कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

धमाधम बन्दै जलविद्युत् आयोजना

केही महिनामै ४५ मेगावाट बिजुली
माधव घिमिरे

विराटनगर — पर्याप्त जलस्रोत भएको प्रदेश १ का जिल्लाबाट केही महिनाभित्र ४५ मेगावाटभन्दा बढी विद्युत् थपिने भएको छ । विभिन्न नदी–खोलाको पानी उपयोग गरी केही आयोजना सम्पन्न भइसकेका छन् । केही धमाधम निर्माण भइरहेका छन् ।

धमाधम बन्दै जलविद्युत् आयोजना

पाँचथर, इलामलगायत जिल्लामा निर्माणाधीन केही जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेकाले त्यति परिमाणको बिजुली थपिने भएको हो । यसबाहेक ५० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने लक्षसाथ आयोजनाहरू निर्माणाधीन छन् । इलाममा करिब ६३ मेगावाट बिजुली उत्पादन भइसकेको छ । निर्माणाधीन आयोजनाहरूबाट करिब २६ मेगावाट बिजुली थपिने छ । सानिमा हाइड्रोबाट २२ मेगावाट, सानिमा क्यासकेटबाट ७, अप्परमाईबाट १२, अप्परमाई क्यासकेटबाट ६ दशमलव १ र साना माइखोला आयोजनाबाट ४ दशमलव ५ मेगावाट बिजुली उत्पादन गरिएको छ ।


यसैगरी जोगमाइबाट ७ दशमलव ५, पुवाखोला १ बाट ४ दशमलव ४, जोशी हाइड्रोबाट तीन मेगावाट र माइखोला (हिमाल दोलखा) आयोजनाबाट ८ मेगावाट बिजुली उत्पादन भइ सञ्चालनमा छ । इलामको सुम्बेकमा ७ दशमलव ८ मेगावाट क्षमताको सुपरमाई र बरबोटेमा ९ मेगावाटको सगरमाथा हाइड्रो जलविद्युत् निर्माणाधीन अवस्थामा छन् ।


चार अर्ब लागतमा पाँचथरमा १५ मेगावाटको हेवाखोला ए जलविद्युत् आयोजना पूरा भइसकेको छ । माउन्टेन हाइट्रोपावर कम्पनीले चार अर्ब ५० करोड लागतमा तल्लो हेवाखोला जलविद्युत्् आयोजना निर्माण गरिरहेको छ । २१ मेगावाट क्षमताको यो आयोजना करिब केही महिनामै पूरा हुने जनाइएको छ ।


यसैगरी २५ मेगावाटको काबेली बी १ आयोजना पनि अन्तिम चरणमा पुगेको छ । चार अर्ब ५० करोड रुपैयाँ लागतमा बन्दै गरेको यो आयोजना अरुण काबेली इनर्जी लिमिटेडले सञ्चालन गरिरहेको छ । २ अर्ब ६० करोड लागतको इवाखोला जलविद्युत्् आगामी चार महिनाभित्र बन्ने भएको छ । यसले १० मेगावाट विद्युत्् उत्पादन गर्नेछ । यसैगरी विद्युत् प्राधिकरणको स्वामित्वमा बुटवल पावर कम्पनी/काबेली इनर्जी लिमिटेडले ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजना बनाइरहेको छ । यो आउँदो डेढ वर्षभित्र सकिने र उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ । ताप्लेजुङमा ५ मेगावाट क्षमताको फावाखोला जलविद्युत्् आयोजना सम्पन्न भएर थापाटारस्थित सबस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । फिमेखोला जलविद्युत् आयोजकले एक मेगावाट उत्पादन सुरु गरिसकेको छ ।
प्रदेश १ मा पछिल्लो समय बिजुलीको माग थप बढेको छ । मागअनुसार विद्युत्् प्राधिकरणले व्यवस्थापन गर्न सकेको छैन । प्राधिकरणको विराटनगरस्थित क्षेत्रीय कार्यालयका अनुसार पूर्वको माग २ सय २५ मेगावाट पुगेको छ । अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बिजुलीको माग बढेको हो । यो क्षेत्रमा घरेलु उपभोक्ताबाहेक औद्योगिक क्षेत्रमा पनि उल्लेख्य बिजुली खपत हुने गरेको छ । अघिल्लो वर्ष २ सय मेगावाट बिजुलीको माग थियो । उद्योग वाणिज्य महासंघको प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउत सबै दृष्टिले सम्भावनायुक्त रहेको प्रदेश १ का नदी–खोला उपयोग गरेर प्रशस्त ऊर्जा उत्पादन गर्न सकिने अवस्था रहेको बताउँछन् ।


‘औद्योगिक विकास र समाजका अन्य पक्षको विकासका लागि ऊर्जा अत्यावश्यक भइसकेको छ,’ उनले भने, ‘यो सन्दर्भमा स्वदेशमा उत्पादित ऊर्जा खपत गर्न सके इन्धन खरिदमा बाहिरिने गरेको ठूलो धनराशि बच्न सक्छ ।’ स्थानीयस्तरमा खपत हुने बिजुलीबाट बाँकी रहेको बिक्री गरी आम्दानी गर्न सकिने अवस्था रहेकाले यसमा ध्यान दिनुपर्ने राउतले बताए ।

प्रकाशित : चैत्र १४, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?