कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

६० घार मौरी सम्हाल्दै गोमादेवी

अर्जुन राजवंशी

दमक — हिम्मत नहारी परिश्रम गरे ग्रामीण क्षेत्रका महिलाले घरै बसेर मासिक ५० हजार रूपैयाँसम्म कमाउन सक्दा रहेछन् । यसको पछिल्लो उदाहरण बनेकी छन्, मोरङ उर्लाबारी नगरपालिका ९ राजघाटकी गोमादेवी दाहाल ।

६० घार मौरी सम्हाल्दै गोमादेवी

व्यावसायिक रूपमा मौरीपालन गर्दै आएकी गोमादेवीले सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएकी छन् । १७ वर्षदेखि निरन्तर मौरीपालन गर्दै आएकी उनले वार्षिक १५ लाख रुपैयाँको कारोबार गर्छिन् । १७ वर्षअघि एक घार मौरीबाट व्यवसाय सुरु गरेकी उनीसँग अहिले ६० घार मौरी छ । उनले आफ्नै घरमा ‘राजघाट मौरीपालन उद्योग’ स्थापना गरेकी छन् । उद्योगबाट उनले करिब एक हजार घार मौरी बिक्री गरिसकेको जानकारी दिइन् । सामान्य लगानीमा सुरु गरेको व्यवसायले राम्रो आम्दानी दिन थालेपछि गोमादेवीलाई सघाउन रोजगारीका लागि विदेशमा रहेका श्रीमान् घर फर्किएका छन् । जिल्ला कृषि विकास कार्यालय मोरङको सहयोगमा तालिम लिएपछि उनी यो पेशामा लागेकी हुन् ।

सुनसरीको तरहराबाट चार हजार ५ सय रुपैयाँमा किनेर ल्याएको एक घार मौरी बढदै गएर कुनै बेला एक सय ६० घारसम्म पुगेको थियो । सुरुवाती दिनमा घर परिवार र गाउँलेको आलोचना खेपेकी गोमादेवी अहिले सबैका लागि प्रेरणाको पात्र बनेकी छन् । मह र मौरीको घार बेचेर वार्षिक १५ लाखसम्मको कारोबार गर्दै आएको उनले बताइन् । त्यसमध्ये सबै खर्च कटाएर वार्षिक ७ लाखसम्म बचत हुने गरेको उनले सुनाइन् । यो सिजनमा उनीसँग १० क्विन्टल मह स्टक छ । उनीसँग तोरी र जंगलको मह छ । तोरीको मह छ सय तथा जंगलको मह प्रतिकेजी एक हजार रुपैयाँसम्म बेच्ने गरेको उनले बताइन् । उनको मह स्थानीय बजारहरूमै खपत हुने गरेको छ । ‘पहिला नक्कली महले हामीलाई असर पुगेको थियो । तर, अहिले त्यस्तो समस्या छैन,’ उनले भनिन्, ‘उपभोक्ताहरूले सक्कली मह चिन्न थालिसकेकोले मेरो मह स्थानीय बजारमै खपत हुने गरेको छ ।’

सुरुवाती दिनमा उनले मौरी चरनमा निकै सास्ती खेपिन् । ‘मौरी चरनमा लाने ठाउँ नै थिएन । कसैको बारीमा लादा फल फल्दैन भनेर मौरी चराउन दिदैन थिए,’ उनले सुनाइन्, ‘तर अहिले अवस्था फेरिएको छ । तोरीबारी, आँपघारी, लिचीघारीमा मौरी चराउँदा कसैले केही भन्दैन । यसले पनि मौरी पालनमा थप उत्साह थपिएको छ ।’ सामान्यतया मौरीपालन पेसा पुरुषले गर्ने चलन छ । तर, गाउँमै पहिलो पटक गोमादेवी एक्लैले मौरीपालन गरेर हासिल गरेको उन्नतिले अन्य महिलाका लागि मार्गदर्शन बनेको छ । १२ वर्षसम्म विदेशमा रोजगारी गरेर फर्किएका उनका श्रीमान् गंगाराम अहिले गोमादेवीको सक्रिय सहयोगी बनेका छन् । उनले पत्नीको पेसाबाट आफू खुसी रहेको बताए । ‘उनको पेसाबाट राम्रै आम्दानी भइरहेको छ । छोराछोरीलाई राम्रो शिक्षा दिन, घर घडेरी जोड्न तथा घरव्यवहार चलाउन राम्रो सहयोग पुगेको छ,’ गंगारामले भने, ‘सधैं विदेश बसेर हुँदैन । त्यसैले श्रीमतीले थालेको पेसालाई सघाउन म घर फर्किएँ ।’

महिला भएर मौरीपालन पेसालाई एक्लो प्रयास र मेहनतमा यहाँसम्म ल्याइपुर्‍याए पनि राज्यले कुनै सहयोग नगरेकोप्रति उनले खिन्नता प्रकट गरिन् । ‘महलाई आधुनिक रूपमा प्रशोधन गरेर विदेश पठाउन सकियो भने थप आम्दानी गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘सरकारसँग प्रशोधन मेसिन मागिरहेको छु । अहिलेसम्म मेरो आवाज कसैले सुनेका छैनन् ।’ उनले अझैसम्म पानी उमालेर मह प्रशोधन गर्नु परिरहेको बताइन् । महलाई खुला र स्थानीय रूपमा लेभलिङ गरेर स्थानीय बजार, सहकारी तथा दूध डेरीहरूमा बेच्ने गरेको सुनाइन् । उनले उर्लाबारी क्षेत्रमा आफूसहित आधा दर्जन किसान मौरीपालन पेसामा आबद्ध रहेकाले यस क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरीपालन पकेट क्षेत्र घोषणा गर्नुपर्ने माग गरिन् ।

कृषि समूहबाट आत्मनिर्भर बन्दै
धनकुटा– नगरपालिका ४ माघाकी कालिमाया आठपहरिया आफ्नै गाउँमा गठन गरेको महिला कृषि समूहको सहयोगमा तरकारी खेतीबाट फाइदा लिइरहेकी छन् । स्थानीय महिलाको पहलमा गठन गरिएको हाङुवा महिला कृषि समूह मार्फत बिउ, मल र सिँचाइ सुविधा मिलेपछि उनी आत्मनिर्भर बनेकी हुन् ।

नगरपालिका ४ वडा कार्यालयमार्फत कृषि समूहलाई तरकारी तथा च्याउ खेतीका लागि सहयोग जुटेपछि स्थानीय महिलाको आर्थिक उपार्जन वृद्धि हु‘दै गएको उनले बताइन् । ‘विगतमा मल, बिउ र सिँचाइ अभावमा चाहेर पनि तरकारी खेती गर्न सकेको थिइनँ’, आठपहरियाले भनिन्, ‘आखिर हाम्रै पहलमा संगठित भएपछि केही गर्छु भन्नेका लागि चिन्ता लिनु नपर्ने भएको छ ।’

त्यसो त आठपहरिया सहित अन्य अधिकांश महिला तरकारी तथा च्याउ खेतीमा आकर्षित बनेका छन् । उनीहरू चार वर्ष पहिलेदेखि संगठित बनेका हुन् । १३ जना महिलाको पहलमा गठन भएको कृषि समूहले अघिल्लो महिना मात्रै आफ्नै बैठक घर समेत निर्माण गरिएको छ । तरकारी खेती अथवा अन्य कामका लागि सामान्य व्याज दरमा समूहले ऋण उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष दिलकुमारी राईले बताइन् । अध्यक्ष दिलकुमारी सहित केही महिलाले त सामूहिक रूपमा व्यावसायिक च्याउ खेती समेत गर्दै आएका छन् । समूहको पहलमा आवश्यक पर्ने मल, बिउ, प्लास्टिक, पराल लगायतका बस्तु नि:शुल्क उपलब्ध भएको सम्लग्न महिलाले बताए । यसैगरी स्थानीय इन्द्रकुमारी आठपहरियाले पनि महिला समूहको पहलमा आफू तरकारी खेतीमा संलग्न भएको बताइन् । विगतमा सिँचाइ अभावमा बारीमा उब्जाउ हुन नसकेको उनले जानकारी दिइन् । त्यस बेला बजारबाट तरकारी किन्नु पर्दा समस्या पर्ने गरेको उनले सुनाइन् ।

प्रकाशित : चैत्र ७, २०७४ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?