३ अर्ब ८० करोड लागतमा व्यापारिक मल

देवनारायण साह

मोरङ — सपिङ मलतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएकाले औद्योगिक नगरीमा ठूला व्यापारिक मल खुल्ने क्रम सुरु भएको छ । नयाँ वर्ष वैशाखबाट ३ अर्ब ८० करोडको लागतमा चारवटा ठूला व्यापारिक मल एकसाथ सञ्चालनमा आउने भएका छन् ।

३ अर्ब ८० करोड लागतमा व्यापारिक मल

यहाँ भाटभाटेनी सुपरमार्केट, सेञ्चुरियन मल, सेन्ट्रल मल वैशाखबाट सञ्चालन हुनेछन् । यसअघि एउटामात्रै व्यापारिक मल सञ्चालनमा थियो । व्यापारिक मलले उपभोक्तालाई रोजेजस्तो र खोजेजस्तो दैनिक उपभोग्यका सामान खरिद गर्नुका साथै बालबालिकादेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्ने जनाइएको छ ।

व्यापारिक मलहरूले यहाँका उपभोक्तालाई किनमेलका लागि सीमावर्ती भारतीय बजार जोगबनी जानबाट पनि रोक्न प्रभावकारी हुने यहाँका व्यापारीहरू बताउँछन् । मुलुककै विभिन्न स्थानमा शाखा विस्तार गरिरहेको व्यापारिक घराना भाटभटेनी सुपरमार्केटले विराटनगरमा वैशाख १ गतेबाट सञ्चालनमा ल्याउँदै छ ।

सुपरमार्केटले अहिले विराटनगर–धरान सडक क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण सकेर सञ्चालनको तयारीमा छ । सुपरमार्केट सञ्चालनका लागि कर्मचारी भर्ना तथा सामान भित्र्याएर मिलाउने क्रम सुरु छ । नयाँ वर्षका अवसरमा बैशाख १ गतेबाट विराटनगरमा भाटभटेनी सुपर मार्केटको सेवा सुरु गर्न लागेको सञ्चालक कल्याण गुरुङले बताए ।

‘विराटनगरको मूल सडकमा ८ कठ्ठा क्षेत्रफलमा ९० करोडको लागतमा सुपरमार्केट निर्माण सकेर सञ्चालनको तयारीमा छौं,’ उनले भने, ‘सात तले मलमा सुपर मार्केट सहित पहिलो तलामा २ वटा सिनेमा हल र अन्यमा डिपार्टमेन्टल स्टोर हुन्छ ।’ अन्य शाखाजस्तै यहाँ पनि ग्राहकका लागि आकर्षक सुविधा प्रदान गर्ने योजना रहेको सञ्चालका गुरुङ भन्छन् । उक्त सुपरमार्केट सञ्चालनमा आएसँगै दुई सय बढीले प्रत्यक्ष रोजगारी पाउने छन् ।

उद्योगी मोती दुगडले सेञ्चुरियन मल पनि नयाँ वर्षको अवसरमा वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी रहेको बताए । ‘चाँडै नै सञ्चालनमा ल्याउने गरी निर्माण काममा तीव्रता दिएका छौं,’ उनले भने, ‘यो मल पूर्वको पहिलो सुविधा सम्पन्न मल हुन्छ ।’ १ अर्ब २० करोड लागतमा विराटनगरको मूल सडकसँग जोडिएर १ विघा ८ कठ्ठा जग्गामा मलको निर्माण भइरहेको दुगडले बताए । ‘अन्डरग्राउन्ड सहितको मलभित्र पाँच तारे होटल, मल्टीप्लेक्स सिनेमा हल, एम्युटमेन्ट पार्क, स्वीमिङ पुल, जिम सेन्टर, सपिङ कम्पलेक्स र तीन हजार मानिस अटाउने हल सहितका अन्य सुविधा रहन्छ,’ उनले भने, ‘विराटनगरमा अहिले प्रशस्त सम्भावना रहेको यति ठूलो लगानी गरेका छौं ।’

उद्योगी प्रकाश मुन्दडालगायतका औद्योगिक घरानाको लगानीमा विराटनगरको मूल बजार क्षेत्रमा सेन्ट्रल मल तीव्र गतिमा नर्माण भइरहेको छ । उनीहरूले ७० करोडको लागतमा मल सञ्चालनमा ल्याउन लागेको हो । ‘१८ कठ्ठा १० धुर जग्गामा निर्माण भइरहेको उक्त मलमा २ वटा सिनेमा हल, डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट, चिल्ड्रेन पार्कलगायतका सुविधा रहन्छ,’ उनले भने, ‘मलमा एक सय १० वटा छुट्टाछुट्टै पसलसमेत रहन्छ ।’ आउँदो दसैंदेखि सञ्चालनमा ल्याउने उनीहरूको तयारी छ ।

नेपाल बजार भने पहिलेदेखि नै विराटनगरमा सञ्चालनमा रहेको छ । अहिले यसले पनि आफ्नो व्यावसायिक मल निर्माण गरिरहेको छ । विराटनगर–धरान रोडमै बन्दै गरेको भवनमा सुपरमार्केट, रेस्टुरेन्ट, स्पालगायत खेलकुदका लागि पनि छुट्टै व्यवस्था रहन्छ ।

नेपाल बजार इन्टरनेशनल प्रालिका अध्यक्ष प्रमोद जिन्दलले चाँडै नै आफ्नै भवनमा सर्ने योजनासहित काम भइरहेको बताए । निर्माणाधीन पाँच तले भवनमा डिपार्टमेन्टल स्टोर बनाउने योजना छ,’ उनले भने, ‘पाँचौं तलामाथि रेस्टुरेन्ट पनि निर्माण गरिने योजना छ ।’ उनले मलको लागत १ अर्बसम्म पुग्ने बताए ।

प्रकाशित : चैत्र १४, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?