कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध गिटी खानी बन्द

कान्तिपुर संवाददाता

खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत बाँझेच्यानडाँडा–अल्झेढुंगा सडक निर्माणका लागि अवैध रूपमा निकासी गरिएको गिटी खानी बन्द गरिएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको वडा नं–६ नेर्पा र ११ खार्मीको सिमानामा पर्ने बगरे भन्ज्याङको गिटी दोहन बन्द गरिएको हो ।


उक्त क्षेत्र डाँडाखर्क खिसापत्रे सामुदायिक वनको स्वामित्वमा रहेको र त्यहाँ अभ्रख खानी समेत रहेकाले त्यस ठाउँमा अवैध रूपमा गिटी निकाल्न नहुने स्थानीयले गुनासो गरेको थिए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालका अनुसार अवैध रूपमा निकासी भइरहेको गिटी खानी बन्द गरिएको हो ।


उक्त अवैध रूपमा सञ्चालन गरिएको गिटी खानीले प्राकृतिक सम्पदा नष्ट हुने भएकाले बन्द गरिएको रिजालले सुनाए । सडक निर्माणमा सम्बद्ध रमण गोल्डेन गुड जेबी कम्पनीले अवैध रूपमा गिटी खानी सञ्चालन गरेको थियो ।


सरकारले गौरवको आयोजनाको सूचीमा राखेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बाँझेच्यानडाँडा–अल्छेढुंगा ८८ किलोमिटर सडक करिब एक अर्ब नौ करोड १९ लाख रुपैयाँको लागतमा निर्माणाधीन अवस्थामा छ ।


निर्माण अवधि सकिए पनि सडक भने अपूरै छ । बाँझेच्यानडाँडा–अल्छेढुंगा सडकको चार वटा प्याकेजमा ठेक्का लागेको थियो । एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ वैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने गरी सम्झौता भएको थियो ।


यसमध्ये एक नम्बर प्याकेजको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा अवधि सकिएको हो । चार नम्बर प्याकेजको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । तीन नम्बर र चार नम्बर प्याकेजमा भने सब बेससम्मको काम भएको छ ।


प्रकाशित : फाल्गुन २९, २०७४ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?