पोलिटेक्निकलाई नमुना बनाउने प्रयास

इलाम — इलाम नगरपालिका १ साखेजुङमा रहेको रत्न कुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटलाई नमुना प्राविधिक शिक्षालयका रूपमा विकास गर्न सरोकारवालाले पहल थालेका छन् ।

पोलिटेक्निकलाई नमुना बनाउने प्रयास

शिक्षालयमा आवश्यक विषय थप गर्दै प्रदेश नं. १ को नमुना बहुप्राविधिक शिक्षालयमा स्तरोन्नति गर्ने कार्ययोजना बमोजिम सरोकारवालासँग शिक्षालयले छफफल चलाएको हो ।

पशु विज्ञानमा यसै वर्षदेखि पठनपाठन सुरु भएको यस शिक्षालयमा आगामी वर्षदेखि कृषि र वन विज्ञानको पठनपाठन गराउने योजना छ । आवश्यक पूर्वाधार निर्माण सकिएर सञ्चालनमा रहेको यस शिक्षालयमा देशभरका विद्यार्थीको आकर्षण देखिएको छ । इलाम नगरपालिका र रत्न कुमार वान्तवा पोलिटेक्निकको संयुक्त पहलमा जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासनलगायत सरोकारवालासँग अन्तक्र्रिया गर्दै शिक्षालयको गुणस्तर र सुसञ्चालनमा चासो बढाइएको हो ।

कार्यालय प्रमुख होमनाथ अधिकारीले शिक्षालयका सम्भावना र चुनौतीका विषयमा जानकारी गराएका थिए । नगर प्रमुख महेश बस्नेतले पूर्वी पहाडसँग प्राविधिक शिक्षा लिन चाहनेका लागि यो शिक्षालय उत्तम गन्तव्य भएको भन्दै सवै पक्षले यसको सफल सञ्चालन र व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तलिम परिषदको आंगिक शिक्षालयका रूपमा यस इन्स्टिच्युटमा एसईई परीक्षापछि विद्यार्थीले भर्ना पाउछन् । तर यसअघि नै एसएलसी उत्तीर्ण भई विभिन्न संकायमा प्लस टु सकेका विद्यार्थी पनि पशु विज्ञान अध्ययनका लागि आएका छन् । यस इन्स्टिच्युटमा तीन वर्षमा कोर्ष पूरा गरिसकेपछि बीएसीएजी पढ्न र अध्ययन अनुसारको अबसरमा विद्यार्थीले प्रतिष्पर्धा गर्न सक्नेछन् ।

इलाम सदरमुकामदेखि २० किलोमिटर उत्तरमा सञ्चालित इन्स्टिच्युट रहेको क्षेत्र निकै चिसो भएकाले विद्यार्थीको आकर्षण कम हुने ठानिए पनि पहिलो वर्ष क्षमताअनुसार विद्यार्थी आएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित स्थानीयवासीले प्रदान गरेको जमिनमा इन्स्टिच्युट सञ्चालन भएको हो । इन्स्टिच्युटका लागि सवै पूर्वाधार तयार नभएकाले भने समस्या छ । हाल एकेडिमक भवनको लाइब्रेरी कक्षमा विद्यार्थीलाई पढाइँदै आएको छ । त्यस्तै प्रयोगात्मक कक्षा पनि तयारी नभएकाले अप्ठेरो छ । एउटा प्रशाशनिक भवन, प्रमुख निवास, काउसेट र पशु हस्पिटलको निर्माण कार्य पूरा भएको छ । शैक्षिक प्रयोजनका पाँचवटा भवन निर्माणाधीन छन् । सवै संरचना निर्माण अन्तिम चरणमा रहेकाले आगामी कक्षा सञ्चालन गर्न समस्या नहुने शिक्षालयले जनाएको छ ।

प्रकाशित : चैत्र १७, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?