२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

विर्तामोड–भद्रपुर सडक चार लेनको बन्ने

अर्जुन राजवंशी

बिर्तामोड (झापा) — बिर्तामोड–भद्रपुर सडक चार लेनको बन्ने भएको छ । सडक निर्माणका लागि डिभिजन सडक कार्यालय दमकले टेन्डर आह्वान गरेको छ ।

विर्तामोड–भद्रपुर सडक चार लेनको बन्ने

उक्त सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३६ करोड रुपैयाँ विनियोजन गरेको डिभिजन कार्यालयका इन्जिनियर माधव पौडेलले जानकारी दिए । उनले सडक निर्माणको काम चालु आर्थिक वर्षबाटै सुरु गर्ने बताए ।

‘टेन्डर भर्ने समय सकिन लागेको छ । ठेक्का सम्झौता गरेलगत्तै काम सुरु गर्नेगरी हामी लागिरहेका छौं,’ इन्जिनियर पौडेलले भने,‘जिल्लाको अति महत्वपूर्ण र सडकको अधिकांश स्थान भत्किएकोले चाँडै बनाउनुको विल्कप छैन ।’

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको सडक खण्ड भत्किएको वर्षाैं बिते पनि बन्न सकेको छैन । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा तीन वर्ष अघि नै उक्त सडक निर्माणको ठेक्का लागेको थियो । तर, ठेकेदार कम्पनी थोदुङ–लोहनी–सिंह एनड ब्रदर्श जेभीले सम्झौता बमोजिम काम नगरेपछि सडक निर्माण थप अन्यौल बनेको थियो ।

बिर्तामोड–भद्रपुर सडक खण्डको अधिकांश भाग भत्किएको भए पनि पहिलो चरणमा भने बिर्तामोडदेखि ४ किलोमिटर सडक मात्रै चार लेनको बन्न लागेको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव सिवाकोटीले जानकारी दिए ।

गरामनी बजार नजिकसम्म चार लेनको सडक बन्न लागेको उनले बताए । ‘हामीले यो सडकलाई नगरपालिकाभित्रको स्मार्ट सिटीको अवधारणअन्तर्गत चार लेनको बनाउन लागेका हौं’ मेयर सिवाकोटीले भने, ‘बिर्तामोडदेखि ४ किलोमिटरसम्मको सडक खण्ड अति व्यस्त र धेरै भत्किएकाले बनाउनैपर्ने भएको छ ।

त्यसैले यसलाई मजबुद र फराकिलो बनाउन लागेका हौं ।’ उनले सडक निर्माणका लागि डिभिजन सडक कार्यालयका प्रमुख राजेशकुमार यादव र आफ्नो संयुक्त पहलमा निरन्तरको प्रयासबाट बजेट पार्न सफल भएको दाबी गरे । डिभिजन प्रमुख यादवले ४ किलोमिटर सडक खण्ड फुटपातसहितको चार लेनको हुने बताए । उनले भने, ‘दायाँ–बायाँ दुवैतर्फ एक मिटरको फुटपातसहित १४ मिटरको बाटो बन्नेछ ।’ उनका अनुसार ढल निकाससहितको ड्रेन निर्माण हुनेछ ।

‘बिर्तामोड नगरपालिकाभित्रको सबैभन्दा व्यस्त सडक भएकाले कम्तीमा पनि उक्त सडकको चार किलोमिटर चार लेनको बनाउन लागेका हौं’ उनले थपे, ‘त्यति भयो भने, ‘बिर्तामोड क्षेत्रको अस्तव्यस्तालाई केही हदसम्म कम गर्न सहयोग पुग्छ ।’ उक्त सडक १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौताको तयारी गरिएको छ । ५ सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरेर सडक निर्माण गर्न लागेको इन्जिनियर पौडेलले बताए ।

निर्माण सम्पन्न भएपछि बिर्तामोड मुक्तिचोकदेखि भद्रपुर बस स्टेनडसम्मको सडकको बीच भागमा बोरिएर राखिनेछ । सडकको अन्य खण्डमा भने पेन्टिङ गरिने पौडेलले बताए । मुक्तिचोकदेखि मेची आँखा अस्पतालसम्मको सडक खण्डको अधिकांश भाग भत्किएको छ । उक्त सडक सदरमुकाम भद्रपुर तथा जिल्लाको दक्षिण–पूर्वी गाउँपालिकाहरू कचनकवल, हल्दिबारीलाई पूर्वपश्चिम राजमार्गसंग जोड्ने मुख्य सडक हो । सडक खाल्डाखुल्डी र ढल निकासको व्यवस्था नहुँदा प्रत्येक बर्खामा बिर्ताबजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।

प्रकाशित : चैत्र १३, २०७४ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?