पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

इलाम — जिल्लामा आयोजित यो वर्षकै एक मात्र ढाप पोखरी महोत्सवमा पुग्नेहरूको एउटै भनाइ थियो, सडक सहज हुनुपर्‍यो । सदरमुकामबाट २२ किलोमिटर टाढा रहेको यो क्षेत्रमा पुग्न मेचीराजमार्गको ३ किलोमिटर बाहेक बाँकी कच्ची सडक पार गर्नुपर्छ ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

ढाप पोखरीसहित हँगेथाम, चोयाटार, जौवारीलगायत क्षेत्र पर्यटकीय सम्भावना भएर पनि सडकको दुरवास्थाका कारण समस्या छ । महोत्सवको उद्घाटन गर्न पुगेका जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बरालले सडकको स्तरउन्नतिका लागि सक्दो प्रयास गर्ने बताए । तर स्थानीय सरकारको जिम्मामा रहेका त्यस क्षेत्रका सडहरू तत्काल हिउँद र बर्खायाम सञ्चालन हुने अवस्थामा छैनन् ।


सन्दकपुर गाउँपालिकाले पर्यटनलाई मुख्य आधार बनाए पनि सडक लगायतका पूर्वाधार तयार हुन नसक्दा समस्या छ । ‘अवको हाम्रो प्राथमिकता पर्यटकीय क्षेत्रका विकासका लागि पूर्वाधार निर्माण गर्ने हो,’ प्रदेश सभा सदस्य खिनु लङवाले भनिन् ।


नयाँ गन्तव्यका रूपमा विकास भएको पोखरी क्षेत्रमा पनि आवश्यक पूर्वाधार विकास हुन सकेका छैनन् । ‘सिमसारलाई पोखरीका रूपमा विस्तार त गरियो तर पर्यटकीय आर्कषणका रूपमा विकास गर्न थुप्रै समस्या छन्,’ चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका सचिव तिलबहादुर खाम्दाकले भने, ‘महोत्सव आयोजना गर्नुको उद्देश्य पनि सम्भाव्य पर्यटकीय क्षेत्रमा पूवार्धार विकास गर्न सम्बन्धित क्षेत्रको ध्यान जाओस् भन्ने हो ।’


स्थानीयबासीले स्वतस्फूर्त जग्गा प्रदान गरेर विस्तार भएको पोखरीमा ड्याम साइडलाई मजबुत बनाउने, पोखरी बीचको डाँडासम्म पुग्ने पुल निर्माण गर्दै पार्क बनाउने, रिङरोड व्यवस्थित गर्ने, खानेपानी र शौचालयको प्रबन्ध गर्ने, आवश्यक स्थानमा विश्रामस्थल बनाउने, बागबगैंचा निर्माण गर्ने जस्ता कार्य योजनमा रहे पनि अधुरा छन् ।


‘नियमित श्रमदान गरेर सिमसारलाई पोखरीका रूप दिएर पर्यटकीय आर्कषणका रूपमा विकास गरे पनि सरोकारवाला निकायले कहिले महत्व दिएन,’ मेला संयोजन समितिका सदस्य इन्द्र गुरुङले भने, ‘स्थानीय प्रयासले मात्र केही नहुने भएकाले अब मुलुक नयाँ संरचनामा गएकाले केही आशावादी बनेका छौं ।’


पूर्वी इलामको सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिका तर्फबाट जानेहरूको पनि एउटै गुनासो थियो सडक सहज भएन । महोत्सवमा सहभागी बन्न पुगका रोङ गाउँपालिकाका अध्यक्ष सम्शेर राईले सीमावर्ती क्षेत्रका पर्यटन स्थलको विकासमा सरोकारवाला सवै स्थानीय तह लागि पर्नुपर्ने बताए ।


रोङ गाउँपालिकावाट सूर्योदय नगरपालिका हुँदै माइजोगमाई र सन्दकपुर गाउँपालिकाका भारतीय सीमावर्ती क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण छन् । तर पूर्वाधार विकास अभावमा ओझेलमा परेकाले अब स्थानीय, प्रदेश र केन्द्र सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीयको भनाइ छ ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ग्रामिण क्षेत्रमा लुकेका पर्यटकीय स्थलको विकासका लागि सक्दो सहयोग गर्ने बताए । ‘यस क्षेत्रको पर्यटकीय विकाससँगै कृषि उपजको बजारीकरण र आउजाउका लागि फिक्कल, नयाँबजार, प्याङ, जमुना हुँदै बाघखोर जोड्ने रिङरोड जोड्ने सडकलाई प्राथमिकतामा राखिने छ,’ उनले भने ।


जिल्लाका पूर्वोत्तर क्षेत्रमा रहेका पर्यटकीयय स्थलका लागि रिङरोडको आवश्यकता टडकारो छ । यस क्षेत्रका बासिन्दाले तराईसँग यातायात सम्पर्क गर्न पनि सहज हुने भएकाले ट्रयाक खुले पनि स्तर उन्नति हुन नसकेकाले कष्ट झेल्नु पर्ने बताउँदै आएका छन् । ढाप पोखरीसहित सन्दकपुर गाउँपालिकाका मुख्य पर्यटकीय स्थलको विकासका लागि सडक र पर्यटकीय क्षेत्रको गुरुयोजना तयार गरेर आवश्यक कार्यक्रम माग गरिएको सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राईले बताए ।

महोत्सवमा १५ लाख कारोबार

रामनवमीको अवसरमा आयोजित ढाप पोखरी महोत्सवमा १५ लाख रूपैयाँ बढीको कारोबार भएको छ । महोत्सव स्थल आसपास रहेका होटल र पसलहरूमा यो कारोवार भएको हो । चैत्र १० र ११ गते भएको महोत्सवमा स्थानीयले होटल व्यवसाय र स्थानीय उत्पादनको स्टल राखेका थिए । ‘तीन वर्षअघि कोही पनि नआउने यो स्थानमा पोखरी विस्तारसँगै महोत्सव आयोजना भएपछि चहलपहल बढेको छ,’ महोत्सव संयोजन समितिका अध्यक्ष दिलिप गुरुङले भने, ‘यहाँ खुलेका अधिकांश स्टलमा राखिएका सवै सामग्री सकिएका छन् ।’


ढाप पोखरी क्षेत्रमा रहेका स्टल र आसपासका तालगाउँ, घुम्तीडाँडा, गोलाईलगायत स्थानमा पनि उस्तै अवस्था छ । महोत्सवमा ठूलो संख्यामा आन्तरिक पर्यटक भेलिएकाले कारोबार बढेको हो ।

प्रकाशित : चैत्र १३, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?