२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

‘सरकार सहमतिमा अघि बढ्नुपर्छ’

मोरङ — मोरङ ३ ‘क’ बाट निर्वाचित सूयर्माराज राई नेपाली विषयमा स्नातकोत्तर हुन् । अढाई वर्षसम्म शिक्षण पेसामा संलग्न भएका ३९ वर्षीया राईले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।

‘सरकार सहमतिमा अघि बढ्नुपर्छ’

कांग्रेस मोरङको जिल्ला सदस्य रहेका राई प्रदेश सभाका शिक्षित युवा सदस्य हुन् । अन्योल र अलमलका बीचमा आशासाथ जनताका चाहनालाई प्रदेशसभा हलबाट सम्बोधन गर्ने योजनासाथ अघि बढेका राईसँग संवाददाता लीलावल्लभ घिमिरेले गरेको कुराकानी :

प्रदेशसभाले कस्तो काम गर्ने रहेछ ?
प्रदेशसभा सदस्यको खास काम नै के हो भन्ने अन्योल छ । शक्ति बाँडफाँडका आधारलाई हेर्दा हाम्रो भूमिका बीचको जस्तो देखिन्छ । सबै अधिकार स्थानीय तहलाई दिएको छ । बाँकी केन्द्रमा राखिएको छ । मुलुक संघीयतामा गएपछि प्रदेशलाई बलियो बनाउनुपर्छ भन्ने मूल मर्म हो । त्यसलाई यदाकदा अल्मल्याउन खोजिएको हो कि जस्तो भान हुन थालेको छ ।

अहिलेसम्मका बैठकको उपलब्धि के छ ?
प्रदेश सभाको पहिलो प्रयास हो । यसलाई स्थापित गर्न भौतिक पूर्वाधारदेखि कानुन निर्माणसम्मको काम हामीले गरिरहेका छांै । सदनले कानुन पारित गरिरहेको छ । सभामुख, उपसभामुखको चयनसँगै एउटा लयमा हिँड्ने प्रयास जारी छ ।

प्रदेश सरकार बनेको डेढ महिना वितेको छ । सरकारका काम कारबाही सन्तोषजनक छन् ?
सरकारको आलोचना नै गरी हाल्ने समय भएको छैन । तर सरकार जुन गतिले अघि बढेको छ । यसले जनआकांक्षालाई समयमा पूरा गर्न सक्दैन भन्ने लाग्छ । केन्द्रीय सरकारसँगको समन्वय, प्रदेशमा अन्य दलहरू सँगको सहकार्यका लागि हात अघि बढाएको अवस्था छैन । केन्द्रीय सरकारले प्रदेश सरकारलाई छायामा राख्न खोजेको हो कि भन्ने शंका हामीलाई छ । केन्द्रबाट आफ्ना अधिकार लिन प्रदेश सरकार चुक्नु हुँदैन । अधिकारबिनाका सरकारले जनताका पक्षमा काम गर्न सक्दैन । स्रोतहरूको खोजी भौतिक पूर्वाधारका पाटादेखि धेरै क्षेत्रमा सरकार अलमलमा नै परेको छ । यो पहिलो र नौलो अभ्यास भएकाले सरकारले सबैसँग सहमति र सहकार्य गरेर मात्र अघि बढ्न सक्छ । हामी प्रतीक्षामा छौं । सरकारले कहिले छाती अली ठूलो बनाउला भनेर ।

प्रदेशसभा बैठक नियमित बसिरहेको अवस्था छैन । सरकारले सदनलाई विजनेस दिन नसकेको हो ?
प्रदेशको संसदीय अभ्यासलाई बढी प्रभावकारी बनाउनुपर्ने हो । सरकारले सदनलाई विजनेस दिन नसकेकै हो । यसमा पनि किन सरकार अलमलिएको हो थाहा भएको छैन । बैठक लामोलामो विश्राम दिने र थोरै समय मात्र चल्ने भइरहेको छ । जनताका चाहनालाई यही सदनले सम्बोधन गर्ने हो । सबै प्रदेशवासीहरूको ध्यान हाम्रो सदनतर्फ छ । यो कुरालाई सरकारले बुझ्न सक्नुपर्छ ।

प्रदेश विकासका लागि मुख्य रूपमा के गनुपर्ला ?
हामीले ठूलाठूला आयोजना र ठूला अन्तर्राष्ट्रिय कम्पनी, ठूला उद्योगले मात्र प्रदेश समुन्नत हुने हैन । यहाँ भएका स्रोतसाधनको उपयोग गर्नेतर्फ हाम्रो ध्यान जानुपर्छ । पर्यटन यो प्रदेशको प्रमुख आय स्रोत हो । लघु उद्योग र परम्परागत तथा जातीय व्यवसायको जगेर्ना आवश्यक छ । यो क्षेत्रमा पाइने आदिवासीका खानाका परिकारले धेरै खानका पारखीहरूलाई तान्न सक्छौं । यो क्षेत्रमा रहेका सिमसार क्षेत्रले धेरै पर्यटक तान्न सक्छन् । सानासाना पक्षमा ध्यान जान नसक्नु हाम्रो कमजोरी छ । यी सबैलाई प्रदेशको मूलधारमा ल्याएर जोड्न सक्दा एक नम्बर टाढा छैन ।

सदनमा प्रतिपक्ष दलको भूमिका कस्तो रहन्छ ?
हामी तीन ‘स’ को नीतिमा अघि बढ्छौं । सदनको अधिकतम उपयोग गर्ने । अर्को सञ्चारलाई प्रयोग गर्ने । यसको मतलब सदनमा उठेका कुरालाई जनतासम्म सञ्चारको माध्यमबाट पुर्‍याउने, अर्को स भनेको सम्पर्क । यहाँ सरोकावलाहरूसँग समन्वय सहकार्य गर्दै जनतासमक्ष पुर्‍याउने पक्षमा छांै ।

हामी सकारात्मक सहयोग सत्ता पक्षलाई पनि गर्छांै । तर हामीसँग कस्तो सहयोग लिने, नलिने भन्ने कुरा सत्ता पक्षको हो । उनीहरूको व्यवहारले हाम्रो भूमिकालाई प्रभाव भने अवश्य पार्छ । समृद्धि र विकास सहमति सहकार्यबिना सम्भव छैन भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

प्रकाशित : चैत्र १७, २०७४ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?