कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ग्रामीण सडकले आर्थिक गतिविधि बढाउँदै

मोराहाङ (तेह्रथुम) — मेन्छ्यायाम गाउँपालिकाको केन्द्र रहेको मोराहाङलाई सडक सञ्जालले जोडेपछि केन्द्र वारीपारीका गाउँमा आर्थिक गतिविधि बढेको छ । जिरीखिम्ती बजार हुँदै निर्माण भएको सडकले मोराहाङ-सम्दु जोडेपछि बीचका गाउँमा आर्थिक गतिविधि बढेको हो । 

साना सवारी गाउँ भएर गुड्न थालेका छन् । गाउँमा उत्पादन भएका कृषि उत्पादन ट्याक्टरले बजारसम्म ल्याउन थालेको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए । सवारी सञ्चालनमा आएपछि गाउँमै खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा सजिलो भएको छ ।


ग्रामीण कृषि सडक कार्यक्रम अन्तर्गत तत्कालीन जिविसले विगत लामो समय निर्माण गरिरहेको यो सडकलाई बाह्रै महिना सवारी संचालन गर्न गाउँपालिकाले काम गरिरहेको जनाएको छ । यसअघि जिरीखिम्ती बजारदेखि ढाकरमा समान बाेकेर गुजारा चलाउदै आएका गाउँलेको सामान गाडीले गाउँसम्मै ल्याउन थालेको छ ।


‘गाडी आएपछि धेरै सजिलो भएको छ’ स्थानिय सुजता भट्टराईले भनिन् । गाडीले घरमै समान ल्याईदिन थालेपछि भाँडा वर्तनको पसल सुरु गरेको उनले बताईन् । यो सडकमा सवारी गुढ्न थालेपछि गाउँलेले आफ्नो कृषि उत्पादन पनि महंगोमा विक्री गर्न पाएका छन । गाउँमा उत्पादित वस्तुको मुल्य बढेको छ भने वाहिर बाट ल्याउनु पर्ने समानको मूल्य सस्तीएको छ ।


वर्षौको मिहिनेतपछि निर्माण भएको यो सडकले यस क्षेत्रका आम्वुङ, मोराहाङ, श्रीजुङ, पौंठाक, सम्दु र खाम्लालुङलगायत गाउँका वासिन्दालाई फाइदा पुर्‍याएको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङले बताए । खापुङ मोराहाङका स्थायी वासिदा हुन् ।


‘सडकसंगै सवारी आएपछि ढुवानी भाडा सस्तो भएको छ’ स्थानीय गौखुरी आमा समूहकी अध्यक्ष पुष्पा गौतमले भनिन् । यसअघि प्रतिकिलो ६ रुपैयाँका दरले भरीयालाई बाेकाएर ल्याउदै आएको सामान गाडीले प्रतिकिलो तीन रुपैयाँमा गाउँमै झारीदिन्छ । गाडी चल्न थालेपछि प्रति क्वीन्टल चामलमा ३ सय रुपैयाँ सस्तो भएको स्थानिय विनिता गौतमले बताइन् ।


गाउँमा गाडी आईपुगेपछि किसानले उत्पादन गरेको अदुवा, अम्लीसो, आलु, साग, अलैची, दुध तथा काठका गोलिया समेतले राम्रो मुल्य पाएको छ । पहिले आफूले मात्र प्रयोगमा ल्याउने यी वस्तु अहिले दैनिकजसो पूर्वी तराईका मुख्य बजार पुग्ने गरेका छन । ‘अब गाउँलेको जीवनस्तर पनि माथी उठ्छ’ गाउँपालिका अध्यक्ष खापुङले भने । गाडी आउन थालेपछि गाउँका बीचमा स–साना बजारहरु स्थापना भएका छन् । गाउँमा शुरु भएका बजारमा पूर्वी तराईदेखिका व्यापारीहरु समेत आउन थालेका छन् ।

प्रकाशित : चैत्र ७, २०७४ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?