२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रभावकारी बन्दै सौर्य सिँचाइ

बनियानी (झापा) — जिल्लामा सौर्य ऊर्जा प्रविधिबाट गर्न थालिएको सिँचाइ प्रभावकारी बनेको छ । सिँचाइ अभावमा खेती गर्न नपाएका किसान उत्साही बनेका छन् ।

सौर्य ऊर्जाबाट चल्ने बोरिङ शतप्रतिशत अनुदानमा प्राप्त भएपछि किसान थप हौसिएका छन् । वर्षौंदेखि बाँझो रहने खेत यतिबेला जलमग्न र हरियाली देखिन थालेको छ । आकाशे पानीका भरमा एक बाली मात्रै गर्दै आएका किसान यो वर्षदेखि कम्तीमा दुई बाली लगाउन थालेका छन् ।

सौर्य ऊर्जा प्रविधिबाट भूमिगत पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको हो । यो सिँचाइ प्रणालीबाट जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धान सुपर जोनका किसान लाभान्वित भएका छन् । धान सुपर जोन सञ्चालनमा रहेको कचनकवल गाउँपालिकाको १० स्थानमा सौर्य बोरिङ राखिएको छ । सुपर जोन सञ्चालक समिति र जिल्ला सिँचाइ डिभिजन कार्यालयको संयुक्त लगानीमा ती बोरिङ गाडिएका हुन् । सुपर जोन कार्यालयका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार एउटा सौर्य बोरिङ जडान गर्न पाँच लाख रुपैयाँ खर्च भएको छ । उक्त क्षेत्रमा सुपर जोन सञ्चालक समिति र सिँचाइ डिभिजन कार्यालयले ५/५ वटा सौर्य बोरिङ सतप्रतिशत अनुदानमा जडान गरिदिएको अधिकृत तिमल्सिनाले जानकारी दिए ।

‘सौर्य बोरिङ जडान गरेपछि अहिले हाम्रो समूहका सबैको खेतमा पानी पुगेको छ । पानी पुग्ने भएपछि मेरो तीन बिघा खेत सबैमा चैते धान रोप्ने तयारी गरेको छु,’ कचनकवल ३ का किसान दिनचन्द्र राजवंशीले भने । उनी स्थानीय सिर्जनशील कृषक समूहका अध्यक्ष समेत हुन् । उनको खेतमा सौर्य बोरिङ गाडेपछि उनीसँग सीमा जोडिए फाक्ताल राजवंशी, कान्द्रु राजवंशी, फूलसिंह राजवंशी, चाम्फा राजवंशी र ईश्वरसिंह राजवंशीले पनि खेतमा चैते धान, मकै र गहुँ लगाएका छन् ।

एउटा सौर्य बोरिङले उनीहरू सबैको करिब १५ बिघा खेतमा सिँचाइको सुविधा पुगेको छ । ‘यसपालि हामीलाई खेती गर्न खुब हौसला मिलेको छ,’ दिनचन्द्रले भने, ‘पहिला पहिला खेतीको आम्दानीभन्दा बढी खर्च हुन्थ्यो । सिँचाइ थिएन । डिजेल हालेर बोरिङ चलाउदा, आम्दानीभन्दा बढी खर्च हुन्थ्यो ।’ वडा नं. ४ का सजाद आलमले धेरै वर्षदेखि बाली लगाउन छोडेको खेतमा यसपाली तीन/चार किसिमको बाली लगाएको बताए । ‘पानी नभएपछि बाली हुँदैन । लाइनको भर हुँदैन । तेल किनेर बोरिङ चलाएर बाली लगाउनु/नलगाउनु उस्तै हुन्छ,’ आलमले भने, ‘तर यसपालि सौर्य बोरिङ गाडेपछि पानीको कुनै समस्या छैन । मंसिरको धान काटे लगत्तैदेखि विभिन्न बाली लगाउन व्यस्त छौं ।’ उनी आबद्ध रहेको चम्राखारी कृषक समूहमा २१ जना कृषक सदस्य छन् । यसपाली उनीहरू सबैले सौर्य बोरिङबाट सिँचाइ गरिरहेका छन् । सिँचाइको व्यवस्था भएपछि उनीहरूले चैते धानसँगै गहुँ र मकै बाली पनि लगाएका छन् । एउटा सौर्य बोरिङबाट १५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिन्छ । सिँचाइ अभावमा उक्त क्षेत्रका किसान बर्खाको बेलामात्रै धान रोपाइँ गर्दै आएका थिए ।

धान उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले गत वर्षदेखि जिल्लाको दक्षिण–पूर्वका साविकका ६ गाविसहरू बनियानी, केचना, बालुबाडी, पथरिया, पृथ्वीनगर र पाठामारीमा धान सुपर जोन कार्यक्रम सञ्चालन गरेको छ । सिँचाइको व्यवस्था भएपछि सुपर जोन क्षेत्रमा यो वर्ष ५ सय बिघा क्षेत्रफलमा चैते धान रोप्ने कार्य चलिरहेको छ । सिँचाइ नहुँदा गत वर्ष एक सय हेक्टर जमिनमा मात्रै चैते धान रोपिएको थियो । सौर्य बोरिङलाई सहयोग पुग्ने गरी सुपर जोन कार्यालयले किसानलाई एक सय ४० स्थानमा मोटर बोरिङ पनि उपलब्ध गराएको छ ।

प्रकाशित : चैत्र ३, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?