१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

आगलागीपछि विजोग

महिला र बालबालिका बढी प्रभावित पुन:स्थापनाका लागि दैवीप्रकोप व्यवस्थापन समिति बैठक बस्दै
प्रदीप मेन्याङ्बो

धरान — गत शनिबार राति सुनसरीको बराहा क्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा बाँतर बस्ती सखाप पारेपछि आगलागीपीडित खुला आकासमुनि त्रिपालमा बस्न बाध्य छन् ।

उनीहरूलाई जिल्ला दैवीप्रकोप व्यवस्थपन समितिले प्रतिपरिवार पाँच हजारका दरले नगद दिए पनि पर्याप्त नभएको बताएका छन् ।

घुर बालेको आगोबाट आगलागी भएको बताइएको आगलागीमा परी २ सय ४५ परिवारका ५० घर पूर्णरूपले जलेर खरानी भएपछि सबैभन्दा प्रभावित महिला र बालबालिका भएका छन् । आगलागी भएपछि खानेपानी र शौचालयको समस्या छ । खानेपानी डिभिजन कार्यालयले आगलागीपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिदिने खानेपानी डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए पनि तत्काल व्यवस्था हुन सकेको छैन ।

सुनसरीका सहायक सिडियो अनुज भण्डारीले जिल्ला दैवीप्रकोप समितिले आगलागी पीडितलाई पुन:स्थापना गर्न बैठक बस्ने बताए । उनले भने, ‘उद्धारको काम सकिएको छ । विभिन्न संघसंस्थामार्फत राहत दिने क्रम जारी छ । अब उनीहरूलाई पुन:स्थापना गर्नका लगि ठोस निर्णय हुन बाँकी छ ।’

उनले आगलागी पीडितका लागि बस्ने घर बनाइदिने केही संघसंस्थालले भनेपछि के कसरी व्यवस्थापन गर्ने भनेर निर्णय हुन बाँकी रहेको बताए । उनका अनुसार यसअघि जिल्ला दैवीप्रकोप समितिले प्रतिपरिवार पाँच हजारका दरले नगद सहयोग गरेको छ भने सोमबार बराह क्षेत्र नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिले प्रतिपरिवार चार हजार रुपैयाँ वितरण गरेको छ ।

जिल्ला बालकल्याण समितिले प्रारम्भिक चरणमा गरेको सर्वेक्षणबाट ७० जना बालबालिका प्रभावित भएका छन् । घरमा भएको सबै शैक्षिक सामग्रीसहित विद्यालयको पोसाकसमेत जलेर खरानी बनाइदिएपछि उनीहरूको कन्तविजोग भएको छ । अधिकांश बालबालिकाको अन्तिम परीक्षा चलिरहेका बेला बस्तीमा आगलागी भएपछि उनीहरूको शैक्षिक जीवन अस्तव्यस्त भएको छ ।

कक्षा नौमा अध्यरत रोशन चौधरीले भने, ‘स्कुलमा परीक्षा चलिरहेको छ, यता आगलागीले किताव कलम, लुगा सबै जले कसरी परीक्षा दिनु ?’ बाल विकास केन्द्रमा पढ्नेदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको पढाइसमेत प्रभावित भएको महिला तथा बालबालिका कल्याण समितिका सदस्य डीवी शाहशंकरले बताए । उनका अनुसार आगोले घरसहित सबै सामान जलेर भएपछि पढ्ने विद्यार्थीहरूलाई गाह्रो भएको छ ।

सबै आगलागीपीडितको शरीरमा लगाएको एक सरो कपडाबाहेक अरू केही छैन । त्रिपाल भए पनि ओढ्ने ओछ्याउने समेत छैन । शनिबार राति इक्राइको बाँतर बस्तीका ५० परिवारको १ सय २ वटा घर पूर्ण रूपले जलेर नष्ट भएको थियो । आगलागीमा १ करोड ८७ लाख मूल्य बराबरको क्षति भएको बराह नगरपालिकाका मेयर निलम खनालले बताए । पीडितहरूको करिव ६ लाख नगद, ५० लाख बढीको गरगहना, ५० लाख बराबरको धान, गहुँ, चामल र भाँडावर्तन तथा १० लाख बरावरको पशु चौपया र १० लाख बरावरको पशु आहार तथा ६० लाख बराबरको घर जलेर नष्ट भएको थियो ।

प्रकाशित : चैत्र ७, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?