वन फँडानी रोक्न प्रदेश सरकार अघि सर्‍यो

विराटनगर — वैज्ञानिक वन व्यवस्थापन भन्दै अनियमित तवरले रूख कटान भएको उजुरी परेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सम्बन्धित पक्षलाई छलफलका लागि बोलाएको छ ।

वन फँडानी रोक्न प्रदेश सरकार अघि सर्‍यो

जिल्ला वन कार्यालयले भने सामुदायिक वनहरूलाई तत्काल रूख काट्ने काम बन्द गर्न निर्देशन दिएको छ ।

यति बेला मोरङको उत्तरी क्षेत्रमा रहेका २१ वटा सामुदायिक वनहरूमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत ८० वर्ष पुराना रूख काट्ने काम भइरहेको थियो । एउटा वनले १ देखि डेढ हेक्टर क्षेत्रसम्मका पुराना रूख काटेर नयाँ लगाउने अनुमति पाएका थिए ।

‘जनताबाट धेरै गुनासो आयो,’ प्रदेश १ का प्रमुख सचिव यादवराज कोइरालाले भने, ‘त्यसैले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार जिल्ला वन, इलाका वन, उपभोक्ता समितिका पदाधिकारी, सुरक्षा निकाय लगायतलाई छलफलका लागि बोलाइएको हो ।’

वैज्ञानिक वन व्यवस्थापनाका नाममा लहलहाउदा रूख काट्ने काम रोक्नुपर्ने कोइरालाले वताए । ‘कस्तो वैज्ञानिक हो पहिला सोतर पारेर काट्ने अनि बीउ रोप्ने,’ उनले भने, ‘पहिला बिरुवा हुर्काउनुपर्‍यो अनि पुराना काट्ने काम ठीक हुन्छ ।’ वनकै कर्मचारीसँगको मिलेमत्तोमा रूख कटान भइरहेको उजुरी परेको छ ।

नियमित कार्यक्रमअन्तर्गत नै रूख काट्ने काम भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख विनोदप्रसाद देवकोटा बताउँछन् । ‘यो कुनै अवैध कटानी हैन,’ प्रमुख देवकोटाले भने, ‘हाम्रो रेड बुकमा परेकै कार्यक्रम हो । यसमा केही बुझाइ गलत भएजस्तो छ, आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर प्रस्ट पार्छौं ।’ उनले शुक्रबारबाटै वैज्ञानिक वन व्यवस्थापनका लागि रूख कटान गरिरहेका वनहरूलाई रोक्न निर्देशन दिइसकेको बताए । पूर्वी तराईको चारकोशे क्षेत्र लगायतमा सालका काठहरू काट्न भएको भन्दै मुख्यमन्त्री शेरधन राईले समेत चासो लिएका थिए । मुख्यमन्त्रीले सम्बन्धित निकायलाई तत्ताल रूख काट्ने काम रोक्न निर्देशनसमेत दिएका छन् ।

नयाँ संविधानअनुसार स्थानीय सरकार र प्रदेश सरकार समेतको साझा सूचीमा रहेको वनजंगल पुरानै संविधानअनुसारको संरचना अन्तर्गत जिल्ला वन कार्यालयले पँmडानी गरिरहेको आरोप छ । यी सबै काममा स्थानीय तहका जनप्रतिनिधि बेखवर छन् ।

मोरङमा चार वर्षअघिवाट वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम सुरु भएको हो । यो कार्यक्रमअन्तर्गत समुदायिक वनहरूले हरेक वर्ष बढी डेढ हेक्टर क्षेत्रफलभित्र ८० वर्षभन्दा पुराना सालका रूख कटान गरी बिक्री गर्छन् भने त्यसपछि त्यहाँ तारबार गरेर नयाँ बिरुवा लगाउँछन् ।

जिल्ला वन कार्यालय मोरङ दस वर्षसम्मका लागि क्यालेन्डर नै बनाइसकेको छ । यो कार्यक्रम ८० वर्षसम्म चल्ने गरी अघि बढिएको जिल्ला वन प्रमुख देवकोटा बताउँछन् । मोरङका १३० वटा सामुदायिक वनमध्ये २४ वटाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा लागि स्वीकृति पाइसकेका छन् ।

मोरङमा ५५ हजार ५ सय हेक्टर वन क्षेत्र छ । मोरङमा १३० वटा सामुदायिक वन हस्तारण भइरहेका छन् । यो जिल्लामा ४२ हजार १ सय ८९ घरधुरी उपभोक्ता रहेका छन् । मोरङक हरेक वर्ष यहाँका सवै सामुदायिक वनले गरी करिब १५ करोड रुपैयाँको काठ दाउरा बिक्री गर्ने गरेका छन् ।

प्रकाशित : चैत्र ३, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?