३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फास्टट्रयाक निर्माण प्राथमिकतामा

यो सडक स्तरउन्नती भए मेची राजमार्ग भन्दा आधा छोटो दुरीमा झापाको विर्तामोड पुग्न सकिन्छ
विप्लव भट्टराई

इलाम — सदरमुकामबाट छोटो दूरीमा झापा पुग्ने सक्ने गरी सडक निर्माण गर्न इलाम नगरापलिकाले चासो देखाएको छ ।

फास्टट्रयाक निर्माण प्राथमिकतामा

मेची राजमार्गको विकल्पको रूपमा लिइएको यो सडकको ट्रयाक खुलाउन नगरपालिकाले लगानीसमेत गरेको छ । यो सडक स्तरउन्नति भए मेची राजमार्गभन्दा आधा छोटो दूरीमा झापाको विर्तामोड पुग्न सकिन्छ ।

सदरमुकामबाट ७७ किलोमिटरको दूरीमा झापाको चारआली पर्छ । चारआलीबाट विर्तामोड पुग्न पूर्वपश्चिम राजमार्गको ६ किलोमिटर दूरी पार गर्नुपर्छ । सदरमुकामबाट सिधा सडक भए करिब ३७ किलोमिटरमा मेचीकै व्यापारिक केन्द्रका रूपमा विकास भएको विर्तामोड पुग्न सकिन्छ ।

इलाम सदरमुकामको गोलाखर्क भञ्ज्याङबाट सोयाक, चिसापानी, दानाबारी, झापाको खुदुनाबारी र शनिश्चरे हुँदै विर्तामोड पुग्न सकिन्छ । सदरमुकाममा पहिलो पटक दानाबारी, चिसापानी, राँगापानी, भञ्ज्याङहुँदै आएको थियो । माई नगरपालिका र इलाम नगरपालिकासहित उत्तरी जिल्लाको ठूलो भूगोलमा यो सडक खुले प्रत्यक्ष प्रभाव पार्नेछ ।

चिसापानी र दानाबारी क्षेत्रको २१ किलोमिटर सडक ग्रामीण पुर्न निर्माण तथा पुन:स्थापना आयोजनामार्फत ग्राभेल भएको छ । प्रस्तावित फास्टट्रयाकलाई गोदक खण्डको सट्टा सोयाक भएर चिसापानीमा जोड्ने योजना छ ।

चिसापानी र सोयाकबीचको माइखोलामा पक्की पुल निर्माण भएको र सो क्षेत्रमा उन्नति परियोजनामार्फत देउमाई नगरपालिकाको गाग्रेभञ्ज्याङसम्मको सडक ग्राभेल गर्ने कार्य भइरहेको छ । भञ्ज्याङवाट सोयाक चिसापानीको बेलासे पुलसम्मको दूरी ६ दशमलव २ किलोमिटर छ । यो सडकको पनि ट्रयाक खुलिसकेको छ ।

‘तराई पुग्न छोटो दूरी मात्र नभएर इलाम नगरपालिकासहित अन्य क्षेत्रको आर्थिक उन्नतिका लागि पनि यो सडक अत्यावश्यक छ,’ नगर प्रमुख महेश बस्नेतले भने, ‘हामीले यो सडकलाई पहिलो प्राथमिकतामा राखेर निर्माणमा लगानी पनि गरेका छौं साथै केन्द्र र प्रदेश सरकारसमक्ष माग पनि गरेका छौं ।’ यो सडक खुले यहाँ उत्पादित नगदेवालीसहित सागसब्जी र फलफूलको बजार प्रवर्धनमा पनि सघाउ पुग्नेछ । पहिलो पटक तराईसँग जोडिएको छोटो मार्ग प्राथमिकतामा नपर्दा इलामवासीले लामो दूरी पार गरेर मात्र तराई झर्नुपर्ने बाध्यता भएको हो ।

सडकको ट्रयाक खोल्नकै लागि यो वर्ष नगरपालिकाले ४० रुपैयाँ खर्च गरिसकेको छ । थप १५ लाख बजेट पनि भर्खरै विनियोजन गरेको नगरपालिका कार्यालयले जनाएको छ । त्यस्तै सांसद विकास कोषको १५ लाख पनि लगानी हुनेछ । यसअघि पनि सांसद विकास कोष, जिल्ला विकास समिति, नगरपालिकालगायतले सडक खुलाउन लगानी गरेका थिए । यो सडकलाई १२ महिना नै मोटर सञ्चालन गर्ने बनाउन पुवाखोला, सडकेलगायत खोलामा पक्की पुलको आवश्यकता छ । सडक कालोपत्रे भए पाँचथर र ताप्लेजुङका बासिन्दालाई पनि मेची राजमार्गको लामो फन्को काट्नुपर्ने बाध्यता हट्नेछ ।

प्रकाशित : चैत्र ८, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?