१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चिया बेचेरै मासिक ३ लाख

जितेन्द्र साह

विराटनगर — मिहिनेत, लगन तथा समर्पणकासाथ अघि बढे सामान्य देखिने पेसाबाट पनि मनग्यै आम्दानी गर्न सकिन्छ । यस्तै उदाहरण बनेका छन् विराटनगर महानगरपालिकाको सरोचिया बस्तीका ३२ वर्षीय अरुण सहनी । टिनको छाप्रोमुनि चिया बेचेर मासिक औसत ३ लाख रुपैयाँ आम्दानी गर्ने उनी अहिले सबैका लागि प्रेरणीय छन् ।

चिया बेचेरै मासिक ३ लाख

महानगरमा चिया, पकौडा, प्याजी, पानीपुरी, चटेपटे एवं बदाम बेजेर मनग्यै कमाइरहेका र छोराछोरीलाई उच्च शिक्षा दिइरहेकाहरूको कमी छैन । तर उनको लोकप्रियता बेग्लै छ । उनी स्थानीय बजारमा गिलासे चियाका लागि लोकप्रिय ब्रान्ड बनिसकेका छन् । सहनीले दैनिक औषत ४ हजार गिलास चिया बेच्छन् । प्रतिगिलास १५ रुपैयाँको दरले उनी हरेक दिन कम्तीमा ६० हजार रुपैयाँको चिया बिक्री गर्छन् ।


फरक र विशिष्ट स्वादका लागि सहनीले पकाएको चिया स्थानीयमाझ लोकप्रिय छ । ‘अरुण टी सप’ पसलको नाम हो जसको बोर्डमा चिया अर्डरका लागि प्रशस्तै मोबाइल नम्बरहरू समेत राखेका छन् । सहनीले चिया बनाउने सुत्र भने कसैलाई बताउँदैनन् । ‘बुबाबाट सिकेको हुँ, यो पनि एक कला हो, अभ्यास एवं दिमागको खेल हो,’ उनी भन्छन् ।


बुबाको निधनपछि युवा उमेरमा सहनीले यो पारिवारिक पेसा सम्हालेका हुन् । बुबा बित्दा उनी मात्र १२ वर्षका थिए । ‘पिताजीको देहान्तपछि पढ्न पाइन, ३/४ वर्ष यताउति भौंतारिंदै बित्यो,’ सहनी भन्छन्, ‘त्यसपछि बुबाले छाडेको गुद्रीको यही ठाउँमा चिया बेच्न थाले ।’ सुरुको ५/६ वर्ष पसल जमाउनै लागेको उनी सुनाउँछन् ।


त्यसपछिको यो एक दसकभित्र उनले चिया बेचेरै घरघडेरी र सवारी साधन जोड्नुका साथै धुमधामकासाथ दुई बहिनीको बिहे गरे । उनले पनि हालै बिहे गरेर जीवनको नयाँ अध्यायको सुरुवात गरेका छन् । ‘यही कामले जीवनको सबै आवश्यकता पूरा गर्दै सम्मानकासाथ बाँचेको छु,’ सहनी भन्छन्, ‘पारिवारिक जिम्मेवारीका कारण ठूलो बचत गर्न नसके पनि ऋणकै लागि बैंक पनि धाउनुपरेको छैन, कसैको अगाडि हात फैलाउनु
परेको छैन ।’


मुकेशले दैनिक ३० लिटर दूधको मात्र चिया बेच्ने गरेको बताउँछन् । अरुण अनुभवी चिया पसले भइसके पनि उनी यो पेसामा लागेको तीन वर्षमात्र भएको छ । ‘पहिला आमाले पसल गर्नुहुन्थ्यो, उहाँले तरकारी बेच्न थालेपछि मैंले चिया पसल सम्हालेँ,’ मुकेश भन्छन्, ‘अरुण दाइको प्रगति देखेर मलाई पनि हौसला मिलेको छ ।’


गुद्रीमा चियाको अत्यधिक खपत हुने कारणमा तरकारी, किराना, साजसज्जा, भाँडावर्तन र हार्डबेयरको थोक तथा खुद्रा पसलको बाहुल्य पनि हो । यहाँ तरकारीकै मात्र २० वटा थोक मण्डी र ३५ खुद्रा व्यवसायी छन् । ग्राहकको पर्खाइमा समय बिताउन र व्यस्त दैनिकीले गर्दा भोजन गर्न ढिलो भएपछि व्यवसायीहरूले पनि चियाकै सहारा लिन्छन् ।


१५ मजदुर, ग्राहक, आगन्तुक र आफ्ना लागि समेत गरी दैनिक सय कप चिया मगाउने गरेको तरकारीका थोक बिक्रेता ५० वर्षीय गजेन्द्र पौदार बताउँछन् । ‘काममा मन लगाउन र आपसमा गफ गर्ने मेलोका लागि पनि चिया नभइ हुन्न,’ उनी भन्छन्, ‘मेरोमा पनि अरुणकैबाट आउँछ ।’

प्रकाशित : चैत्र ४, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?