राखेको छ ।

उपमहानगर प्रमुख तारा सुब्बाले धरानको फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट अभाव भइरहेको बेला उपमहानगरपालिकाको शून्य लगानीमा फोहोर व्यवस्थापन हुने भएकाले परियोजनालाई जिम्मा दिएको बताए । उनले भने, ‘उपमहानगरपालिका आफैंले प्लाण्ट राख्न लगानी गर्न आर्थिक, प्राविधिक अभाव भएकाले कम्पनीलाई जिम्मा दिँदा फोहोर पनि व्यवस्थापन हुने, कम्पनीले कमाउने फाइदाको १ प्रतिशत रोयल्टी पनि पाइने र २० वर्षपछि उपमहानगरपालिकामा जिम्मेवारीसहित प्लान्ट हस्तान्तरण पनि हुने भएकाले सम्झौता गरिएको हो ।’

प्रकाशित : फाल्गुन २८, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?