२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

खाली बोतल व्यवस्थापन चुनौती

ओखलढुंगा — सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा बियर लगायतका सिसाजन्य खाली बोतलको व्यवस्थापन प्रमुख चुनौती बनेको छ । ‘ग्रिन एन्ड क्लिन नगरपालिका’ बनाउने उद्देश्य भए पनि फोहोरमैलासँगै जथाभावी फालिएका बोतलले नगरक्षेत्र कुरुप बनेको छ ।

खाली बोतल व्यवस्थापन चुनौती

यही समस्याको कारण केही बियर कम्पनीहरूले खाली बोतल संकलन गरेर नउठाएमा आगामी दिनमा बियर बिक्री वितरणमै रोक लगाउने चेतावनी नगरपालिकाले दिएको छ । सबैभन्दा बढी बियर भित्र्याउने ‘गोर्खा ब्रुअरी प्रालि’लाई अनुरोध गरेपछि कम्पनीले कवाडी पठाएर चैतभित्र आफ्नो कम्पनीको खाली बियरको बोतल उठाउने सहमति जनाएको थियो ।

तर सहमति विपरीत बोतल उठाउने काम नगरी लगातार बियर बिक्रीका लागि ल्याएको भन्दै आइतबार मात्रै नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले डिलरको गोदाममा ताला लगाएका छन् । उनले नगरपालिका र कम्पनी दुवैको तर्फबाट ए–एउटा ताला लगाउँदै खाली बोतल उठाएपछि मात्र बियर बिक्रीका लागि गोदाम खोल्ने गरी ताला लगाएको बताए ।

‘हामीले बियर बिक्री वितरणमै रोक लगाउँछौं भनेका छैनौं । तर बियर र अन्य मदिराजन्य पदार्थ ल्याइएको खाली बोतलहरूको व्यवस्थापन गर्नमा सम्बन्धित कम्पनीहरूको पनि ध्यान जानुपर्छ भन्ने हो,’ मेयर शेर्पाले भने, ‘यहाँ तराईतिर वा सहरमा जस्तो खाली बोतल खोज्ने कवाडीवाला आउँदैनन् । बिक्री भएको बोतल सबै थुपारेर राख्ने कारणले नगरक्षेत्र नै कुरुप भइसक्यो ।’

सम्बन्धित बियर तथा मदिरा कम्पनीहरूले यस विषयमा गम्भीरतापूर्वक सहयोग गर्नुपर्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाभित्र फोहोर फाल्ने ल्यान्डफिल्ड साइट समेत टुंगो नलाग्दा एकातिर फोहोरमैला व्यवस्थापन गर्न समस्या भएको छ । सार्वजनिक जमिन नहुनु र व्यक्तिको जमिन समेत उपयुक्त नभेटिँदा फोहोरमैला व्यवस्थापनमा समस्या भएको मेयर शेर्पाले बताए ।

जिल्ला सदरमुकाम समेत रहेको सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा ‘गोर्खा बु्रअरी प्रालि’ ले मात्रै वार्षिक ७० हजार कार्टुन बियर भित्र्याउने गरेको मेयर नाम्गेल जाङबुले बताए । यसभित्र करिब नौ लाख बोतल हुने गर्छन् । अन्य मदिरा र बियरको गरी वर्षेनी दसौँ लाख बियरको बोतल थुप्रिने भएकाले ध्यानाकर्षण गराउन पनि नगरपालिकाले कडाइ गरेको हो ।

माथ्लो सोलु अर्थात् खुम्बुक्षेत्रमा भने सिसाजन्य बोतलका मदिरा लान निषेधित छ । त्यहाँ क्यान बियर जस्ता पेय पदार्थ मात्र लगिने गरिन्छ । तर तल्लो सोलु क्षेत्रमा भने सिधै यातायातका सवारी साधनहरू पुग्ने भएकाले बोतलका मदिरा र बियर पुग्ने गर्छन् । तर कवाडी सञ्चालकहरू ढुवानी टाढा पर्ने भन्दै यसक्षेत्रबाट खाली बोतल उठाउन मान्दैनन् ।

प्रकाशित : चैत्र १३, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?