८ वर्षदेखि पुल अलपत्र

पर्वत पोर्तेल

धाइजन (झापा) — ८ वर्षअघि झापा धाइजनको हडिया खोलामा दुई किलोमिटर वरपर एकैपटक दुइटा पुल निर्माण सुरु भए ।

८ वर्षदेखि पुल अलपत्र

एउटा पुलले तत्कालीन धाइजन २ (मेचीनगर ११) मंगलीबाट धुलाबारी जोड्छ र अर्को पुलले पनि धाइजन ३ र ४ (मेचीनगर १२) लाई धुलाबारी नै जोड्छ ।

सँगै सुरु भएका यी पुलमध्ये मेचीनगर ११ मंगलीको पुल निर्माण सम्पन्न भई आउजाउ खुला गरेकै दुई वर्ष वित्यो । तर, सँगै सुरु भएको पुल भने आधाकल्चो छाडेर ठेकेदार सम्पर्कविहीन बनेको आरोप स्थानीयको छ । दुवै पुलको ठेक्का लामा–मैनाचुलीले संयुक्त रूपमा लिएको थियो । निर्माण अलपत्र रहेको पुलको कुल लागत स्टिमेट ५ करोड ८७ लाख ५३ हजार हो । निर्माण सकिसकेको पुलको लागत ५ करोड ६४ लाख ३३ हजार हो । निर्माणाधीन पुल आर्थिक वर्ष २०६५/६६ मा राष्ट्रिय योजना आयोगको रातो किताबमा परेको योजना हो । अर्को पुलचाहिँ संसदीय योजनाअन्तर्गत निर्माण भएको हो ।

स्थानीय खगेन्द्र विष्टका अनुसार ठेकेदार मदन अधिकारीले बीचमा दुवै पुल निर्माणका लागि खगेन्द्र पौडेल नामका अर्का ठेकेदारलाई ‘पेटी ठेक्का’ मा निर्माण जिम्मा दिएर सम्पर्क बाहिर बसेका थिए । राजनीतिक दलका नेताहरूको चर्को दबाबपछि मंगलीको पुल चाँडै निर्माण गरी पौडेलले हस्तान्तरण गरे । तर, अर्को पुल निर्माणबाट भने उनी पन्छिए । ‘पौडेल पन्छिएपछि बाध्य भएर अधिकारीले निर्माण जिम्मा लिएका हुन्’, विष्टले भने, ‘जिम्मा त लिए तर यत्रो समय वितिसक्यो आधाकल्चो छाडेर हिँडेका छन् ।’ उनले ठेकेदारलाई बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्कमै आउन नचाहेको बताए ।

गत वर्ष तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखकसहितको एउटा टोलीले पुल निर्माणस्थलको अवलोकनका क्रममा ठेकेदार अधिकारीले वर्ष दिनभित्र जुनसुकै हालतमा पुलको काम सकेर जनतालाई हस्तान्तरण गर्ने जनाएका थिए । उनले सार्वजनिक रूपमै भनेका थिए, ‘अब स्थानीयले हडिया पुल तर्दा जुत्ता, चप्पल खोल्नुपर्दैन ।’ तर, अहिलेसम्म पुलको आधा काम पनि सकिएको छैन ।

ठेकेदार अधिकारीले सय मिटर लामो पुलका चारमध्ये दुइटा पिलर र स्ल्याभको काम सकिसकेका कारण यो वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरे । उनले मेसिनको सहयोगबाट भासिएको पिलरलाई व्यवस्थित गर्न केही समय लाग्ने बताए ।

स्थानीय जितलाल मेचेले पुल बन्ने आशा विस्तारै निरासा बढ्न थालेको गुनासो राखे । मेचेले भने, ‘७–८ वर्षमा एउटा सय मिटरको पुल बन्न सक्दैन हामीले के आशा गर्नु ।’ पुल नहुँदा वर्षायाममा यहाँका सर्वसाधारण जोखिम मोलेर खोला तर्न बाध्य हुन्छन् । कामको सिलसिलामा वारिपारि गर्नुपर्ने बाध्यता स्थानीयको छ । डिभिजन सडक कार्यालय दमकका इन्जिनियर राजेशकुमार यादवले पुल निर्माण अलपत्र छाडेर बेपत्ता रहेका ठेकेदार पटक–पटकको ताकेदापछि सम्पर्कमा आइसकेको बताउँदै एक वर्षभित्र काम सक्ने सम्झौता भएको बताए । तर, यो वर्ष पुल निर्माण सकिने सम्भावना ज्यादै न्यून छ ।

प्रकाशित : चैत्र ६, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?