‘फावाखोला जलविद्युत् एक वर्षमा’

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङसहित याङवरक र सिरिजंगा गाउँपालिकालाई लक्षित गरी निर्माणाधीन मध्य फावाखोला जलविद्युत् एक वर्षमा सक्ने गरी काम बढाइएको छ ।

‘फावाखोला जलविद्युत् एक वर्षमा’

गौरा कन्स्ट्रक्सन प्रालिलाई आठ महिनामा बाँकी निर्माणको काम सक्नेगरी जिम्मा लगाइएको फावाखोला सहकारी संस्थाका अध्यक्ष अमर श्रेष्ठले बताए । श्रेठका अनुसार इन्टेक र पावरहाउस बनाउने काम बाँकी रहेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन विद्युत्को क्यानल बनाउन अब एक सय ६० मिटर बाँकी छ । छ सय मिटर निर्माणको काम सम्पन्न भएको सचिव धर्मप्रसाद पौड्यालले बताए ।

१५ करोड लागतमा निर्माण हुने आयोजनाका लागि बाँकी निर्माणमा गौरालाई १० करोड ८१ लाखमा जिम्मा दिइएको हो । पाँच वर्षअघि सुरु भएको आयोजनामा यसअघि डोलिडार नेपालको दुई करोड १४ लाख, सहकारीको एक करोड ५० लाख र सिभिल बैंक फिदिम पाँचथरबाट लिइएको एक करोड ५० लाख रुपैयाँ खर्च भइसकेको श्रेष्ठले बताए ।

पावरहाउससम्म पुग्न ४२ लाख रुपैयाँ लागतमा फावाखोलामा मोटरबाटो निर्माण गरिएको छ । सामान ढुवानीका लागि सडक विस्तार तथा मर्मत गरिएको आयोजनाले जनाएको छ ।

स्थानीयका लागि पहुँच हेरी पाँच हजारदेखि सेयर हाल्ने व्यवस्था मिलाइएको र त्यो क्रम अहिले पनि जारी रहेको श्रेष्ठले बताए । जिल्लावासी र जिल्लाबाहिर भएकालाई पनि इच्छा भए सेयर हाल्न खुला गरिएको श्रेष्ठ बताउँछन् ।

यो विद्युत् सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोक, डुम्रिसे, याङवरक गाउँपालिकाको सिकैंचा, थेचम्बु, फुङलिङ नगरपालिकाको फावाखोलामा प्रयोग गर्ने उद्देश्य रहेको छ । मिनिग्रिडको अवधारणा अनुरूप ससाना आयोजनालाई केन्द्रीय प्रसारण लाइनमा जडानको कामसमेत भएकाले सदरमुकाम फुङलिङसँग पनि जडान गर्न सकिनेगरि व्यवस्था मिलाइएको सहकारीले जनाएको छ । सहकारीद्वारा उत्पादन गरिने यो जिल्लाको पहिलो विद्युत् आयोजना पनि हो ।

फुङलिङ नगरपालिका ११ फावाखोला र सिरिजंगा गाउँपालिका ३ सिकैंचाको सिमाना भएर बग्ने फावाखोलाबाट थेचम्बुमा पाँच मेगावाट विद्युत् यसअघि नै उत्पादन गरिएको छ ।

प्रकाशित : चैत्र ८, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?