१० देशका कलाकर्मी एक ठाउँ

धनकुटा — कोही सडकमा मागिरहेका त कोही गीत संगीत अनि अनौठा हाउभाउमा जमिरहेका थिए । बटुवाहरू उनीहरूको क्रियाकलाप अनौठो मानेर नियालिरहेका देखिन्थे । धनकुटा बजारका विभिन्न स्थानमा तीनद दिनदेखि यो दृश्य देखिँदै आएको छ ।

विभिन्न मुलुकका कलाकारले पर्फमेन्स आर्ट (अभिव्यक्ति कला) प्रस्तुत गर्दै आएका छन् । नेपाल लगायत भारत, बंगलादेश, ताइवान, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फ्रान्स, अमेरिका र इटलीका १३ जना कलाकार सहभागी छन् ।


‘द लुनापोइट्स एक्प्रेस, एक्सप्रेसन एक्पिडेसन २०१८’ नाम दिइएको उक्त कार्यक्रम देउराली युवा क्लब तथा जिल्ला युवा समितिको आयोजना र धनकुटा नगरपालिकाको सहयोगमा आयोजना गरिएको युवा क्लबका सचिव विपिन राजभण्डारीले जानकारी दिए ।


चित्रकार, वाद्यवादन, संगीत लगायत क्षेत्रमा सम्लग्न कलाकारले विभिन्न हाउभाउ प्रस्तुतिसँगै आफ्ना कला अभिव्यक्ति गर्ने नयाँ शैलीको रूपमा पर्फमेन्स आर्टको विशेषता रहेको निर्देशक अनिल सुब्बाले बताए ।


‘यो एकदमै नयाँ शैलीका रूपमा नेपालमा भित्रिएको कला हो’, सुब्बाले भने, ‘कलाकारले आफ्नो प्रस्तुति दिँदा अभिनय तथा विभिन्न हाउभाउको शैलीसँग ऊ आफ्नो कलामा डुबेको अवस्था रहन्छ ।’ उक्त कला पछिल्लो समय विभिन्न मुलुकमा लोकप्रिय बन्दै गएको उनले बताए । काठमाडौं बाहिर पनि यसलाई चिनाउँदै लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।


अमूर्त कलाको भावसँगै शारीरिक रूपमा गरिने प्रस्तुतिका रूपमा यो कला रहेको संलग्न कलाकारले बताएका छन् । शरीर नै अभिव्यक्ति गरिने कलाका रूपमा रहेकाले पर्फमेन्स आर्टको नामकरण गरिएको कलाकार रितेश महर्जनले बताए ।

पर्फमेन्स आर्ट विभिन्न मुलुकका कलाकारसँग जोडिने पुलका रूपमा रहेको भारतबाट सहभागी कलाकार कौर चिमोकको भनाइ छ । कतिपय मुलुकमा नयाँ प्रयोगका रूपमा रहेको पर्फमेन्स आर्ट नेपालमा पनि पछिल्लो समय आकर्षित बन्दै गएको ताइवानबाट सहभागी एच डब्लू चेङले बताइन् ।

प्रकाशित : चैत्र १४, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?