कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ताप्लेजुङमा ११ हजार निरक्षर

आनन्द गौतम

ताप्लेजुङ — एक लाख २७ हजार जनसंख्या रहेको जिल्लामा ११ हजार निरक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ । शिक्षा कार्यालयले स्थानीय तह र माध्यमिक विद्यालयसँगको समन्वयमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

शिक्षा कार्यालयका अनुसार सबैभन्दा बढी निरक्षर सिरिजंघा गाउँपालिकामा छन् । यसपछि फुङलिङ नगरपालिका र मैवाखोला गाउँपालिकामा झण्डै हाराहारिको संख्यामा रहेको तथ्यांकले देखाएको छ । सिरिजंगामा एक हजार छ सय ३५ जना निरक्षर छन् । नगरपालिकामा एक हजार पाँच सय ५३ रहेका छन् भने मैवाखोला गाउँपालिकामा एक हजार ५ सय १९ छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा कम याङवरक गाउँपालिकामा ६ सय ७१ जना छन् ।


कार्यालयका अनुसार आठराई त्रिबेणी गाउँपालिकामा एक हजार तीन सय ३९ मेरिङदेनमा एक हजार एक सय ५६ मिक्वाखोलामा एक हजार २ सय २९ फक्तालुङमा आठ सय ३५ र सिदिङवा गाउँपालिकामा एक हजार ५० निरक्षर छन् । फक्तालुङ गाउँपालिकाको ४ देखि ७ नम्बर वडासम्म भने यसअघि नै साक्षर भइसकेको शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जनाए । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले साक्षर बनाएको उनले बताए ।


साक्षर वडा घोषणा हुन भने बाँकी छ । निरौलाले विद्यार्थी र शिक्षक परिचालन गरेर निरक्षरको तथ्यांक संकलन गरिएको बताए । गाउँपालिका, नगरपालिका र वडाध्यक्षको भेलाले माध्यमिक तहका शिक्षक र विद्यार्थी परिचालन गर्ने निर्णय गरेको थियो । त्यही अनुसार माध्यमिक विद्यालयले नेतृत्व गरेर निरक्षरको नाम सहितको विवरण संकलन गरेका हुन । यस्को निगरानी जनप्रतिनिधिले गरेकाले यो आधिकारिक र भरपर्दो तथ्यांक भएको निरौलाले दाबी गरे ।


गाउँपालिकाको जनसंख्यालाइ आधार मान्ने हो भने मैवाखोला गाउँपालिका सबैभन्दा बढी निरक्षर देखिएको छ । यो प्रतिनिधिसभा सदस्य तथा एमाले सचीव योगेश भट्टराइको जन्मस्थलको गाउँपालिका हो । भट्टराइले नागरिकता यहीबाट लिएका छन् भने मतदाता नामावली पनि यही छ ।


गत निर्बाचनमा उनी यो जिल्लाबाट भारी मतले बिजयी भएका हुन । ११ हजार २७ जनसंख्या रहेको मैवाखोलामा ९ हजार ५ सय ८ साक्षर छन् । १ हजार ५ सय १९ निरक्षर । यो भन्दा बढी निरक्षर रहेको फुङलिङ नगरपालिकाको जनसंख्या मैवाखोलाको भन्दा १३ हजार आठ सय २६ ले बढी छ भने सिरिजंगामा चार हजार सात सय ७९ ले बढी छ ।


प्रकाशित : चैत्र ३, २०७४ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?