कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ फिटको खाडलमा नौ दिन, नौ रात तपस्या

दमक — झापाको शिवसताक्षी नगरपालिका १० की विदुषी बृन्दा बराल निरौलाले नौ दिन, नौ रातसम्म भू–तपस्या गरेकी छन् । उनले नौ फिट गहिरो खाल्डोमा निराहार बसी सोमबार तपस्या पूरा गरेकी हुन् ।

नौ फिटको खाडलमा नौ दिन, नौ रात तपस्या

विश्व शान्तिको कामना गर्दै चैत ४ गते बेलुका साढे ५ बजेदेखि भू–तपस्यामा बसेकी थिइन् । तपस्या पूरा भएपछि सोमबार बिहान साढे ७ बजेको साइत पारेर उनी खाडलबाट बाहिर निस्किएकी थिइन् । नौ फिट गहिरो खाडलमा बस्दा आफूलाई ईश्वरीय शक्ति प्राप्त भएकाले भू–तपस्या सफलताका साथ पूरा गर्न सकेको उनले बताइन् ।

भू–तपस्याबाट निस्किएपछि उनलाई दर्शन गर्नेको ठूलो भीड लागेको थियो । भू–तपस्यामा बसेको सुनेपछि उनलाई दर्शन गर्न टाढाटाढाबाट आएका दर्शनार्थीहरू आइतबार बेलुकादेखि नै तपस्या स्थलमा बसेका थिए ।

बराल स्थानीय दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष समेत हुन् । धार्मिक नदी कनकाईको किनार छेउमा विश्व शान्ति तथा कन्या गुरुकुल, निराश्रित महिला तथा अनाथ बाल आश्रम, योग साधना भवन र राधाकृष्ण मन्दिर निर्माणार्थ आफू भू–तपस्यामा बसेको उनले बताइन् । चैत ४ गते उक्त स्थानमा आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायज्ञको समेत आयोजना गरिएको थियो ।

नौं फिट खाडलमाथि बाँस र प्लाइउड लगाएर प्लाष्टिकले छोपिएको थियो । त्यसमाथि माटो राखेर जमरा रोपिएको थियो । उक्त जमरा महायज्ञमा प्रयोग गरिएको थियो । जमिनको पूर्वतिरबाट भू–तपस्या गर्न खाडलभित्र पसेकी बराल सोमबार दक्षिणतिरबाट बाहिर निस्किएकी थिइन् ।

बरालले यसअघि पनि दुई पटक सफलताका साथ भू–तपस्या गरेकी थिइन् । उनले पहिलोपटक ०६३ सालको पुसमा ललितपुरको गोदावारी र ०६६ को चैतमा ताप्लेजुङमा पनि भू–तपस्या गरेकी थिइन् । छोरीले माटोमुनि बसेर नौ दिन, नौं रातसम्म कठिन तपस्या पूरा गरेर निस्किएपछि उनका बुबाआमाले खुसी व्यक्त गरे ।

‘यो तपस्या सानोतिनो हिम्मतले सम्भव छैन । भगवानको आशीर्वादले तपस्या पूरा भएकोमा हामी साह्रै खुसी छौं,’ आमा बुद्धिकुमारी निरौलाले भनिन् । ४९ वर्षीया विदुषी बरालका श्रीमान् २१ वर्षदेखि बेपत्ता छन् । एक छोरीकी आमा बरालले आफू डा. योगी विकासानन्दको चेला भएको बताइन् ।

प्रकाशित : चैत्र १३, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?