विदेशबाट फर्केर सुन्तला खेती

तेह्रथुम — सोल्माका ५२ वर्षीय सन्तबहादुर कार्की आकर्षक कमाइको लोभमा १ लाख ऋण खोजेर मलेसिया हान्निएका थिए । दुई वर्षपछि घर फिर्दा उल्टै ११ लाख ऋण थपिएको छ । त्यसमाथि घाइते शरीर लिएर गाउँ फर्किंदा उनको मन कुँडियो । केही समयको उपचारपछि उनले गाउँमै सुन्तला खेती सुरु गरे । अहिले त्यही खेतीले उनको जीवन उकासिरहेको छ ।

विदेशबाट फर्केर सुन्तला खेती

तीन पटकसम्म खाडी मुलुक पुगे पनि उनले ऋण तिर्न सकेनन् । उल्टै थपिएको थपियै भयो । पछिल्लो पटक उनी ‘दलाल’ कै चंगुलमा फसे । कम्प्युटरका समान बनाउने कम्पनीमा काम लगाइदिन्छु भन्दै दलालले झुक्याएर मलेसिया पुर्‍याए । त्यहाँ पुगेपछि मात्र कार्कीले थाहा पाए, काम त चामल गोदाममा पो रहेछ ।


‘कर्मले ठग्यो,’ सुन्तला बगानमा टहलिरहेका उनले भने, ‘न ज्यान सग्लो फर्कियो न त पैसा नै कमाउन सकियो ।’ पछिल्लो पटक मलेसिया गएका उनी त्यहाँ पुगेको डेढ वर्ष नपुग्दै सडक दुर्घटनामा परे । मोटरसाइकलले ठक्कर दिँदा उनको खुट्टा, दाहिने हात र करङ भाँचिएको छ । सजिलोसँग हिँड्डुल र बस्नसमेत सक्दैनन् ।


भाँचिएको खुट्टा लिएर घर फर्किएका उनी थप उपचारका लागि पटकपटक विराटनगर पुगे । चिकित्सकले त्यहाँ उपचार सम्भव नहुने भन्दै खुट्टा काट्नुपर्ने सुझाव दिएपछि उनी घर फर्किए । गाउँघरमै पाइने जडबुटी लगाएर भाँचिएको हात, खुट्टा र करङ निको पारे । अहिले सामान्य हिँड्डुल गर्ने सक्ने भएका छन् । गाउँघरमै पाइने जडीबुटी र झारबाट भाँचिएका शरीरका अंगको उपचार गरेको उनले बताए ।


घाइते शरीरले बढी श्रम पर्ने काम गर्न नसकेपछि उनले आफ्नो जमिनमा सुन्तला खेती सुरु गरेका छन् । सुन्तला खेतीमा तुलनात्मक रूपमा कम श्रम गरे पुग्ने उनको भनाइ छ । यो वर्ष ८० हजार रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको उनले बताए । ‘गर्न जान्दा त पैसा यहीं रहेछ,’ कार्कीले भने, ‘यो वर्ष सुन्तला खेती विस्तार गर्ने तयारीमा छु ।’ उनी अरूलाई पनि विदेश जानुको साटो स्वदेशमै केही गर्न सुझाव दिन्छन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?