२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

तीन हिमाली जिल्ला इन्टरनेटमा जोडिँदै

वर्षदिनमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुका सबै वडामा पुग्ने

ताप्लेजुङ/संखुवासभा — एक नम्बर प्रदेशका तीन हिमाली जिल्लाका सबै वडा इन्टरनेटमा जोडिने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु जिल्लाका सबै वडामा इन्टरनेट पुर्‍याउने भएको हो । तर त्यसका लागि एक वर्ष पर्खनुपर्नेछ ।

इन्टरनेट विस्तारका लागि काठमाडौंको मर्कनटाइल प्रालि दरबार मार्गलाई जिम्मेवारी दिइएको छ । २० करोड रुपैयाँको लागतमा विस्तार हुने इन्टरनेट वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थालाई दिइने छ ।

निर्धारित समयमै काम सम्पन्न गर्न सर्भे गरिसकिएको र आवश्यक उपकरण भित्र्याउने काम भइरहेको इन्टरनेट पुर्‍याउने जिम्मेवारी लिएको मर्कन्टाइलका प्रबन्ध निर्देशक आमोदप्रताप रानाले बताए । रेडियो रिपिटर टावर निर्माण गरेर इन्टरनेट विस्तार गरिने छ । सिन्धुलीबाट पूर्वका १० स्थानमा टावर बनाएर मात्रै पुर्‍याउन सकिने रानाले बताए । टावर राख्ने र लिंक जोड्ने स्थानको सर्भे भइसकेको प्रालिले जनाएको छ । टावरहरूमा लिंक जोड्दै आउनुपर्ने भएकाले अब एक वर्षको समय लाग्ने प्रालिले जनाएको हो । ताप्लेजुङमा एक नगरपालिका, आठ गाउँपालिका र ६१ वडा कार्यालय छन् ।

ताप्लेजुङमा चीनसँग फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोला, मिक्वाखोला गाउँपालिका ५ पापुङ र भारतसँग सिदिङवा गाउँपालिका १ कालिखोला र ७ नम्बर वडा सुरुमखिम डोडिएका छन् । कम्पनीले यी सबै वडामा पुर्‍याउने बताएको छ । ५६ सामुदायिक र सात वटा संस्थागत विद्यालय रहेको ताप्लेजुङमा ५१ वटा स्वास्थ्य संस्था हरेका छन् । यहाँका सबै निकाय गरी दुई सय स्थानमा इन्टरनेट पुर्‍याउने गरी सम्झौता भएको प्रालिले जनाएको छ । संखुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिकाका ५६ वडा छन् भने ५७ स्वास्थ्य संस्था छन् । चीनसँग सिमाना जोडिएको जिल्लाको किमाथांकासम्म नै इन्टरनेटको पहुँच पुर्‍याउने गरी काम भइरहेको छ ।

विश्वको सर्बोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुका पनि सबै वडा, विद्यालय र स्वास्थ्य संस्थामा पुर्‍याउने प्रालिले जनाएको छ । सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा र पाँचौं अग्लो हिमाल मकालु रहेका यी जिल्ला सदरमुकामबाहिर इन्टरनेटको पहुँच कमै मात्रै पुगेको छ ।

प्रकाशित : चैत्र ११, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?