इटहरीे पृतनाको पोखरीमा दुई सैनिक मृत भेटिए

प्रदीप मेन्याङ्बो

धरान — सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत दुई सैनिकको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३० बर्षीय मदन बिक र दोलखबहादुर चन्द रहेका छन् ।

इटहरीे पृतनाको पोखरीमा दुई सैनिक मृत भेटिए

उनीहरुलाई गएराति करिव १ बजे मृत अवस्थामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । बिक र चन्दको मृत्युको कारण खुलेको छैन । उनीहरुको ठेगाना र सैनिक पद पनि खुलाइएको छैन ।


प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारकालागि भनेर ल्याइपुर्‍याउँदा पृतनाको पोखरीमा डुबेर सिकिस्त भएको बताइएको थियो । सामान्यतया सैनिकहरुलाई पौडी खेल्न सिकाइने भएकाले डुबेर कमैको मृत्यु हुने एक चिकित्सकले तर्क गरे ।


दुवै सैनिकको पोखरीमा डुबेर मृत्यु भएको बताइएपनि अपुष्ट श्रोतका अनुसार राति माछा मार्न प्रयोग गरिएको करेन्टको कारण उनीहरुको घट्नास्थलमा मृत्यु भएको हो । तर पृतनाको पोखरीमा माछा मार्न करेन्ट लगाइरहनु पर्ने जरुरी पनि नदेखिएकाले उक्त घट्ना झन् रहस्यमय बनेको छ ।


सेनाले पृतनाको पोखरीमा राति उनीहरुलाई स्थानीयले अचेत अवस्थामा देखेको जानकारी आएपछि धरानको वीपी प्रतिष्ठानमा पुर्‍याइएको जनाएको छ । पृतनाको पोखरीमा बाहिरबाट राति स्थानीय बासिन्दा जान सक्ने अवस्था नभएकाले स्थानीय बासिन्दाले मृत अवस्थामा देखेको भन्ने तर्क पनि विश्वासिलो नभएको एक प्रहरीले बताए ।


उनीहरुको मृत्युको कारण पोष्टमार्टम र डाएटम टेस्ट पछिमात्र खुल्ने चिकित्सकले बताएका छन् । तर नेपालमा डाएटम टेस्ट गर्ने दक्ष फोरेन्सीक चिकित्सकहरु भएपनि प्रविधि नभएकाले विदेशको फोरेन्सिक ल्यावमा लैजानु पर्ने अवस्था रहेको छ ।

प्रकाशित : चैत्र १३, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?