कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बीपी प्रतिष्ठानका उपकरणले चिकित्सक हैरानीमा  

प्रदीप मेन्याङ्बो

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुपर स्पेसियालिटी सेवा दिन थालेको दुइ वर्ष भयो । उपचार सेवाका लागि दैनिक ३ हजार बिरामी आउने र त्यो चाप थेग्न प्रतिष्ठानले एलसी र टेन्डरमार्फत आधुनिक उपकरणहरु भित्र्याउँदै आएको छ ।

बीपी प्रतिष्ठानका उपकरणले चिकित्सक हैरानीमा  

तर, ती उपकरणहरु प्रतिष्ठानमा जडान हुनै नपाई थोत्रिएका मात्र छैनन्, करोडौं तिरेर ल्याएका अधिकांश उपकरणहरु काम नलाग्ने रहेको फेला पारिएको छ ।

यसअघि कान्तिपुरले डेन्टल चियर, अक्सिजन प्लान्ट र भेन्टिलेटर वारेन्टी र ग्यारेन्टी पिरियडमै उपयोगविहीन भएर प्रयोगविहीन भएको समाचार लेखेको थियो । एजेन्ट/एजेन्सीले सम्झौताअनुसार ‘इन्स्टल एन्ड डेमोस्ट्रेट’ र परीक्षण नगरी बीचैमा छाडेर जाने गरेकाले पूरा भुक्तानी भएका ती उपकरणहरु प्रयोगविहीन भएको प्रतिष्ठान उच्च स्रोतले जानकारी दिएको थियो । अरु महँगा उपकरहरु पनि त्यस्तै अवस्थामा रहेको बताइएको छ ।


पछिल्लो समयमा प्रतिष्ठानको हाडजोर्नी विभागका लागि आवश्यक सर्जिकल माइक्रोस्कोप उपकरणको हालत पनि त्यस्तै भएको छ । प्रतिष्ठानले डवल हेडेड सर्जिकल माइक्रोस्कोप उपलब्ध गराउने गरी टेन्डर आह्वान गर्दा बायोमेड इन्टरनेसनल कम्पनीले ६४ हजार युरो (८२ लाख ८ हजार रुपैयाँ)मा उपलब्ध गराउने सहमति भयो । तर, आयो सिंगल हेडेड माइक्रोस्कोप । सम्झौताअनुसारको उपकरण नल्याएकाले उक्त उपकरण प्रतिष्ठानको रुटिन अप्रेसन थिएटरमा थन्काएर राखेको एकसाता भएको छ । सम्झौता एउटा उपकरण अर्को ल्याइदिने एजेन्ट अरु कोही नभएर सुनसरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पवन अग्रवाल, उनका भाइ चेतन अग्रवाल र उनीहरुका अन्य दाजुभाइका पारिवारिक कम्पनी हो । उनीहरुका एक दर्जन बढी यस्ता कम्पनी छन् ।


प्रतिष्ठान स्रोतले भन्यो, ‘स्पाइनल सर्जरीको उपचार गर्न बिरामीले प्रतिष्ठान धाएको धाएकै छन्, तर उपकरणको नाममा सिंगल हेडेड माइक्रोस्कोप अलपत्र अवस्थामा छ । प्रतिष्ठानले उक्त उपकरण लिन मानेको छैन ।’ प्रतिष्ठानमा मुटुको पनि शल्यक्रिया हुने भएकाले दुइ वर्षअघि सर्जरी विभागको मागअनुसार कार्डियोथोरासिक सर्जरीका लागि ‘एक्टर्नल स’ आवश्यक भएको भन्दै टेन्डर आव्हान गरेको थियो । त्यो पनि बायोमेड इन्टरनेसनलले १२ लाख १२ हजार ३ सय ९९ रुपैयाँको एलसीमार्फत उक्त उपकरण प्रतिष्ठानमा आइपुग्दा प्रयोग नै गर्न नसकिने भएपछि अलपत्र अवस्थामा छ ।


यस्तै हाडजोर्नी विभागकै मागअनुसार सर्जरीका लागि चाहिने अर्थोस्कोपी सेटका लागि प्रतिष्ठानले टेन्डर आह्वान गर्‍यो । काठमाडौंको कमलादीको द मेडिकल सोलुसनले टेन्डर पारेर २०७३ असारमा उपलब्ध गराएको उपकरणको मूल्य ९३ लाख ९० हजार रुपैयाँ छ । तर, प्रतिष्ठानमा ‘कम्प्लिट सेट’ नआएकाले हाडजोर्नीको शल्यक्रिया प्रभावित भएपछि एजेन्टलाई बारम्बार ताकेता गरिएको थियो । उक्त उपकरण पनि अलपत्र छ ।


प्रतिष्ठान स्रोतका अनुसार तीन वर्षअघि बायोमेडबाटै टेन्डरमार्फत १० वटा भेन्टिलेटर मगाइएको थियो । सघन उपचार कक्षमा सिकिस्त बिरामी उपाचारका लागि आवश्यक ती भेन्टिलेटरमध्ये ३ वटा मात्र प्रयोगमा छ । बाँकी ७ वटा कामै नलाग्ने अवस्थामा छन् । सघन उपचार कक्षमा प्रयोग हुने एउटै भेन्टिलेटर ७० लाखदेखि करोडभन्दा बढी पर्छ ।


काडमाडौंको सिन्धु सर्जिकल कम्पनीले ल्याएको सातवटा भेन्टिलेटर पनि प्रयोगमा ल्याउन नसकेको प्रतिष्ठान स्रोतले जनाएको छ । बायोमेडले ल्याएको र सिन्धु सर्जिकलले ल्याएको भेन्टिलेटर कोविडियन कम्पनीले निर्माण गरेका हुन् ।


प्रतिष्ठानमा करोडौंका उपकरण अलपत्र परे पनि ती उपकरणका अग्रीम भुक्तानी भइसकेको छ । तर, प्रतिष्ठानले ती सबै उपकरण हालसम्म बुझेको छैन । प्रतिष्ठान स्रोतले भन्यो, ‘ती सबै उपकरणहरु सम्झौताअनुसार नभएको, प्रयोगमा ल्याउन नसकेकाले आफूहरुले नबुझेको हो ।’


त्यस्ता मेडिकल डेन्टल उपकरणको गुणस्तरीयता हेर्नका लागि विभागीय प्रमुख र प्रतिष्ठानको बायोमेडिकल प्रविधि विशेषज्ञ इन्जिनियरले स्वीकृति दिएको हुनु पर्छ ।


यसअघि प्रतिष्ठानको दन्तचिकित्सा महाविद्यालयमा प्रतिडेण्टल चियर २ लाख ७० हजार रुपैयाँ पर्ने ८ थान डेन्टल चियर डेन्टमार्टले टेन्डर पारेर ल्याएको तर नयामै काम नगरेपछि डम्प भएको समाचार कान्तिपुरमा प्रकाशित भएपछि प्रतिष्ठानलाई थाहै नदिई डेन्टमार्टले इन्जिनियर पठाएर सामान्य मर्मत सम्भार गरिदिएको थियो । डेन्टलका एक चिकित्सकले भने, ‘सामान्य मर्मत गरेको हामीलाई थाहा भएन । अझै विश्वस्त छैनौं ।’ उनका अनुसार दन्तचिकित्सा महाविद्यालयका डेन्टल चियरहरुमध्ये ९० प्रतिशत काम नलाग्ने अवस्थामा छन् । टेन्डर गरेर ल्याएको नयाँ उपकरण पनि इन्स्टलेसन नै नगरी एजेन्टले बेवास्ता गर्दा बिरामी राखेर उपचार गर्न पनि नसकेर चिकित्सकहरु हैरान भएका छन् ।


स्पाइनल सर्जरीका लागि प्रतिष्ठानले मगाएको सर्जिकल माइक्रोस्कोप प्रयोगविहीन भएको छ । तस्बिर : प्रदीप/कान्तिपुर

प्रकाशित : फाल्गुन २९, २०७४ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?