कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

घरमूली नै थलिएपछि...

अर्जुन राजवंशी

शिवगञ्ज (झापा) — शिवसताक्षी नगरपालिका ५ की सीतादेवी घिमिरे छोराछोरीको भविष्यबारेको चिन्ताले दिनदिनै कमजोर बन्दै गएकी छन् ।

घरमूली नै थलिएपछि...

हुर्कदै गरेका चार छोराछोरीको उच्च शिक्षा र पालनपोषणको जिम्मेवारी उनलाई निकै बोझिलो बनेको छ ।

घरको आर्थिक अवस्था शून्य छ । आम्दानीका कुनै बाटा छैनन् । परिवार चलाउने श्रीमान् १२ वर्षदेखि थलिएका छन् । बाबुको अनुपस्थितिमा जिम्मेवारी सम्हाल्न सक्ने जेठा छोरा पनि एक दशकदेखि बिरामी छन् । सीता आफैं पनि पाठेघरको समस्या र पित्तथैलीको अप्रेसनले शिथिल बनेकी छन् ।

तरपनि उनलाई बिसन्चो भन्ने छुट छैन । छोराछोरीको पेट पाल्न उनी छरछिमेकमा मजदुरी गर्न जानुको विकल्प छैन ।

घरमुली ४८ वर्षीय तेजप्रसाद ०६२ सालदेखि बिरामी छन् । बिरामी पर्नुअघि हल्दिबारी गाउँपालिकाको जलथल निवासी तेजप्रसाद स्थानीय चिल्ड्रेन गार्डेन बोर्डिङ स्कुलका संस्थापक निर्देशक हुन् । उनले ०५० सालमा उक्त स्कुल स्थापना गरेका थिए । स्कुल राम्रै चलेको थियो ।

अहिले पनि उक्त स्कुल जलथलको नामी स्कुलका रूपमा चिनिन्छ । तर, स्कुल स्थापना गर्ने तेजप्रसाद १२ वर्षदेखि ओछ्यानका ओछ्यान छन् । ग्रामीण भेकमा स्थापना गरिएको स्कुललाई उत्कृष्ट बनाउन तेजप्रसादले आफूसँग भएका सबै बलबुता लगाएका थिए । सोही क्रममा उनलाई केही ऋण लाग्यो । स्कुल बचाउन जग्गा बेचेर ऋण तिर्न थालेका तेजप्रसाद मानसिक रूपमा विक्षिप्त बने ।

मानसिक तनाबले बिरामी परेका उनी फेरि पुरानै अवस्थामा फर्किने कुनै छाँटकाँट देखिदैन । बिरामी परेको दुई वर्षसम्म श्रीमती, छोराछोरीसँग बोले पनि पछिल्लो १० वर्षदेखि भने उनले कसैसँग एक शब्द बोलेका छैनन् । ‘सकेजति सबै ठाउँमा लगेर उपचार गरायौं । उहाँकै उपचारमा धनसम्पत्ति सबै सकियो,’ गहभरि आँसु पार्दै सीताले भनिन्, ‘तर पनि उहाँलाई निको पार्न सकेनौं । उहाँको विरामले हामी सबै थलिएका छौं ।’ सीताले श्रीमान् बिरामी भएकै अवस्थामा २५ वर्षका जेठा छोरा सुरेश पनि विरामी पर्दा पीडा सहन झन गाह्रो भएको सुनाइन् । उनले भनिन्, ‘श्रीमान् र छोराको उपचारमा चार बिघा जमिन सकियो । पुरानो भिट्टामा खराबी छ कि भन्दै आफन्त, छरछिमेकलाई छाडेर बसाइँ सर्‍यौं । तर, बाउछोराको विराम बीसको उन्नाइस भएन ।’

सुरेश ९ कक्षा पढदै गर्दा बिरामी परेका थिए । त्यसबेलादेखि उनको पनि मानसिक सन्तुलन गुमेको छ । ठूली छोरी करुणा बीबीएस तेस्रो वर्षमा, माइली छोरी गंगा कक्षा १२, माइला छोरा चर्चित ६ र कान्छा छोरा सञ्जिव कक्षा ३ मा पढदै छन् । सीताको कमाइले नपुग्ने भएपछि भान्जी सुशीला पौडेलले सहयोग गर्दै छिन् ।

सामुदायिक विद्यालयमा अस्थायी शिक्षिका रहेकी सुशीलाले चारै जना भाइबहिनीको पढाइ खर्च व्यहोर्दै छिन् । ‘धन्न यी नानीले सहयोग गर्दै छिन र यिनीहरू स्कुल जान पाएका छन्,’ तेजप्रसादका भाइ बुद्धि घिमिरेले भने, ‘हामीले सके जति दाल, चामलमा सहयोग गरिरहेका छौं । हामी आफन्तले नै सहयोग नगरे यिनीहरूको बाँच्ने उपाय छैन ।’

तेजप्रसादका भान्जा विष्णु पौडेलले मामा र भाइको उपचारमा परिवारको सबै सकिएकाले अबको थप सहयोग स्थानीय सरकारले गर्नुपर्ने माग गरे । उनले दुवै बिरामीलाई अपांगता नभए अन्य कुनै समूहमा राखेर परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिए । ‘स्थानीय सरकारले सहयोग गर्नुको विकल्प छैन ।

बेलाबेलामा औषधि खुवाउनुपर्छ,’ उनले भने, ‘छाक टार्न धौधौ पर्ने माइजुले बाबुछोराका लागि औषधि कसरी जुटाउने ।’ तेजप्रसादले कहिलेकाहीं १५ दिनसम्म खाना खान नमान्ने गरेको पौडेलले बताए । त्यस्तो बेला आफंैले जानेर स्लाइनमार्फत खाना दिनुपर्ने गरेको उनले बताए ।

प्रकाशित : चैत्र १७, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?