कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पुराना गाडी नहटाउन माग

सरकारले २० वर्षे पुराना गाडीलाई प्रतिबन्ध लगाएपछि सयौं मजदुर र व्यवसायी प्रभावित
दीपेन्द्र शाक्य

इलाम/संखुवासभा — अढाई दशकदेखि निरन्तर ड्राइभिङ गरेका सोनाम शेर्पा चिन्तामा छन् । भारतमा १० वर्ष र इलामका पाखाभित्तामा खुलेका सडकमा १६ वर्षदेखि स्टेरिङ घुमाउँदै आएका सोनाम यातायात मजदुर हुन् ।

पुराना गाडी नहटाउन माग

यति लामो समय सवारी साधन चलाउँदैमा समय गुजारेका उनले गएको वर्ष ऋण लिएर भए पनि आफंै ल्यान्डरोभर जिप किनेर मालिक बने । जीवनभर अर्काको सवारी साधन चलाएका उनी बिहीबारदेखि आफ्नै गाडी थन्क्याएर बसेका छन् ।’


सीमावर्ती जौवारीका अर्जुन गुरुङलाई पनि उस्तै समस्या छ । त्यहाँ रहेको आलु विकास र पर्यटकीय गतिविधिमा नियमित सञ्चालन हुने उनको गाडी पनि थन्किएको छ । कठिन सडकका कारण अन्य गाडी पनि नपुग्ने अवस्थामा ती क्षेत्रका बासिन्दाले पनि समस्या भोग्नुपर्ने उनको भनाइ छ । ‘नयाँ सवारी साधन किन्दा ३० लाख बढी खर्चनुपर्छ,’ उनले भने, ‘सडकको अवस्था यति नाजुक छ कि कसैले पनि नयाँ गाडी लिएर जाने हिम्मत गर्दैनन् ।’


सरकारले २० वर्षे पुराना गाडीलाई प्रतिबन्ध लगाएपछि सयौं मजदुर र व्यवसायी प्रभावित भएका छन् । जिल्लाको भौगोलिक अवस्था र सडकको दुरवास्थाका बाबजुत पनि वर्षांैदेखि सञ्चालनमा रहेका पुराना गाडी सञ्चालनमा रोक लगाएपछि यहाँका करिब ५ सय मजदुर प्रत्यक्ष प्रभावित छन् । सरकारी मापदण्डका कारण डेढ सय हाराहारीमा सवारीका साधन चल्न छाडेका छन् । त्यसमा ५० जति ल्याडरोभर गाडी छन् ।


पुराना सवारी साधनमा रोक लगाउन थालेपछि जिल्लाका कतिपय ग्रामीण क्षेत्रमा यातायात व्यवस्थासमेत प्रभावित भएको छ । प्याङ, जमुना, माइमझुवालगायत स्थानमा पुग्न सवारी साधनको अभाव भएको हो । ‘पूर्वप्रधानमन्त्रीदेखि पूर्वसभामुख, सभासद, सुरक्षा निकायका प्रमुखहरूलायत अधिकांशले इलाम घुम्न यस्तै गाडी रोज्ने गरेका छन्,’ पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघका अध्यक्ष ग्रिष्म सुब्बाले भने, ‘यहाँको सडकको अवस्था र सेवाका हिसावले यी गाडी कमजोर छैनन् ।


सरकारले बरु गाडीलाई उमेरका आधारमा होइन कन्डिसनको नियमित चेकजाँच गर्ने प्रबन्ध गर्नुपर्‍यो ।’ पुराना गाडीका कारण दुर्घटना नबढेको तर्क गर्दै उनले गाडीको उमेर तोक्दा अझ लापरबाही बढ्ने जिकिर गरे । निजी र सरकारी गाडीबाहेक सार्वजनिक गाडीलाई मात्र उमेर हद तोकेर बन्द गर्दा अन्याय भएको अधिकांशको भनाइ छ । ‘सरकारको नीति नै त्रुटिपूर्ण छ,’ बिब्ल्याँटेका व्यवसायी बालकुमार श्रेष्ठले भने, ‘दुर्घटनाको जोखिम र प्रदूषणलाई आधार मान्ने हो भने निजी र सरकारी गाडी पनि उस्तै हुन् ।’


वर्षौंदेखि यातायात व्यवसाय गर्दै आएका अधिकांशको भनाइ सरकारी निर्णयले गरिव र दु:खीलाई नै मार पारेको तर्क छ । स्थानीय सरकारको सिफारिसका आधारमा आवश्यकताअनुसार यस्ता गाडी सञ्चालन गर्न दिनुपर्ने उनीहरूको माग छ । सीमापारि दार्जिलिङमा ल्यान्डरोभर गाडीलाई पर्यटकीय आर्कषणका रूपमा लिएको भन्दै यस्तै गरी निश्चित क्षेत्र तोकेर गुडन दिनुपर्ने उनीहरूको माग छ । पर्यटकीय गतिविधि विस्तारमा लागेको यो जिल्लामा यस्ता गाडी निषेधले प्रत्यक्ष प्रभाव पर्ने उनीहरूको भनाइ छ । ‘दार्जिलिङको रेलसँगै तुलना गरेर ल्यान्डरोभर गाडीलाई पर्यटकीय महत्त्वको बनाइएको छ,’ सुब्बाले भने, ‘त्यहाँ मानेभञ्ज्याङदेखि सन्दकपुरसम्मको ३१ किलोमिटर क्षेत्रमा अन्य गाडीको प्रयोग नै हँुदैन ।’


सायौं र मजदुर र व्यवसायी प्रत्यक्षमा मारमा परेका भन्दै विकल्पबिना एकोहोरो ढंगले यस्तो निर्णय लिन नहुने सरोकारवालाको भनाइ छ । ‘पुराना गाडीलाई हटाउँदै गर्दा नयाँ खरिद गर्न पनि सजिलो छैन,’ देउमाई नगरपालिका मंगलबारेका व्यवसायी मनकुमार श्रेष्ठले भने, ‘नयाँ गाडी खरिदमा २ सय ६० प्रतिशत भन्सार तिर्नुपर्छ । पुराना गाडी विस्थापित भएकाहरूलाई भन्सार छुटको व्यवस्था गरिनु पर्छ ।’ न्यूनतम भन्सार शुल्क लिएर गाडी खरिद गर्न सहज बनाउने हो भने मजदुरको र व्यवसायीको समस्या हल हुने उनीहरूको भनाइ छ ।


यातायात ठप्प बनेपछि समस्या
संखुवासभाको चैनपुर नगरपालिका १ नुनढाकीका गोकुल गुरुङ यातायातका साधन नचलेपछि हिँडेर घर गएका छन् । बिहीबारबाट चैनपुर नुनढाकी सडकमा यातायात चलेको छैन । सरकारले बीस वर्षे यातायातका साधन हटाएपछि यात्रुलाई समस्या भएको उनले बताए । नुनढाकीको गुफापोखरीसम्म यस्तै यातायातका साधनले सेवा दिँदै आएको थियो । अप्ठेरो र कच्ची सडक भएकाले फोर हृवील नभएका र सामान्य गाडी गुफापोखरी पुग्दैन । कच्ची बाटो छ, यातायातका साधन चल्दैन, उनले भने, बजारमा आएका नयाँ यातायातका साधन गाउँसम्म जाँदैन ।


अधिकांश नयाँ यातायातका साधनहरू होचो हुने भएकाले गाउँगाउँमा पुग्न नसक्दा समस्या भएको उनले बताए । यातायात नचलेपछि ६ घण्टा हिँडेर गुफासम्म पुग्नु परेको उनले बताए । ग्रामीण भेग जाने यात्रुहरू हिँडेरै गन्तव्यमा पुगेको उनले बताए । बीस वर्षे पुराना भए पनि ल्यान्डरोभर गाडीबाट हामीले सेवा लिइरहेका थियांै, उनले भने, ‘पुरानो भनेर बन्द भएछ, अब हिँडेर आउजाउ गर्नुपर्ने भयो ।’ यो रुटमा ल्यान्डरोभरभन्दा अन्य यातायातका साधन नचल्ने उनले बताए ।


पाइराखेको सेवासुविधा बन्द भयो, उनले भने, ‘सडक निर्माण भए पनि कच्ची भएकाले पुरानै यातायातका साधनमात्रै गाउँसम्म पुग्छ ।’ पुराना गाडी हटाउने भए सरकारले अर्को व्यवस्था गरिदिनुपर्ने उनले माग राखे । यहाँका नुम, फ्याक्सिन्दा हुँदै भोटखोलाक्षेत्र, अरुण पारिका गाउँ र दक्षिणी क्षेत्रका ग्रामीण बस्तीहरूमा पुराना सवारीका साधनले सेवा दिँदै आएका थिए । यहाँ करिब ९० किमि सडक मात्र कालोपत्रे भएको छ । बाँकी कच्ची सडक छन् ।


जिल्ला प्रशासन कार्यालयले पनि अधिकांश ग्रामीण सडकमा हिउँदमा मात्र यातायातका साधन कष्टकर रूपमा चल्ने जनाउँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे ग्रामीण बस्तीहरूमा ल्यान्डरोभर र बीस वर्षे पुराना गाडीहरू अधिक रूपमा सञ्चालन भइरहेको बताउँछन् । भौगोलिक अवस्था र जिल्लाभित्रको सडकको अवस्थालाई मध्यनजर गर्ने हो भने सरकारी यातायातका साधन नचल्ने स्थानमा पनि पुराना गाडीले सेवा दिइरहेका छन्, उनले भने, ‘यस्ता गाडीहरू विपद व्यवस्थापन, बिरामी ओसारपसारदेखि लिएर अनुगमन निरीक्षणजस्ता काममा प्रयोग हुने गरेका छन् ।’


जिल्ला समन्वय समितिले पनि यातायात व्यवसायीलाई प्रदूषण चेकजाँच गरेर सञ्चालन गर्न दिनुपर्ने सिफारिस दिएको छ । प्रमुख सुमन शाक्यद्वारा हस्ताक्षरित सिफारिस पत्रमा जिल्लाको भौगोलिक अवस्था र जिल्लाभित्रका सडकलाई हेर्दा सञ्चालन गर्न दिनु उपयुक्त देखिएको उल्लेख गरिएको छ ।


धुले र हिले सडकमा नयाँ सवारी साधन सञ्चालन नहुने संखुवासभा ट्याक्सी व्यवसायी संघका अध्यक्ष आशिष शाक्यले बताए । कच्ची सडक भएकाले पहाडका ग्रामीण क्षेत्रमा सञ्चालसमा रहेका यस्ता यातायातका साधनलाई रोक लगाए ग्रामीण क्षेत्रमा समस्या पर्ने देखिन्छ, उनले भने, ‘यस्तो सडकमा नया यातायातका साधन सञ्चालनमा आउन सक्दैन, पुरानोको विकल्प छैन ।’ पहाडका अधिकांश दुर्गम स्थानमा पुरानै सवारी साधनले सेवा दिँदै आएका छन् । प्रदेश नम्बर एकमा मात्र २० वर्ष पुराना विभिन्न प्रकारका २ हजार १ सय बढी सवारी साधन सञ्चालनमा छन् । पुराना गाडीलाई विस्थापित नगरी चेकजाँच गरेर चलाउने व्यवस्था मिलाउनुपर्ने उनले माग गरे । पुराना गाडी विस्थापित नै गर्ने भए पनि बैज्ञानिक चेकजाँचको आधारमा गरिनुपर्छ, उनले भने, ‘नभए पुराना गाडीको उपयुक्त मूल्य पाउनुपर्छ ।’ नयाँ किन्दा भन्सार छुट दिइनुपर्ने ट्याक्सी व्यवसायीको माग छ ।

प्रकाशित : चैत्र ४, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?