बलात्कार पीडितलाई सहयोग 

प्रदीप मेन्याङ्बो

धरान — बलात्कारपछि गर्भवती बनेकी महिलालाई शनिबार सुत्केरी खर्च उपलव्ध गराएको छ । 

बलात्कार पीडितलाई सहयोग 

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका रक्तदान अभियानमा विश्वव्यापी चर्चा कमाएका अर्जुनप्रसाद मैनालीले पठाएको २० हजार नगद बलात्कार पीडित महिलालाई उपलव्ध गराएको हो ।


कान्तिपुरको अनलाइन संस्करणमा गर्भवती महिलाको हत्या प्रयास बारे समाचार देखेपछि मैनालीले सुत्केरी खर्च पठाएका हुन् ।


करिब नौ महिनाअघि चक्रघट्टीका दुई युवकले पटकपटक बलात्कारको कारण गर्भवति हुन पुगेपछि पोल खोलिने डरले बलात्कारीहरुले मोरङ्को बेलबारी क्षेत्रको भाउन्ने जंगलमा झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका थिए ।


रुखमा झुण्ड्याउने प्रयास गर्दा गर्दै जंगलमा घांस दाउरा खोज्न आउने स्थानीय महिलाहरुले देखेपछि दुई युवक भागेका थिए । ती महिलाहरुले प्रहरीलाई जानकारी दिएपछि बेहोस अवस्थामा गत फागुन २८ गते उद्धार गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमा भर्ना गरेर मृत शिशु निकालिएको थियो ।


अस्पतालले गत मंगलबार डिस्चार्ज गरेपछि घरैमा रहेकी पीडित महिलाका बुवालाई बराहक्षेत्र नगरपलिकाका प्रमुख निलम खनालले सुत्केरी खर्च हस्तान्तरण गरेका हुन । बलात्कार पीडित महिलाका दुई छोरी र एक छोरा छन् । छ वर्षदेखि उनका पति सम्पर्कविहिन छन् । उनीहरु अर्काको घरमा काम गरेर लामोसमयदेखि जिविका चलाउदै आएका छन् ।


यसैबीच पीडित परिवारले बलात्कारमा संलग्नलाई पक्राउ माग गर्दै सुनसरीको महेन्द्रनगर इलाका प्रहरी कार्यालय र मोरङ्को बेलबारी इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले पिडित महिलाको फुपूको छोरीलाई अनुसन्धानकालागि भन्दै दुइपटक प्रहरीले लगेको थियो ।


पीडितका बुवाले बलात्कारीहरुलाई यतिका दिनसम्ममा पक्राउ नगरेकोमा आश्चर्य लागेको बताए ।बराहनगरपालिका प्रमुख खनालले बलात्कारीलाई कुनै पनि हालतमा छाड्न नहुने बताए । उनले भने, ‘यो घट्नाबारे मलाई पहिला जानकारी थिएन । बलात्कारी खोजी गरेर तत्काल कारवाही गर्न प्रहरीलाई दवाव दिनुको विकल्प छैन । यस्ता जघन्य अपराध गर्नेलाई हदैसम्मको कारवाही गर्न म पहल गर्नेछु ।’

प्रकाशित : चैत्र १०, २०७४ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?