कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मुुआब्जा विवादमा अल्झियो रेलमार्ग निर्माण

‘पटक–पटक पेसी चढ्दै रआएकाले रेलमार्ग निर्माणको प्रक्रिया अघि बढ्न सकेन’

मोरङ — भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म रेलमार्गको निर्माण मुआब्जा विवादमा अल्झेको छ । सरकारले अधिग्रहण गरेको १ सय १९ बिघा जग्गाको मुआब्जा विवादले रेलमार्गको निर्माण प्रक्रिया अघि बढन सकेको छैन ।

बथनाहादेखि कटहरीसम्म १८ दशमलव १ किलोमिटर रेलमार्ग निर्माणका लागि अधिग्रहण गरिएको १ सय १९ बिघा जग्गाका ५ सय ६५ धनीमध्ये २६ जनाले हालसम्म मुआब्जा लिएका छैनन् । जग्गाधनीमध्ये स्थानीय शेषनारायण माझी र घुरन माझीले मुआब्जा कम भएको भन्दै रेल विभाग र जिल्ला प्रशासन कार्यालय मोरङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दिएको रेल विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले बताए ।

‘सर्वोच्चमा १ वर्षदेखि मुद्दा चलिरहेको छ,’ उनले भने, ‘पटक–पटक पेशी चढदै र झर्दै आएकोले रेलमार्ग निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन ।’ फास्ट ट्रयाकबाट चाँडै सर्वोच्चले फैसला गरिदिए निर्माण कार्य बढाउन सकिन्थ्यो । उनले उक्त मुद्दामा चैत २१ गतेलाई पुन: सर्वोच्चले पेशी तोकेको बताए । भारतीय रेल विभागले जग्गाको विवाद चाँडो टुङ्गो लगाउन ताकेता गर्दै आएको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।

‘जिल्ला प्रशासनमा मुआब्जा नलिने व्यक्तिहरू, भारतीय रेल्वेका टिम बसेर छलफल गर्‍यौं,’ उनले भने, ‘अदालतको फैसला आए अनुसार गर्ने गरी रेलमार्ग निर्माणमा अबरोध नगर्न आग्रह गरेका छौं र त्यसमा पहल गर्न प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई आग्रह गरेका छौं ।’ भारतीय पक्षले रेलमार्ग निर्माणको काम समय पूरा गर्न खोजेको तर मुआब्जा विवाद अल्झिरहेको महानिर्देशक आचार्यले बताए । जिल्ला प्रशासन कार्यालय मोरङका प्रजिअ आचार्यले हालसम्ममा अधिग्रहण गरिएको जग्गाको प्रति कठ्ठा न्यूनतम ९० हजारदेखि २५ लाखसम्म मूल्याङ्कन गरेर ५३ करोड मुआब्जा वितरण गरिसकिएको बताए ।

‘मुद्दा हाल्ने जग्गाधनीहरूलाई मुद्दा प्रक्रियासँगै रेलमार्ग निर्माणको काम पनि अगाडि बढ्न दिन पहल गरिरहेको छु,’ प्रजिअ आचार्यले भने, ‘वहाँहरूले सकारात्मक रूपमा लिनु भएको छ, हेरौं अब के हुन्छ ।’ भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा रेलमार्ग निर्माण गरिरहेको छ । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधारलगायतको काम गर्ने द्विपक्षीय सम्झौता गरेको छ ।

रेलमार्ग निर्माणका ठेक्का इरकोण इन्टरनेशनल लिमिटेड फार्बिसगञ्ज, भारतले पाएको छ ।

विराटनगर नाकादेखि ९ किलोमिटर दक्षिणस्थित भारतको बथनाहादेखि मोरङको कटहरीसम्म १८ दशमलव १ किलोमिटरमध्ये नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव १ किलोमिटर रेल मार्ग पर्छ । अधिग्रहण गरिएको १ सय १९ बिघा जग्गामध्ये विराटनगर १८ स्थित बुधनगरमा रेल्वे स्टेसन र अन्य पूर्वाधार बनाउन ४२ बिघा जग्गा छुट्याइएको छ ।

निर्माण कम्पनीका मुन्सी सन्तोष झाले बुधनगरमा निर्माण भइरहेको रेल्वे स्टेशनमा यात्रु प्रतिक्षालय, कार्यालय भवन निर्माणको काम पूरा भएको बताए । बुधनगरमा १ हजार ५ सय मिटर लामो र १ सय ५० मिटर चौडा रेल्वे स्टेसन निर्माण भइरहेको छ । ‘बथनाहादेखि कटहरीस्थित विराटनगर–रंगेली सडकसम्म माटो भर्ने, ग्रोभेल हाल्ने र कल्भर्ट बनाउने काम पूरा भएको छ,’ उनले भने ।

प्रकाशित : चैत्र १४, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?