१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गुराँसको बगैंचा बनाइने

संखुवासभा — राष्ट्रिय फूल लालीगुराँसका प्रजाति समेटेर गुराँस बगैंचा बनाइने भएको छ । गुराँसको राजधानी मानिने पूर्वी नेपालका संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रलाई समेटेर मादी नगरपालिकाले बगैंचा निर्माण सुरु गर्ने भएको हो ।

गुराँसको बगैंचा बनाइने

करिब ३० करोडको लागतमा बगैंचा निर्माण गर्ने लक्ष्य राखिएको मेयर विदुर लिङथेपले बताए । उनका अनुसार निर्माणका लागि सहयोग जुटाउने काम भइरहेको छ । गुरुयोजना निर्माण भइरहेको छ, उनले भने, ‘गुराँस नर्सरीका लागि नगरपालिकाले ३० लाख छुट्याउने छ ।’ दुर्गभ र मासिन लागेको गुराँसको नर्सरी लगाउने तयारी नगरपालिकाले गरेको छ ।

गुरास संरक्षण नीति बनाएर सबै प्रजातिका गुराँस नर्सरीसमेत राख्ने गरी बगैंचा निर्माण गर्न लागिएको उनको भनाइ छ । ‘गुराँसको अध्ययन, अवलोकन र अनुसन्धान गर्न पाउने लक्ष्यसाथ नगरपालिकाले बगैंचा निर्माण गर्न लागेको हो । यो वर्षको प्रथम नगरसभाबाट छलफल गरी बगैंचा र पार्क गर्ने तयारी छ,’ उनले बताए । गुराँसको प्रयोग व्यावसायिक रूपमै चिया, औषधि र जुसमा हुँदै आएको छ ।

नगरपालिकाले बगैंचा निर्माण गर्न अध्ययन सुरु गरी विज्ञहरूको सुझाव र सल्लाहअनुसार काम अघि बढाएको छ । विश्वमा पाइने ४२ प्रकारका गुराँस प्रजातिमध्ये नेपालमा ३२ प्रजाति रहेको अध्ययनले देखाएको छ । यीमध्ये तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छ ।

पर्यावरणीय हिसाबले उपयुक्त भएको पाएपछि मादी नगरपालिकाले समन्वय गरी धर्मदेवी र चैनपुर नगरपालिका, तेह्रथुमको लालीगुराँस, मेन्छ्याम गाउँपालिका, ताप्लेजुङको मैयाखोला गाउँपालिकाको सहकार्यमा बगैंचा निर्माण गर्न लागेको हो ।

टीएमजे क्षेत्रमा तीन वटै जिल्लाको एक सय ६० वटा सामुदायिक वन समूहले संरक्षण गर्दै आएको छ । बगैंचा स्थापनापछि आगामी वर्षदेखि नर्सरी सुरु गरी अन्यत्र बिक्रीवितरण गरिने उनले बताए । फूलका रूपमा विदेशमा निर्यात हुँदै आए पनि यसको अध्ययन अनुसन्धान अभाव छ, उनले भने, ‘लोप भएकाले प्रवद्र्धन गर्न जरुरी छ ।’

राष्ट्रिय फूल भएकाले गुराँसको महत्त्व छ, यसको अन्य प्रयोगका लागि अध्ययन, अनुसन्धान गर्न बगैंचा अभाव रहेकाले मादीले नेतृत्व गरेको छ, उनले भने, ‘बगैंचा स्थापना गर्न सुरु गरेको हो ।’ समुदायले संरक्षण, संवद्र्धन र सदुपयोग गर्दै आएकाले वन समूहसँग थप छलफल गरी बगैंचा निर्माणसँगै संरक्षणका कार्यक्रमसमेत सुरु गर्ने उनले बताए । गुराँस वन मात्रै रहेको तीनजुरे मिल्के जलजले क्षेत्रको वनलाई संरक्षित वन क्षेत्र घोषणा गर्ने तयारी सरकारले गरे पनि पूरा हुन सकेको छैन ।

१० कबुलियती र ८३ सामुदायिक वनलाई सरकारले संरक्षित वन घोषणा कार्यक्रम अघि बढाएको थियो । भौगोलिक अवस्थालाई हेर्दा एक हजार मिटरदेखि ६ हजार मिटरसम्म गुराँस पाइने गरेको छ । गुराँसको तथ्यांक र जानकारीसहितको बगैंचा जरुरी रहेको उनले बताए ।

प्रकाशित : चैत्र १३, २०७४ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?