नगरमै छैन सार्वजनिक शौचालय

विर्तामोड — झापालाई खुला दिसामुक्त वनाउने अभियान चलिरहेको छ । तर मुख्य नगरमध्येको विर्तामोडमा एउटै सार्वजनिक शौचालय छैन । विर्तामोड इलाम, पाँचथर र ताप्लेजुङको पनि व्यापारिक केन्द्र हो ।

नगरमै छैन सार्वजनिक शौचालय

भारतको सिलिगुडीबाट आएका मनिष शर्मालाई विर्तामोड ओर्लने वित्तिकै पिसावले च्यायो । तर, कतै शौचालय नभेटेपछि बल्लतल्ल एउटा होटल छिरेर उनले समस्या सुल्झाए । विर्तामोडका पुराना बासिन्दा गोपालकुमार बस्नेतका अनुसार यत्रो नगरमा एउटा पनि सार्वजनिक शौचालय नहुनु लाज लाग्दो कुरा हो ।

सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । उनका अनुसार विर्तामोडमा सार्वजनिक शौचालय बनाउन धेरै पहल भए । उनले भने, ‘शौचालय बनाउने सार्वजनिक जमिन कतै छैन ।’

नगरपालिकाले अन्दुवा पुल नजिकै एउटा घुम्ती शौचालय राखेको छ । तर, यहाँ सर्वसाधारण शौच गर्न खासै जादैनन् । असुरक्षित र अव्यवस्थित घुम्ती शौचालय प्रयोगमा सर्वसाधारणले लाज मान्ने गरेका छन् ।

विर्तामोडसँगै घोषित कन्काई र शनि–अर्जुन नगरपालिकामा व्यवस्थित शौचालय छ । शनिश्चरेमा त अझ दुइटा छ । एउटा शनिश्चरे ७ को नयाँ वसपार्कमा र अर्को शनिश्चरे बजारको केन्द्रमा । शौचालय निर्माण समितिका तत्कालिन अध्यक्ष कुमार भट्टराईका अनुसार शनिश्चरे बजारको शौचालय सम्भवत: झापाकै सफा शौचालयमा गनिन्छ । तत्कालीन गाविसले करिव १२ लाख खर्चिएर शौचालय बनाएको हो ।

अर्को शौचालय बसपार्क समितिले बनाएको हो । दुई शौचालय अब शनि–अर्जुन नगरपालिकाले हेरचार गर्ने छ । कन्काई नगरपालिकाको सुरुंगामा पनि शौचालय छ । भद्रपुर, दमक र मेचीनगरमा पनि सार्वजनिक शौचालय त छन्, व्यवस्थित छैनन् ।

मेचीनगरको काँकडभिट्टा, धुलाबारी र चारआलीमा शौचालय छ । यी शौचालय नगरले वार्षिक रूपमा ठेक्का लगाउँछ । तर, व्यवस्थित भने गर्न नसकेको स्थानीयको भनाइ छ ।

प्रकाशित : चैत्र १४, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?