१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पानीको मुहानले दियो सुविधा

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको शीरमा रहेको रूपाकोट क्षेत्रमा अहिले ठाउँ–ठाउँमा पोखरी देख्न सकिन्छ ।

कतिपय पोखरीमा पानी छ भने कतिपय सुकेको देखिन्छ । यो पानीको मुहान र स्रोत बढाउन उपाय लगाइएको हो ।

जिल्ला वन कार्यालयले गत आर्थिक वर्षमा पाँचवटा र यो आर्थिक वर्षमा दुईवटा पोखरी निर्माण गरिरहेको छ । यसका लागि गत वर्ष ७५ हजार खर्च भयो । यो वर्ष एक लाख ५० हजार खर्च हुने भएको छ । रूपाकोट मझुवागढी नगरपालिका ६ मा पनि पोखरी निर्माण भइरहेको छ ।

गत वर्ष पनि नेर्पामा २ लाखको लागतमा पोखरी बनाइएको थियो । यो वर्षका लागि ७५ हजार खर्च गरिने जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपालले बताए । वर्षामा बगेर जाने पानीलाई पोखरीमा जमाउँदा त्यसले पानीको मुहान बढाउने भएकाले पोखरी निर्माण गरिएको प्रमुख नेपालले बताए ।

‘त्यति मात्र होइन, पानीको मुहान बढ्छ,’ उनले भने, ‘रूपाकोट क्षेत्रमा धेरै पोखरी बनाइयो भने श्रोत सम्पदा समेत जीवित रहन्छ ।’ पोखरी निर्माणपछि त्यसको प्रभाव देखा परेको छ । ‘गत वर्षतिर पानीको मुहान सकेको हुन्थ्यो,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सप्तमणि राईले भने, ‘पोखरी निर्माणपछि पानीको मुहान सुकेको छैन, बरु कतिपय ठाउँमा पानीको मुहान बढेको छ ।’

रूपाकोट क्षेत्रमा गाईबस्तु, भेडा–बाख्रा तथा वन्यजन्तुलाई समेत पानीको सुविधा भएको छ । ‘पानी अभावमा यस क्षेत्रमा समस्या थियो ।’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका २ सोल्माकै जयप्रसाद राईले भने, ‘अहिले पानीको समस्या छैन ।’

रूपाकोट क्षेत्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मात्र होइन सुक्खा क्षेत्र हलेसी क्षेत्रको पानीको श्रोत हो । यस क्षेत्रबाट विभिन्न ठाउँमा खानेपानी लगिएको छ । यसबाहेक यस क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तुदेखि अन्य जनावर तथा पन्छीका लागि समेत पानीको समस्या टरेको छ ।

पानीको मुहान जीवित हुँदा सिँचाइमा समेत सहज भएको छ । यसले दीर्घकालीन रूपमा पर्यावरणलाई समेत सकारात्मक असर पर्ने पूर्वसांसद टंक राई बताउँछन् । ‘यो हेर्दा सानो काम देखिन्छ,’ राईले भने, ‘यसले सबैलाई ठूलो फाइदा पुर्‍याउँछ ।

प्रकाशित : चैत्र ३, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?